खेल


डबल राउण्ड रोबिनबाट खेलाडी उत्साहित, आधा खेल सकिँदा तथ्यांकमा यस्तो देखियो महिला लिग

डबल राउण्ड रोबिनबाट खेलाडी उत्साहित, आधा खेल सकिँदा तथ्यांकमा यस्तो देखियो महिला लिग

लक्ष्मी जि.सी
माघ २३, २०७७ शुक्रबार ११:२७,

पहिलो पटक डबल राउण्ड रोबिनमा आयोजना भएको राष्ट्रिय महिला लिग फुटबलका आधा खेल सम्पन्न भएका छन्। यसअघिका अभ्यास हेर्दा महिला लिग खेलेर नगरपालिकाका टोली घर फर्कने तयारीमा हुन्थे।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग आयोजना त गर्थ्यो तर लिग सुरु गर्नुभन्दा सक्न हतार गरेजस्तै लाग्थ्यो।

लिगलाई फुटबल विकासको मेरुदण्ड मानिन्छ। तर, महिला लिगमा भाग लिने कतिपय खेलाडी आफूमा भएको क्षमतालाई पूर्णरुपमा प्रस्तुत गर्न नपाउँदै लिग सकिन्थ्यो।

यसपटकको महिला लिगमा नयाँ अभ्यास गरिएको छ। हरेक टोलीले एकअर्कासँग दुईपटक खेल खेल्छन्। ३ विभागीय टोली र ४ नगरपालिका गरी ७ टोलीको सहभागितामा डबल लेगमा लिग सञ्चालन भइरहेको छ।

अहिलेसम्म २१ खेल भइसकेका छन्। लिगका आधा खेल सकिँदा विगतमा जस्तै विभागीय टोलीकै दबदबा छ। शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले शतप्रतिशत नतिजा निकाल्दा उदयपुरको चौदण्डीगढी नगरपालिका अंकखाता खोल्न नै संघर्ष गरिरहेको छ।

अंक तालिकाको शीर्षस्थान र पुछारको टोलीको अंकअन्तरलाई हेर्ने हो भने आकाश जमीनकै फरक छ। एपीएफले १८ अंक जोड्दा चौदण्डीगढी अंकविहीन छ।

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच नै मुख्यतः लिगमा प्रतिस्पर्धा हुने गर्दछ। त्यसमा पनि एपीएफले नगरपालिकाका टोलीमाथि मात्र होइन अन्य विभागीय टोलीलाई पनि पछाडि नै छाडेको छ। ६ खेलमा एपीएफले दोस्रो स्थानको आर्मीलाई ५ अंकले पछि पारेको छ।

कोभिड–१९ का कारण यसपटक विभागीय टोलीहरुको पनि प्रशिक्षण लामो समयदेखि स्थगित थियो। उनीहरुले पनि लिग हुने चर्चा सुरु भएपछि बल्ल तयारी सुरु गरेका हुन्। तुलनात्मक रुपमा नगरपालिकाका टोलीको भन्दा विभागीय टोलीको तयारी लामो र नियमित हुने गर्दछ। त्यसैले महिला लिगमा विभागीय टोली बलियो हुनु स्वभाविक छ।

तर, यसपटक पहिलो लेग सकिदा नगरपालिकाका केहि टोली विभागीय टोलीलाई चुनौती दिनसक्ने देखिएका छन्। पहिलो खेलमा केहि अप्रत्यासित नतिजा पनि आएका छन्। त्यस्ता अनुमानविपरित नतिजा भोग्नेमा पुलिस क्लब छ।

बुधबार विराटनगरले पुलिसलाई १–० ले स्तब्ध पार्यो। एपीएफको १८, आर्मीको १३ अंक हुँदा तेस्रो स्थानको विराटनगरको १० अंक छ।

समान ८ अंक भएका टोलीमा पुलिस चौथो र वालिङ पाँचौँ स्थानमा छ। १ खेल जितेको चन्द्रपुरले ३ अंक जोड्दा चौदण्डीगढीले अंक जोड्न सकेको छैन। विराटनगरसँग स्तब्ध हुनुअघि पुलिस वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको थियो। विदेशी खेलाडी समावेश गरेकै कारण वालिङले पुलिसलाई रोक्न सफल भएको हो। नगरपालिकाका टोलीमा नयाँ प्रतिभा पनि देखिएका छन्।

महिला लिगमा पहिलो पटक विदेशी खेलाडी पनि समेटिएका छन्। कुनै समय विदेशी महिला खेलाडीको सहभागिता महिला लिगमा कल्पना बाहिरको कुरा मानिन्थ्यो। यसपटक विदेशी खेलाडीका कारण विगतमाभन्दा लिगमा आकर्षण पनि बढेको देखिन्छ।

तर, एपीएफले चौदण्डीगढीमाथि २२–० को जित निकाल्दा फेरि एकपटक महिला लिग यस्तै हो भन्नेहरुलाई थोरै बल पुगेको छ। बराबरीबाहेक एपीएफले आर्मीलाई २–० ले हराउनु सबैभन्दा कमअन्तरको नतिजा हो।

एपीएफपछि अर्को फराकिलो जित निकाल्नेमा आर्मी छ। यद्यपी यस पटक लिगमा हार जितको अन्तरभन्दा पनि महिला लिगको आकर्षण बढाउनका लागि भएका प्रयासलाई धेरैले सराहनीय पक्ष बताएका छन्। यसपटक महिला लिगलाई महत्वका साथ आयोजना गरिएको बताइएको छ भने लिग सुरु हुनुअघि नै महिना दिनसम्म लिग चल्ने खबरले खेलाडी उत्साहित थिए।

एन्फाका लिग निर्देशक संजीव मिश्र लिगको पहिलो लेगको समाप्तीसम्म आइपुग्दा आफू सन्तुष्ट रहेको बताउँछन्।

‘लिगको पहिलो राउण्ड सकिदा सहभागी टोलीको प्रदर्शन सन्तोषजनक मान्नुपर्छ,’ उनले भने, ‘पुलिसलाई विराटनगरले हराउनु र वालिङले बराबरीमा रोक्नुलाई उल्लेखनीय उपलब्धी मान्नुपर्छ।’
लिगको आधासम्म आइपुग्दा अंक तालिकामा नगरपालिकाका टोलीहरुको अवस्था राम्रो छ।

केहि नगरपालिकाले महिला फुटबलमा राम्रो सम्भावना देखाइरहँदा अर्कोतर्फ पुरानै कमजोरी पनि देखिएका छन्। जसरी अहिले प्रतिस्पर्धा अघि बढेको छ, नगरपालिकाका टोलीले भविष्यमा अझै बढी तयारीका साथ आउनुपर्ने अनुभूति गरेको पाइन्छ।

केही नगरपालिकाको प्रर्दशन भने सोचेजस्तो हुन नसकेको लिग निर्देशक मिश्रको ठम्याइ छ।

‘केही टोलीको प्रदर्शन सन्तोषजनक छ भने केहिले सुधार गर्नुपर्ने थुप्रै पक्ष छन्,’ उनले भने, ‘भविष्यमा बलियो टोली बनाउनका लागि यो सिक्ने अवसर पनि हो।’

Women league ghaite

कमजोर फिटनेस
लिगमा विभागका खेलाडीमा भन्दा नगरपालिकाका खेलाडीमा फिटनेस समस्या देखिएको छ। कमजोर फिटनेसलाई खेलाडी चोटग्रस्त बन्नसक्ने एउटा कारण मानिन्छ।

एपीएफले सोमबार चौदण्डीगढीलाई २२–० ले हराउँदा टोलीकी नियमित गोलकिपरले नभई रक्षक अञ्जना थुलुङ गोलपोष्ट सम्हालेकी थिईन्। टोलीका तीनै जना गोलकिपर घाइते भएपछि अञ्जनालाई खेलाउन टोली बाध्य भएको थियो।

चौदण्डीगढीका मुख्य प्रशिक्षक दीपक थापाले खेलाडीमा चोटको समस्या टोलीका लागि एउटा टाउको दुखाइ बनेको बताए। चोटग्रस्त हुनुको मुख्य कारण फिटनेस नहुनु भन्ने उनको स्वीकारोक्ति थियो।

अब बाँकी ६ खेलका लागि चौदण्डीगढी विदेशी खेलाडी ल्याउने तयारीमा छ। विदेशी खेलाडी ल्याउने योजना सफल भएमा विभागीय टोलीलाई रोक्ने र अन्य नगरका टोलीलाई जित्ने टोलीको लक्ष्य छ।

त्यसअघि आर्मीविरुद्धको खेलमा दोस्रो रोजाइकी गोलकिपर पुजा थापा घाइते हुँदा रक्षक सरु वाइवाले गोलकिपरको भूमिका निर्वाह गरिन्। बल बचाउने क्रममा विपक्षी फरवार्डसँग जुध्न पुग्दा पुजाको घाँटीमा चोट लागेको थियो। पहिलो रोजाइकी युनिसा राई खेलको २०औं मिनेटमा घाइते भएपछि पुजाले पोस्ट सम्हालेकी थिइन्। टोलीले तेस्रो रोजाइको गोलकिपर पठाउनुअघि नै आफ्नो खेलाडी परिवर्तनको कोटा सकिसकेको थियो।

विभाग बाहेकको टोलीमा महिलामा मात्र होइन, पुरुष खेलाडीमा पनि फिटनेसको कमी हुने लिग निर्देशक मिश्रले बताए।

‘विभागीय टोलीमा फुटबलकै लागि खेलाडीको छनोट गरिन्छ, भर्ती गरिन्छ। नियमित अभ्यास हुन्छ, जसले गर्दा उनीहरु फिट रहन्छन्,’ मिश्रले भने, ‘अन्य टोलीका खेलाडीको अवस्था फरक छ। छोटो तयारीले खेलाडीमा फिटनेसमै समस्या हुन्छ।’

एन्फाकी फिजियोथेरापिस्ट नवीना श्रेष्ठ विभागीय खेलाडी र अन्य टोलीको फिटनेसमा निकै भिन्नता रहेको सुनाउँछिन्।

‘फिटनेस भन्नाले दौडने भन्ने मात्रै हुँदैन,’ उनले भनिन्, ‘फुटबलका लागि चाहिने अन्य केही फिटनेस टेस्ट हुन्छ त्यो अहिले लिगमा गरिएको छैन जसको कारण धेरै खेलाडी घाइते भैरहेका छन्।’

अहिले लिगमा धेरैजसो ‘ओभरयुज इन्ज्युरी’ को समस्या देखिएका छन्। लगातार खेल हुँदा खेलाडी दबाबमा परेर यसप्रकारका घाइते हुन्छन्। त्यस्ता खेलाडी लिगमा आएर मात्रै फिट हुन्छु भनेर हुँदैन। खेल सुरु हुनुभन्दा ३ महिना अगाडीदेखि नै खेलाडीले फिटनेसमा ध्यान दिनु जरुरी छ। खाना, पानी कम खानुका कारण पनि घाइते हुने सम्भावना हुन्छ। त्योबाहेक आन्तरिक र बाहिरी कुराको प्रभाव परेर पनि खेलाडी घाइते हुनेगर्छन्।

प्रदेशका टोलीहरुले प्राकृतिक मैदानमा खेलेका थिए। अहिले कृत्रिम मैदानमा खेल भैरहेको छ। यसका कारण पनि खेलाडीलाई समस्या भइरहेको छ।

Woemn league Foreign

विदेशी खेलाडी
लिगमा वालिङले ४ विदेशी खेलाडी उतारेको छ। पहिलो खेलमा टोलीका अन्य खेलाडीसँग समन्वय अभाव दखिए पनि पछिल्ला खेलहरुमा उनीहरुबीच तालमेल मिलेको देखिन्छ। चौदण्डीगढीविरुद्ध वालिङकी विदेशी खेलाडी मेथो इलुडाई रुथले ६ गोल गरिन्।

चन्द्रपुरविरुद्धको खेलमा विदेशी खेलाडीको गोलमा वालिङले जित हासिल ग¥यो। वालिङको सफलताको आधार नै विदेशी खेलाडीले तयार पारेका छन्। यसले भविष्यमा अन्य टोलीलाई पनि विदेशी खेलाडी ल्याउन प्रेरित गर्ने देखिन्छ। विदेशी खेलाडीको सहभागिताले लिग प्रतिस्पर्धात्मक त हुन्छ नै स्थानीय खेलाडीले अनुभव बटुल्ने मौका पाउनेछन्।

यता विराटनगरले पनि ४ जना विदेशी खेलाडी मैदानमा उतारेको छ। सोहि कारण उसले पुलिसलाई पराजित गरेर बलियो टोली बनेको संकेत गरेको छ।

लिग निर्देशक मिश्र विदेशी खेलाडीका कारण लिग विगतमा भन्दा प्रतिस्पर्धात्मक र आकर्षक भएको मान्छन्। विराटनगरले पनि विदेशी खेलाडी उतारेकै कारण रक्षापंक्ति बलियो भएको मानिन्छ।

‘विराटनगरले हराएको पुलिसलाई वालिङले रोक्यो। विदेशी खेलाडीकै कारण त्यो नतिजा सम्भव भएको हो,’ मिश्र भन्छन्, ‘विदेशी खेलाडीबाट हाम्रा खेलाडीले धेरै सिक्न सक्छन्।’

SabitraBhandari Samba 1

सर्वाधिक गोलकर्ता
घरेलु फुटबल होस् वा नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता होस्, एकजना महिला खेलाडीको चर्चा अनिवार्य जस्तै हुने गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक ३८ गोल गरेकी सावित्रा भण्डारी साम्बा जारी लिगमा पनि चर्चाको केन्द्रमा छन्।

एपीएफले ६ खेलमा ४३ गोल गर्दा आधा भन्दा बढी गोल उनकै नाममा छन्। ६ मध्ये ५ खेलमा गोल गरेकी उनले चौदण्डीगढीविरुद्ध मात्रै १२ गोल गरेकी थिइन्।

आर्मीविरुद्ध गोल गर्न चुकेकी सावित्राले चन्द्रपुरविरुद्ध ३, विराटनगरसँग ४, पुलिस क्लवसँग ३, वालिङसँग २ गोल गरिन्। आर्मीविरुद्ध गोल नगरेपनि टोलीको जितमा भने उनको महत्वूर्ण भूमिका थियो। आर्मीसँगको दुवै गोलमा उनले नै पास दिएकी थिईन्।

लिगमा उनले जति गोल गरिन् त्यो सबै टिमको कारण नै सम्भव भएको साम्बाको भनाइ छ। आर्मीसँगको खेलमा गोल गर्न नसक्नुको कारण खोल्दै उनले भनिन्, ‘मलाई नै घेर्नेगरी आर्मीले खेलाडी मैदानमा पठाएको थियो जसको कारण गोल गर्न सकिन तर मेरो सहयोगमा अर्को साथीबाट गोल भएकोमा खुसी छु, यही लयलाई दोस्रो राउन्डमा पनि निरन्तरता दिनेछु।’

५ खेलमा एपीएफकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले अहिलेसम्म कुनै गोल नखाएर आफ्नो क्लिन सिट राखेकी छन्।

‘लिगका बाँकी खेलमा पनि यस्तै प्रदर्शन गर्न चाहान्छु,’ तुम्बापो भन्छिन्, ‘यो सबै टिमकै कारण सम्भव भएको हो।’

१३ गोल गर्दै आर्मीकी शर्मिला थापा सर्वाधिक गोलकर्ताको सूचिमा अहिलेसम्म दोस्रो स्थानमा छन्।

WomenLeague table firstround

तथ्यांकमा लिग
महिला लिगको पहिलो राउण्डका २१ खेल सकिदा जम्मा १ सय २६ गोल भएको छ। २१ खेलहरुमा पहिलो हाफमा ६१ र दोस्रो हाफमा ६५ गोल भएका थिए। लिगमा सहभागी ७ टोलीका १ सय ५८ खेलाडी सहभागी भएका छन्।

पहिलो पटक विदेशी खेलाडी सहभागी लिगमा १ सय ५८ खेलाडीमध्ये ८ जना विदेशी खेलाडी छन्। ८ विदेशीमध्ये दक्षिण एसियाका ४ र अन्य देशका ४ जना छन्।

२१ मध्ये १८ खेलमा हार जित हुँदा ३ खेल भने बराबरीमा टुंगिएका थिए। रेफ्री एसेसर श्रीराम रञ्जितकारका अनुसार २१ खेलमा १ सय ५५ मिनेट ‘इन्ज्युरी टाइम’ थप गरिएको थियो। उनका अनुसार लिगमा अहिलेसम्म १३ महिला र २ पुरुषसहित १५ रेफ्री सहभागी भएका छन्। अहिलेसम्म खेलाडीलाई २० वटा पहेलो कार्ड प्रयोग गरिएको छ।

वालिङ र विराटनगरका एकएक जना खेलाडीले दोहोरो पहेलो कार्ड पाए। रातो कार्ड भने अहिलेसम्म प्रयोग भएको छैन।

सात टोलीको सहभागिता लिगमा अहिलेसम्म
खेल –२१
हार जित – १८
बराबरी – ३
गोल – १ सय २६
पहिलो हाफमा गोल – ६१ गोल
दोस्रो हाफमा गोल – ६५ गोल
खेलाडी – १ सय ५८ (विदेशी ८)
पहेलो कार्ड – २०
रातो कार्ड– ०
रेफ्री – १३ महिला, २ पुरुष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .