खेल


७० वर्षअघिकी राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनले जब आफ्नो जमाना सम्झिइन्

७० वर्षअघिकी राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनले जब आफ्नो जमाना सम्झिइन्

लक्ष्मी जि.सी
चैत २, २०७७ सोमबार १३:९,

थोरै मान्छेलाई मात्र थाहा छ– उनी कुनै जमानामा ब्याडमिन्टन च्याम्पियन थिइन्। साँच्चै भन्ने हो भने यो कुरा उनी आफैँले समेत बिर्सिसकेकी छन्।

त्यसैले काठमाडौँ ब्याडमिन्टन एकेडेमीले पुराना च्याम्पियनहरुलाई भेला गर्दा डा. रीता थापा छक्क परिन्। उनको खेल जीवनबारे थाहा पाउँदा थुप्रै मानिसहरु चकित परे।

महिला दिवसको दिन एकेडेमीले पुराना च्याम्पियनहरुको भेला आयोजना गरेको थियो। त्यहाँ, थापा सबैको चासोको पात्र बनिन्।

ब्याडमिन्टनको इतिहासमा थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ। उनी महिला ब्याडमिन्टनको पहिलो पुस्ताकी राष्ट्रिय च्याम्पियन हुन्। विसं २००८ सालदेखि २०११ सालसम्म उनी लगातार च्याम्पियन रहिन्। थापाका अनुसार उनका समकालीन अन्य खेलाडी जीवित छैनन्।

614A3199_2.jpg

उमेरले आठ दशकमा हिँडिरहेकी थापाको खेलप्रतिको मोह भने अहिले पनि उस्तै छ। आजभोलि स्वस्थ रहन र शौख पुरा गर्न उनी गल्फ खेल्छिन्।

‘मैले बिर्सिसकेको त्यो समयलाई एकेडेमीले फेरि सम्झाउने काम गरेको छ,’ भेलामा थापाले भनिन्, ‘पुराना पुस्ताका खेलाडीसँग भेट गराइदियो। ब्याडमिन्टनले पनि सम्झिरहेको छ है भनेर खुसी लाग्यो।’

त्यो माहोलमा उनले पुराना दिन सम्झिइन्।

‘काठमाडौंको नसल चोक (हनुमान ढोका) मा एउटा प्रतियोगिता भएको थियो। त्यहाँ खेल हेर्न थुप्रै आउँथे। प्रजातन्त्रको पहिलो लहर आएपछि मलाई पद्मकन्या स्कुलमा भर्ना गरियो,’ उनले भनिन्, ‘स्कुल जान थालेपछि त्यो बेला मलाई आकाश छुन सक्छु भन्ने लाग्थ्यो। त्यो बेलाबाट नै खेल्न सुरु गरेको हुँ। त्यो बेलामा केटीहरुले पनि पढ्ने कानुनी प्रावधान आएपछि स्कुलमा भर्ना भएपछि मैले खेल्न सुरु गरेँ।’

rita_thapa_236.jpg

२००८ देखि २०११ साल सम्म थापाले सिगंल्स, डबल्स मिक्स डबल्समा लगातार उपाधि जितेकी थिइन्। २००८ मा नेपाल ब्याडमिन्टन संघले पहिलो पटक राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो। त्यसको उपाधि थापाले जितेकी थिइन्।

पहिलो राष्ट्रिय प्रतियोगितामा फाइनल पुगेपछिको समय स्मरण गर्दै उनले भनिन्, ‘फाइनल पुगेपछि डर लाग्यो। किनकि त्यो समय भारतीय दूतावासका मिलिट्री एट्याचेकी छोरी मेरो प्रतिद्वन्द्वी थिइन्।’

स्कर्ट लगाउने हो भने आमाले खेल नै नखेल्न सुझाव दिएको उनले सम्झिइन्।

‘उनी स्कर्ट लगाएर खेल्ने, म सलवार र दुपट्टा लगाएर। उनलाई देखेपछि मैले आमासँग मेरो फाइनल छ, म पनि त्यस्तै स्कर्ट लगाएर खेल्छु भनेँ,’ उनले भनिन्, ‘त्यो सुनेपछि आमाले त्यसोभए नखेल भन्नुभयो। पछि मैले ड्रेसमा भन्दा खेलमा ध्यान दिने निर्णय गरेँ। जे पहिला लगाउँथेँ त्यही लगाएर खेल्ने निर्णय गरेँ। पहिलो जित त्यही हो। त्यसपछि लगातार २०११ साल सम्म जितेँ।’

खेलमा त थापा सफल भइन्। तर, उनको सपना खेलाडी बन्ने मात्र थिएन। डाक्टर बन्ने ठूलो सपना थियो उनको।

rita_thapa_258.jpg

‘त्यो बेलामा त्रिचन्द्र कलेजमा साइन्स पढाइ हुन्थ्यो। तर, पितृसतात्मक सोचाइले गर्दा परिवारले मलाई त्यहाँ पढाउन मानेन। त्यो बेलामा छोरीले छोरासँग पढ्न हुँदैन भन्ने थियो,’ उनले भनिन्, ‘देशभित्र पढेर डाक्टर बन्ने सपना पुरा हुने सम्भावना रहेन।’

जसले गर्दा उनलाई भारतको लखनऊ पढ्न पठाइयो। लखनऊमा मेडिकल कलेजमा भर्ना भइन्। पढ्न थालिन्। त्यहाँ पनि उनले युनिभर्सिटीको च्याम्पियनसिप जितिन्।

तर, डाक्टर बन्ने सपनाले भारत पुगेकी उनलाई धेरैले नखेल्न सुझाव दिएका थिए।

‘एक जना डाक्टरले मलाई ५ वर्षमा मेडिसिन पढेर सक्ने हो भने ब्याडमिन्टन छाड भने,’ उनले सम्झिइन्, ‘किनकि यहाँ एउटा प्रोफेसर छ, तिमीले खेल्छौ भन्ने उनले थाहा पाए भने फेल गराउँछन्। त्यसले मलाई एक खालको डर पनि भयो। अनि खेल्न छाडेँ र पढाइमा लागेँ।’

एक दशक कुर्ने डा. भेषसँग विवाह
आफ्नो विवाहको प्रसंग सुनाउँदा डा. थापा उत्साहित हुन्छिन्।

‘त्यो बेलामा नासाल चोकमा केटीहरुको खेल हेर्न धेरै मान्छे आउँथे। त्यहाँ मैले एउटा दिगो फ्यान पाएँ डा. भेषबहादुर थापा, जो अहिले मेरो लाइफ पार्टनर हुनुहुन्छ,’ उनले भनिन्।

त्यो बेला थापालाई थुप्रै विवाह प्रस्ताव आएका थिए। तर, उनी पढाइ र खेललाई अगाडि बढाउने भन्दै त्यसतर्फ ध्यान दिन्नथिन्।

158432682_1551650048366592_65493326117172408_n.jpg

‘यही बीचमा उहाँ (डा. भेष बहादुर) को परिवारले विवाहको प्रस्ताव ल्यायो। त्यो बेला मैले खेल्ने र पढ्ने भनेर स्वीकार गरिनँ,’ उनले थपिन्, ‘त्यसपछि उहाँ पनि पढ्न अमेरिका जानुभयो। म पनि पढ्न थालेँ। उहाँले मलाई १० वर्ष कुर्नुभयो। अमेरिका पढ्न जानुभएको उहाँ आउँदा ठूलो मान्छे भएर आउनुभएको रहेछ। तर पनि मैले अझै १ वर्ष कुराएँ। मेरो पढाइ बाँकी नै थियो। त्यति हुँदा नि उहाँले मलाई कुर्नुभयो, त्यसपछि मेरो मन पलायो। ए मान्छे त स्टेबल नै रहेछ है भन्ने लाग्यो अनि विवाह गरेँ।’

खेलप्रतिको उनको रुचि कायम थियो। ३ बच्चाकी आमा भएर पनि खेलेको अनुभव उनीसँग छ। २०३० मा थापाले अन्तिम पटक प्रतियोगिता खेलेकी थिइन्।

पुराना खेलाडीलाई एकै थलोमा जुटाउने अभियानको नेतृत्व गरेको काठमाडौं ब्याडमिन्टन एकेडेमीका दीपक थापाले इतिहासमा गर्व गर्न, नयाँ पुस्तालाई पुराना खेलाडीका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए।

‘अहिले अलिकति सफल हुँदैमा मै ठूलो हो भन्ने भ्रम छ। त्यसभन्दा अगाडि कतिवर्षदेखि दुखको दिनमा पनि संघर्ष गरेर इतिहास बनाएका पात्र छन् जसलाई हामीले बिर्सिरहेका छौँ,’ उनले भने, ‘उहाँहरु प्रेरणाको स्रोत हुनुहुन्छ। त्यस्तै इतिहासका प्रेरणादायी खेलाडीलाई सम्झाउने काम गराएको हो। उहाँहरुलाई यति लामो समयसम्म सम्झन सकेनौँ। ढिलै भएपनि सम्झने प्रयास गरेका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .