खेल


कोरोनाको ग्रहणबीच फुटबलले देखाएको आशाको किरण

कोरोनाको ग्रहणबीच फुटबलले देखाएको आशाको किरण

लक्ष्मी जि.सी
चैत ३१, २०७७ मंगलबार १५:५९,

कोरोनाका कारण विश्व खेलकुद नै प्रभावित हुँदा नेपाली फुटबलमा त्यसको असर पर्नु स्वभाविक थियो। त्यसकारण वर्ष २०७७ समग्र फुटबलका लागि फलदायी रहन सकेन। अधिकांश गतिविधि ठप्प भए।

गत वर्ष चैत ११ गते लकडाउन हुनुअघि सहिद स्मारक बी डिभिजन लिग चलिरहेको थियो। कोरोनाकै कारण त्यो लिगसहित सबै खेल गतिविधि स्थगित गर्नु परेको थियो। त्यस्तो समयमा राष्ट्रिय टोलीको मात्र प्रतियोगिता हुने सम्भावना थिएन।

वर्षको सुरुवात निराशाजनक भएपनि २०७७ को अन्त्यमा भने फुटबलले केही खुसी दियो। कोरोनाको असर केही कम हुँदै जाँदा राष्ट्रिय फुटबल टोलीले कात्तिक अन्तिम र मंसिर पहिलो साता बंगलादेश पुगेर दुई मैत्रीपूर्ण खेल खेलेर फर्कियो।

विश्व कप छनोटको रुपमा त्यो मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। दशरथ रंगशालामा नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनलाई आतिथ्यता प्रदान गर्ने तय थियो। तर कोरोनाकै कारण पटकपटक स्थगित हुँदै विश्वकप छनोट अन्ततः कुवेत सारिएको थियो।

विश्वकप छनोट नेपालमा नहुने भए पनि अखिल नेपाल फुटबल संघले चैत १० देखि १६ गतेसम्म थ्री नेसन्स कप आयोजना ग¥यो। नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यू २३ सम्मलित थ्री नेसन्स कपमा नेपाल च्याम्पियन बनेको थियो। मैत्रीपूर्ण सिरिज नै भएपनि नेपालले ३७ वर्षपछि दशरथ रंगशालमा पहिलो पटक उपाधि जितेको थियो। सन् १९८४ मा पहिलो दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको सागको उपाधि जितेयता नेपालले दशरथ रंगशालामा थ्री नेसन्स कप जितेको हो। सोही प्रतियोगिताबाट राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए। उपाधिका साथ उनको विदाई सुखद् भयो। सोही प्रतियोगितामा रोहित चन्द सर्वोत्कृष्ट खेलाडी चुनिए।

एन्फाले पहिलो पटक माघमा राष्ट्रिय महिला लिगमा डबल लिग गरायो। जसको च्याम्पियन नेपाल एपीएफ क्लब बन्यो। यद्यपि एपीएफकी मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको घुँडामा गम्भीर चोट लाग्दा फुटबल समर्थक निराश बने। त्रिभुवन आर्मी क्लब एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो टोली यही बर्ष बन्यो। ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबले क्लब लाइसेन्स नभएका कारण एएफसी कपको प्ले अफ खेल्न पाएन। त्यसको सट्टा आर्मीले सहभागिता जनाउँदै पहिलो खेलमा श्रीलंका पुलिस क्लबलाई ५–० ले हरायो।

एन्फाले गत वर्ष स्थगित बी डिभिजन लिग र सी डिभिजन लिग सम्पन्न गरेको छ। त्यस्तै प्रदेश लिग पनि यही बीचमा आयोजना भयो। राष्ट्रिय टोलीको प्रशिक्षण पनि नियमित रुपमा आयोजना भएको थियो। यसैवर्ष पहिलो पटक फुटबलमा फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) हुने घोषणा भएको छ। मोफसलका फुटबल प्रतियोगिताहरुले पनि निरन्तरता पाएका छन्। एकैपटक जिल्लाजिल्लामा नकआउट प्रतियोगिता सुरु भएपछि फुटबल पुरानै अवस्थामा फर्केको महसुस हुन थालेको छ।

कोरोनाका कारण फुटबलको सुरुवात खराब रहेपनि वर्षको अन्त्यमा आइपुग्दा केही सुखद सन्देश दिएर गएको छ। व्यक्तिगत रुपमा पनि केही खेलाडीले वर्षको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्न पाएका छन्। फुटबलले पुनः गति लिने सम्भावना देखिएको छ। यद्यपि कोरोनाको दोस्रो लहरको भय यथार्थमा परिणत हुँदै छ। त्यसैले अबका दिन अझ कठिन देखिँदैछ।

वर्ष २०७७ ले केही खेलाडीलाई पारेको प्रभावबारे यहाँ चर्चा गरिएको छः

KIRAN_CHAMJONG.jpg

किरण चेम्जोङ
राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङका लागि २०७७ सम्झनलायक रह्यो। घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा उत्कृष्ट प्रर्दशन गरेका किरण एएफसी इन्टरनेसनल ‘प्लेयर अफ द विक’ बने। एसियाली फुटबल महासंघले सार्वजनिक गरेकोे मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीमध्ये सर्वाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द विक’ बनेका हुन्। समूह चरणमा किर्गिस्तानको यू–२३ र बंगलादेशी टोलीसँग क्लिनसिट राखेका किरणले फाइनलमा बंगलादेशसँग एक गोल मात्र खाएका थिए।

यता कोरोना महामारीकै कारण किरण सम्मिलत राउन्ड ग्लास पञ्जाबले ४ खेल खेल्न बाँकी छँदै गत संस्करणको आईलिग टुंग्याइएको थियो। लिग सकिएपछि स्वदेश फर्केका किरणले लामो समय स्वदेशमा बिताएपछि यो संस्करण खेल्न भारत पुगेका थिए। त्यसमा उनी लिगकै उत्कृष्ट गोलरक्षक समेत बने। आई लिगमा १४ खेल खेलेका किरणले ७ खेलमा क्लिन सिट राखेका थिए।

biraj_maharjan.jpg

विराज महर्जन
राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले घरेलु समर्थकबीच अन्तर्राष्ट्रिय फुटबलबाट आफूले चाहेजस्तै सन्यास लिएका छन्। १३ वर्ष फुटबलमा बिताएका विराजले चैतमा भएको थ्री नेसन्स कप मार्फत औपचारिक रुपमा बिदा भए। अन्तिम खेलमा नियमित १ र इन्ज्युरी ६ मिनेट गरि ७ मिनेट मैदानमा बिताएका विराजले प्रधानमन्त्री केपी शर्मा ओलीबाट कोट लगाएर विश्राम लिए।

आफ्नो अन्तिम खेलमा उपाधि दिलाएका विराज सफल कप्तान हुन्। थ्री नेसन्स कपको उपाधिसँगै नेपालले ३७ वर्षपछि दशरथ रंगशालामा उपाधि उचाल्न सफल भएको थियो। सन् १९८४ पहिलो दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा स्वर्ण जितेयता सिनियर टोलीले उपाधि जितेको थिएन।

सन् २००८ मा पोखरामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। रक्षकको भूमिकामा रहने विराजले सन् २००९ मार्चमा भएको एएफसी च्यालेन्जकपमा किर्गिस्तानविरुद्ध गोल गरेका थिए। विराजकै कप्तानीमा नेपालले बंगलादेशमा बंगबन्धु, भारतमा १२औँ साग र मलेसियामा सोलिडारिटी कप जितेको हो।

Samba.jpg

सावित्रा भण्डारी
राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा को लागि भने वर्ष २०७७ बिर्सनलायक रह्यो। कोरोना महामारीको कारण लामो समय मैदान बाहिर रहेकी सावित्रा महिला लिग मार्फत खेलकुदमा फर्कंदा निक उत्साहित थिइन्।

तर, फागुन ३ गते नेपाल पुलिस क्लबसँगको खेलमा ल्याडिङ गर्ने क्रममा घुँडामा चोट लाग्न पुग्यो। उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल), मेडिएल कोल्याटरल लिगामेन्ट (एमसीएल), ल्याटरल मेनिस्कसमा पनि चोट देखिएको छ। ४३ गोलसहित महिला लिगमा सर्वाधिक गोलकर्ता बनेकी सावित्राको रफ्तारमा चोटले ब्रेक लगाएको छ। चोटकै कारण उनी १ वर्ष मैदान बाहिर रहनुपर्ने भएको छ। सावित्रा आफैँपनि त्यो दिनलाई जिन्दगीको कालो दिनको रुपमा स्मरण गर्छिन्।

महिला लिगमा उत्कृष्ट फरवार्ड भएकी साम्बा प्रवल जनसेवा श्री चतुर्थबाट वर्ष २०७७ मै सम्मानित भइन्।

Rojit_chand.jpg

रोहित चन्द
राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। नेपाललाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी बने। रोहित लिग चरणमा बंगलादेशविरुद्ध म्यान अफ द म्याच समेत बनेका थिए। इन्डोनेसियाको पर्सिजा जकार्ताबाट व्यवसायिक लिग खेलिरहेका रोहित कोरोना महामारी बढेसँगै स्वदेश फर्किएका थिए। रोहित थ्री नेसन्स सकेलगत्तै फेरि व्यवसायिक फुटबलका लागि इन्डोनेसिया पुगिसकेका छन्। उनी सम्मिलित टोली नकआउट प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ।

sanjog_rai.jpg

संजोक राई
एन्फा एकेडेमीका उत्पादन सन्जोक राईका लागि वर्ष २०७७ स्मरणीय बन्न पुग्यो। एकेडेमी छाडेको झन्डै ६ वर्षपछि सन्जोकले राष्ट्रिय टोलीमा डेब्यु गरे। काठमाडौँमा भएको थ्री नेसन्स कप बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले आफ्नो दोस्रो खेलमा गोल मात्र गरेनन् अर्को गोलमा असिस्ट पनि गरे।

फाइनल खेलको प्लेयर अफ द म्याच समेत बनेका सन्जोकले १८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। सन्जोकले गरेको गोल अन्तर्राष्ट्रिय फुटबलमा ७ खेल र १८ महिनापछि नेपालले गरेको पहिलो गोल थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .