ad ad

खेल


४० करोड खर्चेर देखाइँदै विश्वकप : विज्ञापनबाट १२ करोड, बाँकी भार दर्शकलाई

४० करोड खर्चेर देखाइँदै विश्वकप : विज्ञापनबाट १२ करोड, बाँकी भार दर्शकलाई

दीपक भट्ट
असोज ७, २०७९ शुक्रबार ६:३३, काठमाडौँ

कतारमा यो वर्ष हुने फुटबल विश्वकप आगामी मंसिर ४ देखि सुरु हुँदै छ। 

झण्डै तीन महिनामात्र बाँकी रहँदा विश्वमा सर्वाधिक लोकप्रिय खेलको ठूलो प्रतिस्पर्धा हेर्न यसपटक भने नेपाली दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। 

पहिलेका विश्वकपमा टेलिभिजन च्यानललाई तिर्ने नियमित शुल्कमै प्रतियोगिता हेर्न पाइन्थ्यो। 

तर यसपटक यो प्रणालीभन्दा फरक व्यवस्था (सब्सक्रिप्सन लिनुपर्ने) हुने र त्यसका लागि उपभोक्ताले अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो।  

नेपालमा आउँदै गरेको विश्वकप खेल प्रसारणको अधिकार यो वर्ष मिडिया हब प्रालिले पाएको छ। अब यसले कुन–कुन टेलिभिजन च्यानलमा प्रसारण गर्न दिने वा नदिने सर्वाधिकार यही कम्पनीसँग छ। 

मिडिया हबले विश्व फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा ‘टेरिटरी लक’ हुने प्रावधानको समेत अधिकार लिएको छ। जुन फिफाले यो वर्षदेखि लिएको नीतिअनुसार नै भएको हो। 

अर्थात् विश्वको कुनै पनि देशको च्यानल नेपाली केबल नेटवर्कमार्फत आउँछ भने त्यसमा विश्वकप प्रसारण हुँदैन।

यसले विदेशी च्यानलबाट विश्वकप नदेखिने र नेपाली च्यानलले नेपाली भूमिमा मिडिया हबले अनुमति दिएबाहेकका टेलिभिजन च्यानलमा प्रसारण हुनेछैन।

मिडिया हबले कुन नेपाली च्यानललाई प्रसारणको अधिकार दिने निश्चित हुन बाँकी छ। तर अब कति महँगो पर्ने भन्ने मुख्य जिज्ञासा छ। 

महंगो खरिद, विज्ञापनले नधानेपछि उपभोक्तासँग असुली
योभन्दा अघिल्ला पटकमा भारतीय च्यानल नेटवर्कसमक्ष समझदारी गरेर नेपालमा विश्वकप प्रसारण गरिएको थियो। त्यसले गर्दा सस्तो परेको थियो। त्यसमा  विज्ञापनले नै धानेको थियो। 

तर यो पटक भने विश्व फुटबल महासंघसँग नै समझदारी भएकोले नेपालीले हेर्ने विश्वकप महँगो हुने भएको हो। यसलाई ‘एक्सक्लुसिभ’ अधिकार भनिन्छ। जुन नेपालमा पहिलोपटक प्रयोग हुनलागेको हो। 

मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले यो वर्षको एक्सक्लुसिभ अधिकारको लागि धेरै कष्ट गरेको बताए। सबैतिरको जोडेर ४० करोडमा यस्तो अधिकार खरिद गरेको उनको भनाइ छ।  

उनले भने, ‘तर १२ करोड मात्रै नेपालको विज्ञापनले लिने देखिएको छ। बाँकी रकम उपभोक्तासँग नै जोडिन आउँछ। अन्य नेट प्रणालीको लागि पनि छुट्टै सहमति गर्नुपर्ने अवस्था छ।’

उपभोक्तासँग उठाउने पैसाको बारेमा आधिकारिक निर्णय भने दुई दिनभित्र हुने उनले बताए। 

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले पनि दुई दिनभित्र रेट टिभी मोडल जारी हुने र यसबारे आधिकारिक जानकारी आउने बताए। 

उनले भने, ‘विश्वकप हेर्न खोज्ने उपभोक्ताले अतिरिक्त पैसा तिर्ने गरी निर्णय गर्ने समझदारी भइसकेको छ। त्यसको आधिकारिक जानकारी दुई दिनमा हुनेछ।’ 

यो मोडल नराम्रो नभएको उनको दाबी छ। 

‘यो त सब्सक्रिप्सन मोडल मात्रै नभई निश्चित रेटमा निश्चित च्यानलहरु खरिद गर्ने प्रणालीहरु विश्वमा छन्’, उनले भने, ‘भारतमा पनि यो प्रणाली विकास भएको छ। अब नेपालमा यो विश्वकपले उक्त प्रणालीलाई जोड्नेछ।’

कुनै घरमा बूढाबूढी बस्छन् र उनीहरुलाई विश्वकप हेर्ने चाहना छैन भने उनीहरुले अतिरिक्त पैसा तिर्नु नपर्ने उनले दाबी गरे। 

नेपाली केबल च्यानलले अब हरेक उपभोक्ताबाट पैसा उठाउनुपर्ने मिडिया हबले जनाएको छ। धितालका अनुसार विज्ञापन बजारबाट आएको पैसाले मात्रै उक्त भुक्तानी गर्न सकिँदैन। 

उनले थपे, ‘पछिल्लो समय नेपालको विज्ञापन बजार आफैँमा कमजोर छ। कोरोना लगायत विविध कारणले अर्थतन्त्रमा नराम्रो असर परेको छ।’

त्यसमाथि विगतभन्दा धेरै ठूलो रकम बुझाउनुपर्ने भएकोले पनि नेपालको विज्ञापन बजारले धेरै धान्न नसकिने देखिएको उनको दाबी छ। 

‘त्यसको विकल्प उपभोक्ता नै देखिएको छ। उपभोक्ताबाट अतिरिक्त रकम संकलन गर्ने निर्णयमा टेलिभिजन बजार अघि बढिसकेको छ’, उनले भने।  

उपभोक्ताबाट यसरी उठाइनेछ पैसा  
उपभोक्ताले अहिले तिरिरहेको शुल्क थप गर्नुपर्ने गरी केवल च्यानलले थप पैसा उपभोक्तासँग माग गर्नेछन्। 

थप पैसा नतिरे विश्वकप आउने समयमा उक्त च्यानल बन्द हुनेछ। सेटअप बक्स अनुसार केवल व्यवसायीहरुले उपभोक्ताहरुबाट पैसा उठाउनेछन्। 

टेलिकम्युनिकेसनबाट पनि विश्वकप, कर्मचारीको विरोध 
एनसेल र एनटीसी ओटीटीबाट पनि विश्व कप हेर्न मिल्ने गरी मिडिया हबले व्यवस्थापन गर्न लागेको जनाएको छ। त्यसको लागि एनसेल वा एनटीसीमध्ये एक मिडिया हबले छान्नेछ। 

त्यसको लागि अहिले मिडियाहबले छलफल सुरु गरिसकेको छ। जसमार्फत अनलाइनबाट विश्वकप हेर्न पाउने व्यवस्था गरिनेछ। त्यसको लागि टेलिकम्युनिकेसन कम्पनीले पैसा बुझाउनुपर्नेछ। 

यसैबीच, नेपाल टेलिकमले विश्वकपको लागि २४ करोड रुपैयाँ तिर्न तयार भएको भन्दै टेलिकमका कर्मचारीहरुले विरोध जनाएका छन्। 

टेलिकमका ग्राहकले टेलिकमको प्लेटफर्ममार्फत कतारमा हुने विश्वकप फुटबल हेर्दा टेलिकमले तिर्नुपर्ने मुल्य महँगो र औचित्यहीन भएको भन्दै उनीहरुले बिहीबार टेलिकम परिसरमा आन्दोलन गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .