ad ad

खेल


विश्वकपका ‘रेड कार्ड’ बारे रोचक तथ्यहरु

विश्वकपका ‘रेड कार्ड’ बारे रोचक तथ्यहरु

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ७:५, काठमाडौँ

कतार विश्वकप २०२२ को १७ खेलमा शुक्रबार वेल्सका गोलरक्षक वेन हेनेसीले ८६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडे। त्यसअघि वेल्स र इरानबीचको खेल १–१ को बराबरीमा थियो। हेनेसीले रातो कार्ड खाँदै मैदान छाडेपछि खेलले अर्कै मोड लिनपुग्यो। 

हेनेसीले इरानका मेहदी तारेमीलाई अनावश्यक फउल गरेपछि उनले रातो कार्ड खाएका थिए। सुरुमा रेफ्रीले पँहेलो कार्ड देखाए पनि पछि भीएआरको सहायतामा रातो कार्ड देखाएका थिए। 

विश्वकप इतिहासमा रातो कार्ड खाने हेनेसी तेस्रो गोलरक्षक हुन्। यसअघि सन् २०१० मा उरुग्वेविरुद्धको खेलमा दक्षिण अफ्रिकाका इतुमेलेङ खुने र १९९४ मा नर्वेविरुद्धको खेलमा इटालीका जियानलुका पाग्लिउकाले रातो कार्ड खाएका थिए। 

फिफा विश्वकपको २२ औँ संस्करणसम्म आइपुग्दा १७४ रेड कार्ड प्रयोगमा आएको छ। 

सन् १९३० मा भएको पहिलो विश्वकपमा पेरुका प्लासिडो गालिन्डोलाई मैदान बाहिर पठाइएको थियो। रोमानियाविरुद्धको त्यो खेलमा रेफ्रीले उनलाई मैदान बाहिर पठाए। 

सन् १९७०को विश्वकप सम्म खेलाडीहरूलाई रातो कार्ड देखाइएको थिएन तर रेफ्रीले मैदान छोड्न भनेका थिए। विश्वकपमा पहिलो पटक रातो कार्ड पाउने पहिलो खेलाडी चिलीका कार्लोस कास्जेली थिए। उनले मेक्सिकोमा भएको विश्वकपमा पश्चिम जर्मनी विरुद्धको खेलमा पाएका थिए। 

विश्वकपको इतिहासमा क्यामरुनका रिगोबर्ट सङ र फ्रान्सका जिनेदिन जिदानले दुई–दुई रातो कार्ड पाएका छन्। 

सन् १९९४ र १९९८ को विश्वकपमा सङले रातो कार्ड पाएका थिए। जिदानलाई सन् १९९८ र २००६ मा फाइनलमा इटालीका मार्को माटेराजीलाई टाउकोले हानेपछि जिदानलाई मैदान बाहिर पठाइएको थियो।

पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले २२ खेलमा ११ रातो कार्ड पाएको छ। सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सबैभन्दा धेरै रातो कार्ड देखाईएको थियो। जर्मन विश्वकपमा २८ खेलाडीलाई मैदान बाहिर पठाइएको थियो। 

नकआउट चरणमा पोर्चुगल र नेदरलयाण्ड्सबिचको खेलमा ४ वटा रातो कार्ड देखाइर्एको थियो। रुसी रेफ्री भ्यालेन्टिन इभानोभले दुई टोलीका खेलाडीलाई दुई–दुई वटा रातो कार्ड दिएका थिए। यो खेलमा कुल १६ वटा पँहेलो कार्ड देखाइएको थियो। 

विश्वकप इतिहासमा सबैभन्दा छिटो रातो कार्ड पाउने खेलाडी उरुग्वेका जोसे बाटिस्टा हुन्। उनले खेल सुरु भएको एक मिनेटमा नै रातो कार्ड पाएका थिए। 

सन् १९८९ मा समूह चरणमा स्कटल्याण्डविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए। खेल सुरु भएको केही सेकेण्डमा नै मिडफिल्डर गोर्डन स्ट्राचनलाई खराब ट्याकल गरेपछि ५६ सेकेण्डमा नै बाटिस्टाले रातो कार्ड पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .