ad ad

खेल


सागः लक्ष्य ५० स्वर्ण, खर्च ४५ करोड

सागः लक्ष्य ५० स्वर्ण, खर्च ४५ करोड

लक्ष्मी जि.सी
मंसिर ३, २०७६ मंगलबार १६:३१,

१३औं दक्षिण एशियाली खेलकुद (साग) को खेलाडी प्रशिक्षण तथा राष्ट्रिय टिम तयारीका लागि आयोजक नेपालले ४५ करोड रुपैयाँ खर्च गरेको छ।

प्रतियोगितामा समावेश हुने २७ खेलमै भाग लिने तयारी स्वरुप नेपालले राष्ट्रिय टोली तयारीका लागि सो रकम खर्च गरेको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम बहादुर रानाभाटले बताए।

‘सागको बजेटअनुरुप टिम तयारीका लागि ४५ करोड छुट्टाइएको थियो। हामीले त्यही अन्तर्गत रहेर खर्च गरेका हौं,’ टिम तयारी समितिका संयोजक रानाभाटले भने। सागका लागि सरकारले ४ अर्व रकम निकासा गरेको छ। जसमा पूर्वाधार निर्माणका लागि १ अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि ३ अर्व ६५ करोड रहेको छ।

जेठ १५ बाट विशेष प्रशिक्षण शुरु गरेको नेपालले शुरुमा २७ वटै खेलका १२ सय खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। तेस्रो चरणसम्म आइपुग्दा खेलाडी, प्रशिक्षकको भत्ता, वैदेशिक तथा स्वदेश प्रशिक्षण, प्रशिक्षक नियुक्ति लगायतका शीर्षकहरुमा उक्त बजेट खर्च हुने रानाभाटले बताए।

जेठ १५ देखि असार मसान्तसम्म विशेष चरण, साउन १ देखि भदौ १५ सम्म पहिलो चरण, भदौ १६ देखि असोज ३० सम्म दोस्रो चरण तथा कार्तिक १ देखि सागको उद्घाटन मिति भन्दा २ दिन अघिसम्मका लागि तेस्रो चरण भनि खेलाडी प्रशिक्षण गराइएको छ।

प्रशिक्षणमा रहेका खेलाडीहरुलाई विशेष प्रशिक्षणमा १४ सय रुपैयाँ, पहिलो चरणमा २ हजार, दोस्रो चरणमा २२ सय रुपैयाँ भत्ता दिइएको र तेस्रो चरणमा सहभागी खेलाडीलाई जनही २५ सय भत्ता तथा २ सय ५० रुपैयाँ पकेट खर्च उपलब्ध गराइने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ।

सागमा समावेश हुने २७ मध्ये २१ खेलका खेलाडीहरु वैदेशिक प्रशिक्षणमा पठाएको राखेपले बाँकी खेलका विदेशी प्रशिक्षकहरु ल्याएर स्वदेशमै प्रशिक्षण गराएको थियो। हालसम्म वैदेशिक प्रशिक्षण गराउँदा र स्वदेशमै प्रशिक्षण गराउँदाको विस्तृत खर्च विवरण आइनसकेको रानाभाटले बताए।

तेस्रो चरणमा हाल ५ सय ९९ खेलाडी प्रशिक्षणमा रहेका छन। उनीहरुले नै सागमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाहेक १ सय २३ प्रशिक्षक र ५० जना व्यवस्थापकहरु छन्।

आगामी सागमा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। सागमा ७ देशका ३२ सय ५२ खेलाडी भिड्दैछन।

न्यूनतम ५० स्वर्णको अपेक्षा

४५ करोड रुपैयाँ टोली तयारीमा खर्च गरेको नेपालले कम्तिमा ५० स्वर्ण पदक ल्याउने महत्वाकांक्षी लक्ष्य लिएको राखेप सदस्यसचिव रमेशकुमार सिलवालले वताए। लक्ष्यअनुसारको स्वर्ण जिते नेपालले साग इतिहासमै हालसम्मको सर्वाधिक ठूलो सफलता हात पार्नेछ।

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। ‘तयारीका हिसाबले अहिलेसम्मकै राम्रो नतिजा ल्याउने लक्ष्य राखेकाछौं,’ सदस्यसचिव सिलवालले भने, ‘विगतको तुलनामा खेलाडीको भत्ता पनि दोब्बर पारिएको छ। त्यसले खेलाडीहरुको मनोबल बढाउने विश्वास छ।’

सदस्यसचिव सिलवालले ५० वटा स्वर्ण ल्याउने दाबी गरेपनि टिम तयारी समितिले भने कति पदक ल्याउने बारे लक्ष्य तय गरेको छैन। ‘हामीहरु सदस्यसचिवले राखेको सपना पुरा गर्न लागि परेका छौं,’ तयारी समितिका संयोजक रानाभाटले भने, ‘यति नै पदक जित्छौं भनेर तोकिसकेका त छैनौं। विगतका भन्दा बढी आउनेमा विश्वस्त छौं।’

मार्सल आर्टसका खेलहरुबाट यसपटक नेपालले सर्वाधिक पदकको अपेक्षा राखेको छ। अहिले तेक्वान्दोमा २९ वटा र कराँते १९ खेलमा प्रतिस्पर्धा हुँदैछ। नेपालले पाउने पदकमध्ये कराँते र तेक्वान्दोबाट ७५ प्रतिशत हुने सागका दोहोरो स्वर्णधारी खेलाडी दीपक श्रेष्ठ को विश्लेषण छ।

‘ठ्याक्कै सदस्यसचिवले भनेजस्तै ५० स्वर्ण त नपुग्ला,’ उनले भने, ‘यसपटक कराँते र तेक्वान्दो खेलहरु थपिएकाले त्यो लक्ष्य नजिक हामी पुग्न सक्छौं।’ नेपालले स्वर्ण आशा गरेका अन्य खेलहरु बक्सिङ, महिला भलिबल, फुटबल, एथ्लेटिक्स, जुडो, टेबुलटेनिस, बीच भलिबल र उसु लगायत छन।

खेलाडीहरु भने हतारमा तयारी भएकाले अझै पर्याप्त नभएको गुनासो गर्छन। कराँते टोली १० दिने मलेसिया प्रशिक्षणमा गएको थियो। ४ दिन आउने जाने समय कटाएर ६ दिन मात्रै उनीहरुले मलेसियामा प्रशिक्षण गर्न पाएका थिए।

‘छोटो समय भएकाले लामो योजना बनाएर तयारी गर्न पाइएन,’ कराँतेमा स्वर्णको आशा गरिएकी अनु अधिकारीले भनिन। अझै पनि बाँकी समयमा राम्रो प्रशिक्षक झिकाई थप प्रशिक्षणका लागि आफूहरुले अनुरोध गरेको उनले बताइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .