खेल


निर्माणको अन्तिम चरणमा दशरथ रंगशाला

निर्माणको अन्तिम चरणमा दशरथ रंगशाला

यज्ञराज जोशी
साउन १९, २०७६ आइतबार १०:४९,

नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो, सहिद स्मारक ए डिभिजन लिग। २०७५ पुस दोस्रो साता मनाङ मर्स्याङ्दी क्लबले कीर्तिमानी आठौंपल्ट ए डिभिजन लिगको उपाधि उचाल्यो।

१४ वटा ए डिभिजनका क्लबलाई उछिन्दै घरेलु फुटबलमा सबैभन्दा सफल र बलियो टोली बनेको क्षणमा मनाङका खेलाडीहरुमा जुन उल्लास देखिनुपर्ने थियो खेलाडीहरुमा त्यस्तो रौनक देखिएन।

कारण बताउँदै राष्ट्रिय टोली तथा मनाङका समेत कप्तान रहेका विराज महर्जनले भने, ‘च्याम्पियन भए पनि खासै रौनक आएन। दशरथ रंगशालामा लिग खेल्दाको मज्जा नै छुट्टै हुन्थ्यो। हजारौं दर्शकका अगाडि खेल्दा बेग्लै आनन्द महसुस हुन्छ। तर केही सय दर्शकहरु सामु च्याम्पियन हुदाँ खुशी साट्नै पाइएन्।’

भुकम्पले क्षति पुर्याएपछि निर्माणको चरणमा रहेको रंगशालाभुकम्पले क्षति पुर्याएपछि निर्माणको चरणमा रहेको रंगशाला। तस्विर: प्रविन कोइराला

चार वर्षअघि भूकम्पले क्षति पुगेको दशरथ रंगशाला पुर्नः निर्माणमा देखिएको ढिला सुस्तीले गत वर्ष ५ वर्षपछि सुरु भएको ए डिभिजन लिग सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा जसोतसो सम्पन्न गरिएको थियो।

जसले न दर्शकलाई तान्न सक्यो न खेलाडीहरुलाई नै उत्साही बनायो। फाइनलमा केही सय दर्शकको मात्रै उपस्थितिबीच देशकै सर्वोच्च प्रतियोगिताको उपाधि उचाल्दा समेत विराजले खिन्न महसुस गरे।

‘रंगशालामा खेल्दा जुन माहौल हुन्थ्यो। यसपाली त्यो वातावरणको कमी रह्यो। एन्फा र सरकारका अन्य सरोकारवाला निकायलाई छिटोभन्दा छिटो रंगशाला निर्माणमा ध्यान दिन अनुरोध गर्छु’, दशरथ रंगशाला स्मरण गर्दै उनी भन्छन्।

रंगशालामा खेल हुनुपर्ने हो, खेलाडी प्रशिक्षण गरिरहेको हुनुपर्ने हो। तर चार वर्षयता, दशरथ रंगशालामा न खेल भएको न खेलाडी देखिएका छन्। २०७२ बैशाखमा भुकम्पले क्षति पुर्याएपछि दशरथ रंगशालामा कुनैपनि खेलकुदका गतिविधि भएका छैनन्।

dasrath vip standभुकम्पको असरपछि भत्काइने चरणमा भीआइपी स्टान्ड। तस्विर: प्रविन कोइराला

जसको प्रत्यक्ष असर खेलाडीको अभ्यास र नतिजामा परेको छ। ए डिभिजन लिग, दक्षिण एसियाली फुटबल प्रतियोगिता(साफ), विश्वकप छनौट, एसियन गेम्स लगायत ठूला–साना सबै प्रतियोगिताहरुका लागि नेपाली खेलाडीहरुले मुलुकको एकमात्रै रंगशालामा न अभ्यास पाए न प्रशिक्षणका नै।

रंगशालाको पुर्ननिर्माणको ढिलाईले अघिल्लोवर्ष भएका एसिया कप छनोटका होम खेलहरु नेपालले एन्फाको आर्टिफिसियल एस्ट्रो टर्फ मैदानमा खेल्नुपर्यो। मनाङले पनि यसवर्ष एसियन कपको होम खेलहरु एस्ट्रो टर्फमा नै खेल्नुपर्यो। जहाँ न दर्शकले राष्ट्रिय टोलीलाई धित मार्ने गरि आफ्नो सपोर्ट गर्न पाए न खेलाडीले नै नेचुरल मैदानमा आफ्नो अनुभव पोख्न पाए।

२०७६ भदौ १९ मा हुने कतार विश्वकपको छनौट अन्तर्गत कुवेतविरुद्धको होम खेलपनि रंगशाला तयार नहुँदा नेपालले कुवेतमै खेल्नुपर्ने भएको छ।

के सम्पन्न भयो, के बाँकी छ?

Dashrath 8दशरथ रंगशालाको पुर्न: निर्माण हाल भने अन्तिम चरणमा पुगेको छ। तस्विर: प्रविन कोइरालामुख्य भेन्यूका रुपमा रहेको रंगशालाकै पुनर्निर्माणमा भएको ढिलाईले नेपालले आयोजनाको जिम्मा लिएको दक्षिण एसियाली खेलकुद(साग)को आयोजना मिति तेस्रोपटक सार्नुपर्यो। यसपटक भने मंसिर १५ गते सुरु हुने सागको उद्घाटन जसरी पनि दशरथ रंगशालामै गर्ने अठोट राखेपले लिएको छ।

भुकम्प गएको पहिलो दुई वर्षमा कुनै कामअघि बढेन्। त्यसपछि साधारण तथा भीआइपी प्याराफिट भत्काउने, पिलरहरुको रेट्रोफिटिङ, साधारण प्याराफिट तर्फ छानो हाल्ने, रंगरोगन गर्ने काम सकिएको छ।

राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्याय बजेट तथा भीआइपी प्याराफिट भत्काउने कार्यले बढी समय लिएको बताउँछन्।

dasrath 4

‘आवश्यक बजेट र भीआइपी प्याराफिट भत्काउन समय लागेकाले पुनर्निर्माणमा ढिलाई भएको हो,’ उनले भने, ‘भिआइपी प्याराफिटको माथिल्लो भाग बाटोमा(त्रिपुरेश्वर–सुन्धारा खण्ड) पथ्र्यो। हामीले त्यसक्षेत्रमा सवारी डाइभर्ट गरिदिन भनेका थियौं तर कतैबाट त्यो भएन। एकजनाले टुकटुक गरेर त्यत्रो प्याराफिट फोड्नुपर्दा रंगशाला पुर्ननिर्माणमा बढी समय लागेको हो। त्यो भत्काउनमात्रै ७–८ महिना समय लाग्यो।’

गतवर्षको फागुन(२०७५)बाट चीनले एथलेटिक्स ट्रर्याक, साउन्ड सिस्टम, फ्लेडलाइट र स्कोर बोर्ड निर्माणको काम थालेको हो। जसमा चीनले एथ्लेटिक्स ट्रयाक, फ्लेड लाइट र स्कोरबोर्ड राख्ने काम सकिसकेको छ।

यो पनि: फेरिएको दशरथ रंगशाला(फोटो/भिडियो)

साउण्डसिस्टम राख्न भने भीआइपी प्याराफिटको छानो राख्नुपर्छ। छानाको मुन्तिर साउण्ड सिस्टम राख्ने हो। चिनियाँहरु नेपाली पक्षले कहिले भीआइपी प्याराफिटको छानो राख्छ र साउण्ड सिस्टम फिट गरौला भनी कुरेर बसेका छन्।

‘भीआईपी प्याराफिटको पिल्लरमा फलामको डन्डीलाई फिक्स गर्नुपर्नेछ। त्यो भारतबाट आउँछ। अर्को छानो हाल्नुपर्नेछ। त्यो चीनबाट आउँछ,’ साग आयोजना गर्ने मुख्य जिम्मेवारीसहित एकमहिना अघि सदस्यसचिवमा नियुक्त भएका रमेशकुमार सिलवाल भन्छन्, ‘ती सामानहरु भारत र चीनमा अर्डर भइसकेका छन्। समयमा आउँछन् कि आउँदैनन भनेर यसैहप्ता उपाध्यक्ष (पीताम्बर तिम्सिना) भारत जाँदैहुनुहुन्छ भने म लगत्तै चीनको फ्क्ट्रीमै गएर समयमै सामग्री आउने वातावरण बनाउँदैछु।’

dasrath 7प्याराफिटमा कुर्सी राख्ने टेन्डर भइसकेको छ। तस्विर: प्रविन कोइराला

चिनिया कम्पनीसँगको सम्झौतामा उनीहरुले काम सम्पन्न नगुरुञ्जेल नेपाली पक्षले रंगशालामा कुनै दख्खल नदिने शर्त उल्लेख थियो। त्यसले मैदानमा बाँकी रहेका दुबो काट्दै रोप्ने, चेन्जिङ रुम, मिटिङ रुम, मिडिया रुमका कामहरु फिफाको मापदण्ड अनुरुप बनाउँने काम प्रभावित बनेको थियो। तर, चिनिया पक्षसँगको कुराकानीपछि उनीहरुले ती कामहरु गर्न दिने सहमति जनाएकाले फिनिसिङका कामहरु पनि तत्काल अघि बढ्ने सदस्यसचिव सिलवालले बताए।

रंगशालाका सम्पूर्ण काम कार्तिक १५ भित्र सकिने सदस्य सचिवको दाबी छ। त्यसबाहेक प्याराफिटमा राख्ने कुर्सीहरुको टेण्डर प्रक्रिया सकिएको र अन्तिम सम्झौताको चरणमा छ। भीआईपी प्याराफिटको माथिल्लो भाग भत्काइएकाले यसपटक दर्शक क्षमता २२ हजारबाट घटेर १६–१७ हजारमा रहने राखेपले जनाएको छ।

कसरी बन्यो दशरग रंगशाला?
पहिले टुडिँखेलको हिस्सा रहेको क्षेत्रलाई २०१३ सालमा रङ्गशाला बनाइएको हो। त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो। त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी उक्त क्षेत्रमा किरण शम्शेरलाई रङ्गशाला बनाउने कामको जिम्मा दिइएको थियो। 

dasrath stadium

त्यतिबेला रङ्गशालाको पूर्वपट्टि सेनाको ब्यारेक थियो। उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो। पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो। रङ्गशालाको पहिलो संरचना त्यहीबेला बनेको हो।

राखेप सदस्यसचिवका रूपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भएको थियो। रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको हो। नेपालले आठौं साग आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो।

भिडियो: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad