ad ad

खेल


इरानका खेलाडीले किन गाएनन् राष्ट्रिय गान?

इरानका खेलाडीले किन गाएनन् राष्ट्रिय गान?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ८:५५, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार भएको खेलमा इंग्ल्याण्डले इरानमाथि ६–२ गोल अन्तरको फराकिलो जित हात पार्‍यो।

यो खेलको जित हारभन्दा पनि अर्को रोचक पक्ष इरानका खेलाडीले राष्ट्रिय गीत नगाउनु रह्यो। मुलुकमा जारी सरकारविरोधी प्रदर्शनको कारण सोमबारको खेलमा इरानका खेलाडीले के गर्लान् भन्ने धेरैको चासो थियो। 

सोमबार इंग्ल्याण्डसँगको खेल सुरु हुनुभन्दा अगाडि इरानमा खेलाडीले राष्ट्रिय गीत गाउन मानेनन्। मुलुकमा जारी प्रदर्शनको समर्थनमा खेलाडीले राष्ट्रिय गीत बहिष्कार गरेका हुन्।

सोमबार इरानका केही समर्थकहरु राष्ट्रिय गीत बजिरहँदा कराइरहेका थिए भने ‘महिला, जीवन, स्वतन्त्रता’ भन्ने नारा लगाइरहेका थिए। इरानको राष्ट्रिय टेलभिजनले राष्ट्रिय गान समारोहको क्लिप काटेको थियो। त्यो समयमा टेलिभिजनमा स्टेडियमको अगाडि देखाइएको वाइड सो देखाइएको थियो। 

पछिल्लो केही महिनायता इरान हिजाबविरुद्धको प्रदर्शनको कारण अशान्त छ। गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन चर्किएको हो।

प्रहरीले उनलाई टाउको अनिवार्य छोप्नुपर्ने नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। 

अमिनीको मृत्युपछि चर्किएको आन्दोलनको क्रममा अहिलेसम्म चार सयभन्दा धेरै मानिसको मृत्यु भएको र १६ हजार ८ सयभन्दा धेरै मानिसहरु पक्राउ परेको मानव अधिकारवादी संस्थाहरुले बताएका छन्। इरानले भने विदेशी शत्रुराष्ट्रको इशारामा उक्त आन्दोलन भइरहेको आरोप लगाउँदै आएको छ। 

सोमबारको खेलमा इरानका फ्यानले सरकारका कट्टर आलोचक तथा यो जारी आन्दोलनका चर्चित अनुहार पूर्व फुटबल अलि करिमीको नाम लिँदै नारासमेत लगाएका थिए। 

यसअघि राष्ट्रिय फुटबल टोलीले मुलुकमा भइरहेको प्रदर्शनको पक्षमा प्रत्यक्षरुपमा बोल्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो। खेल सुरु हुनुभन्दा अगाडि इरानका कप्तान  एहसन हजसाफीले खेलाडीहरु प्रदर्शनको क्रममा मारिएकाको पक्षमा रहेको बताएका थिए।

इरानका प्रशिक्षक कार्लोस क्युएइरोजले खेलाडीलाई मुलुकको महिला अधिकारको विषयमा विरोध गर्ने अधिकार रहेको बताए। यद्यपि यो क्रममा विश्वकपको मापदण्ड र खेलको भावना भने कायम राख्नुपर्ने उनको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .