पोर्चुगलका उदीयमान स्टार खेलाडी तथा ह्याट्रिक हिरो गोन्सालो रामोसले स्वीटजरल्याण्डविरुद्धको खेलमा तीन गोल गरे।
पोर्चुगिज मुख्य फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थान लिदै सुरुवाती ११ मा स्थान बनाएका उनले ह्याट्रिक हिरोको उपनाम पाएका छन्। स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि रामोसले भने, ‘मैले सोचेको पनि थिइनँ। विश्वकपको अन्तिम १६ को खेलमा सुरुवाती ११ मा नै स्थान बनाएर ह्याट्रिक गर्छु भनेर।’
टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पाँच पटकका बा लोन डिओर विजेता रोनाल्डोलाई बेन्चमा राख्दै रामोसलाई सुरुवातमा नै मौका दिएका थिए। त्यसअघिको खेलमा रामोसले रोनाल्डोको स्थान लिदै मैदान छिरेका थिए।
‘मैले विश्वकपको खेलमा सुरुवातमा नै खेल्ने र ३ गोल गर्ने बारेमा सोचेको पनि थिइनँ’, उनले भने, ‘तर हामीले खेल अनुसार सोच्नुपर्छ, खेलको तयारी गर्नुपर्छ। अब मोरक्कोसँगको खेलका लागि तयारी गर्नुपर्छ यो नतिजाले केही पनि गर्दैन।’
२१ वर्षिय रामोसले ड्रेसिङ रुपमा प्रशिक्षक सान्तोषको टोली छनोट देखेर सबै दङ्ग परेको उनले सुनाए। उनले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा टोलीमा यो बारेमा कोही पनि बोलेनन्।’
रामोसले रोनाल्डो आफ्नो लागि अघि बढ्न उदाहरण बनेको समेत बताए। अन्त्यमा उनले थपे, ‘रोनाल्डो सँधै मेरो रोल मोडल हो, ऊ अरु धेरैका लागि पनि आइडल हुन्। मलाई रोबर्टो लेवान्डोस्की र जल्टान इब्राहिमोभिक पनि मनपर्छ।’
Shares
प्रतिक्रिया