खेल


गौतम बुद्ध रंगशालाः ३० प्रतिशत काम नसक्दै ११ करोड ऋण

गौतम बुद्ध रंगशालाः ३० प्रतिशत काम नसक्दै ११ करोड ऋण

लक्ष्मी जि.सी
फागुन १९, २०७७ बुधबार ११:३६,

चितवनको भरतपुरमा निमार्णाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाले सुरुबाटै आर्थिक अभाव खेप्दै आएको छ। यद्यपि निर्माणको काम भने रोकिएको छैन।

धुमुर्स सुन्तली फाउन्डेसनको नेतृत्वमा रंगशाला निर्माणको काम अघि बढेको छ। शिलान्यासपछिको २ वर्षमा रंगशाला निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुमुर्स’ ले हालसम्म ३० प्रतिशत काम सकिएको बताएका छन्।

स्वदेश र विदेशमा रहेका नेपालीबाट पैसा संकलन गरेर रंगशाला निर्माण गरिरहेको फाउन्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन आयोजना ग¥यो।

जसमा कट्टेलले अहिलेसम्मको प्रगतिबारे जानकारी दिए।

‘२०७५ को १६ गते औपचारिक कार्यक्रममा सम्झौता गरिएको रंगशालामा निर्माणको काम ३० प्रतिशत सकिएको छ,’ उनले भने, ‘२०७६ को साउन १ गतेबाट हामीले काम सुरु गरेका थियौँ। यो बीचमा विभिन्न समस्या नआएका होइनन्। तर पनि हामीले निरन्तर काम अघि बढाइरहेका छौ।ँ’

फाउन्डेसनले यसअघि चार वटा वस्ती निर्माण गरेर धेरैको स्याबासी पाएको थियो। सन् २०१८ मा नेपाली क्रिकेट टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि फाउन्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय लिएको थियो।

अबको डेढ वर्षमा पूर्ण रुपमा रंगशाला निर्माण गरिसक्ने फाउन्डेसनको लक्ष्य छ। त्यसका लागि सबैभन्दा बाधक आर्थिक पाटो बनिरहेको छ। फाउन्डेसनका अनुसार अहिले पनि ११ करोड रुपैयाँ भन्दा बढी ऋण छ।

मुख्य रंगशाला क्रिकेटको बन्ने भएपनि त्यहाँ अन्य २२ वटा खेल खेल्न र अभ्यास गर्न मिल्ने संरचना तयार भइरहेको बताइएको छ।

मानवबस्ती वा रंगशाला निर्माण आफूहरुको पूर्वयोजना नभई समयको माग अनुसार फाउन्डेसन अघि बढेको कट्टेलले स्मरण गरे।

No photo description available.

‘२०७२ मा देशमा भूकम्प गयो। केही सहारा बन्न सकिन्छ कि भनेर राहत र उद्धारमा लाग्दा एकीकृत बस्ती निमार्णमा लागियो,’ उनले भने, ‘त्यसपछि तराईमा बाढी गएपछि सहयोग गर्न जुट्यौँ। मुसहर बस्ती निमार्ण ग¥यौँ। त्यसबीचमा नेपालले एकदिवसीय मान्यता पाएपछि रगंशाला टड्कारो आवश्यकता देखियो अनि त्यसमा लाग्यौँ।’

रगंशाला निमार्णमा सहयोग गर्न हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सुरुदेखि नै सबैमा अपिल गर्दै आएका छन्।

‘फाउन्डेसनले सुरु गरेको सबैभन्दा ठूलो कामले एउटा आकार लिइसकेको छ। धुर्मुस र सुन्तलीमा मदन दाइ र ममा भन्दा धेरै सहने शक्ति छ। जसले गर्दा आलोचनाका बीचमा पनि काम गरिरहनु भएको छ। असम्भवलाई सम्भव बनाउने काम गरिरहनुभएको छ,’ हरिवंश आचार्यले भने।

मेरो कुर्सी
हाम्रो रगंशालामा मेरो कुर्सी अवधारणा सार्वजनिक गर्नुको मुख्य कारण रंगशालामा अपनत्व महसुस गराउनु रहेको कट्टेलले बताए। प्यारापिटमा ३० हजार कुर्सी रहने छन् भने त्यसबाहेक रगंशालाभित्र ७७ जिल्लाको नाममा एउटा एउटा कक्ष निमार्ण गरिने बताइएको छ। कुनै पनि व्यक्ति, संघ संस्था, क्लबले आफ्नो जिल्लाको कक्षमा वा कुर्सीमा आफ्नो नाम लेखाउन सक्नेछन्। एउटा कुर्सीमा नाम लेखाउन १ लाख रुपैयाँ शुल्क तोकिएको छ।

‘चितवनमा रगंशाला बनाउँदा जतिले सहयोगको घोषणा गर्नुभएको थियो, त्यो सबै रकम अझै आउन सकेको छैन। यो रगंशालामा सबैले अपनत्व महसुस गरेमा अबको एकदेखि डेढ वर्षमा रगंशाला निमार्ण गर्न सकिनेछ,’ उनले थपे, ‘यो खेलाडीको मन्दिर हो। खेलाडी, सरकार, राखेप, क्यान सबै यो अभियानमा जोडिन अनुरोध गर्दछु।’

ऋणमा बन्दै रगंशाला
गौतमबुद्ध रंगशाला निमार्ण गर्दा हालसम्म ४३ करोड ४८ लाख ६ हजार खर्च भएको छ। संकलन भने ३२ करोड ३० लाख २४ हजार छ। रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार ऋणमा रहेको बताइएको छ। रंगशालामा निर्माणका लागि ३ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सहयोग संकलन गर्न गतवर्ष धान्याचल महायज्ञ गरिएको थियो। जसमा विभिन्न व्यक्ति र संस्थाले ६९ करोड रुपैयाँ दिने घोषणा गरेका थिए। तर त्यसबाट अहिलेसम्म झन्डै ९ करोड रुपैयाँ मात्र संकलन भएको कट्टेलले जानकारी दिए। बाँकी रकम चाँडै उठ्नेमा उनी आशावादी छन्।

No description available.

‘घोषणा गरेर रकम दिन बाँकीमध्येले अब हाम्रो रगंशालामा मेरो कुर्र्सी अभियान अन्तर्गत आफ्नो वा संघ संस्थाको नाम लेखाउने गरी भुक्तानी पनि गर्न सकिने हामीले व्यवस्था मिलाएका छौँ,’ उनले भने।

रगंशालाका लागि स्थानीय सरकारबाट राम्रै सहयोग र साथ पाएको फाउन्डेसनले संघीय सरकारबाट भने अहिलेसम्म कुनै सहयोग पाएको छैन। फाउन्डेसन र भरतपुर नगरपालिकाबीच जग्गा हस्तान्तरण सम्झौताको दिन प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित थिए।

कट्टेलले रंगशाला निर्माण अभियानलाई सार्थकता दिन सबैलाई सहयोगको अपिल गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .