ad ad

खेल


को हुन् अर्जेन्टिनाविरुद्धको ऐतिहासिक जितमा नायक बनेका मोहम्मद अल ओवाइस?

को हुन् अर्जेन्टिनाविरुद्धको ऐतिहासिक जितमा नायक बनेका मोहम्मद अल ओवाइस?

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ११:१२, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार भएको समूह सीको खेलमा साउदी अरेबियाले अर्जेन्टिनामाथि २–१ गोल अन्तरको ऐतिहासिक जित हात पार्‍यो।

मंगलबारको खेलमा साउदी अरेबियालाई जित दिलाउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी थिए– गोलकिपर मोहम्मद अल ओवाइस।

उनले खेलको दोस्रो हाफमा दुई निकै महत्वपूर्ण प्रहारलाई गोल हुनबाट बचाएका थिए। अन्तिम समयमा उनको उत्कृष्ट प्रदर्शनको कारण फिफा वरीयताको तेस्रो स्थानमा रहेको अर्जेन्टिना ५१ औं स्थानको साउदी अरेबियासँग स्तब्ध बन्यो। 

पाँच प्रहारलाई बचाएका ओवाइसले खेलमा १४ सही पास पनि दिएका थिए। ३१ वर्षीय उनलाई मंगलबारको खेलको प्लेयर अफ द म्याच घोषणा गरिएको थियो। उनले प्रहारहरु बचाउनुका साथै केही जोखिमपूर्ण बल अगाडि बढेर पनि क्लियर गरेका थिए। 

मोहम्मद अल ओवाइसले १० वर्षअघि साउदी क्लब अल शबाबबाट फुटबल करियर सुरु गरेका थिए। उनी अहिले अल हिलाल टोलीबाट खेल्दै आएका छन्। उनले अल शबाबबाट टोलीलाई किंग कप र साउदी सुपर कपको उपाधि जिताइसकेका छन्। अल हिलाललाई पनि उनले साउदी प्रोफेसनल लिगको उपाधि जिताएका छन्। 

अल ओवाइसको लागि यो दोस्रो विश्वकप हो। उनले सन् २०१८ को विश्वकपमा पनि सहभागिता जनाएका थिए। उनले समूह चरणमा उरुग्वेविरुद्धको खेल खेलेका थिए। उक्त खेलमा साउदी अरेबिया १–० गोलले पराजित भएको थियो। 

मंगलबारको खेलमा जितको नायक बनेका अल ओवाइस एउटा अप्रिय घटनाको कारक पनि बने।

लुसेल स्टेडियममा भएको खेलमा बललाई क्लियर गर्ने क्रममा उनी टोलीका अर्का साथी यासेर अल शहरानीसँग ठोक्किन पुगे। दोस्रो हाफको इन्ज्युरी समयमा उनको घुँडाले शहरानीको अनुहारमा लागेको थियो। यससँगै शहरानी घाइते हुँदै मैदानबाट बाहिरिएका थिए।

साउदीका युवराज मोहम्मद बिन सलमानले शहरीनलाई निजी विमानमा उपचारको लागि जर्मनी पठाउन निर्देशन दिएका छन्। उनको अनुहारको देब्रोपट्टीको हड्डी भाँचिएको र आन्तरिक रक्तस्राव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .