ad ad

सुदूरपश्चिम


दसैँको छेकोमा नाचिने सुदूरपश्चिमको सखिया नाचको मौलिकता हराउँदै

दसैँको छेकोमा नाचिने सुदूरपश्चिमको सखिया नाचको मौलिकता हराउँदै

नेपालखबर
असोज १६, २०७९ आइतबार ११:३६, काठमाडौँ

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका निरकुमार चौधरीले गाउँमा दसैँको छेकोमा नाचिने सखिया नाच नदेखेको दुई दशक भन्दा बढि भइसक्यो। वि.सं. २०५४ सालतिर गाउँमा सखिया नृत्य भएको उनलाई सम्झना मात्रै छ।

त्यसयता गाउँमा सखिया नाचेको नदेखेका निरकुमारको गाउँ बल्मीमा यसपटक पनि सखिया नृत्य नहुँदा उनलाई दसैँ आएको जस्तै लागेको छैन।

थारु बस्ती दसैँ सुरु हुनु भन्दा एक महिना अगाडिदेखि नै सखियामा झुम्थे। मौलिक संस्कृति बोकेको सखिया नाचमा पछिल्लो समय कमी आएको छ।

‘विगतमा सखिया नृत्यले थारुबस्तीहरुमा रौनक छाएको हुन्थ्यो, अहिले त्यस्तो छैन, केही केही ठाउँमा मात्रै नाच्ने गरिएको छ,’ निरकुमार भन्छन्, ‘नयाँ पुस्ताले सखिया गीत नाच्न र नृत्य गर्नै जान्दैनन्, बरु डिजे राखेर नाच्ने गर्दछन् ।’

थारु समुदायका महिलाले सामुहिक रुपमा घरघरमा गएर कृष्ण जन्माष्टमीका दिनदेखि दशैंसम्म नृत्य देखाउने प्रचलन छ। पुरुष सेतो धोती र कमिज तथा महिलाहरु रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया लगायत परम्परागत पहिरनमा सजिएका हुन्छन्।

पछिल्लो समय सखिया नृत्य दिन छोट्याएर औपचारिकताका लागि एक÷दुई मात्रै नाचिने गरिएको भीमदत्त नगरपालिका–१८ ग्रीन टोलका बिपता रानाले बताए।

‘सखिया नाच नगरे गाउँमा अनिकाल पर्ने तथा महामारी फैलने जनविश्वास छ, नृत्य सुरु गर्नु पूर्व गुरुवाको अनुमति लिनुपर्ने पर्छ,’ उनी भन्छन्, ‘महाभारत तथा रामायणमा आधारित गीतहरु गाइन्छन् ।’

उनका अनुसार नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ र नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने भने त्यसकोे तालमै ताल मिलाउदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको भीमदत्त नगरपालिका–१८ ग्रिन टोलकै हरीसिंह डगौरा बताउँछन्। 

उनका अनुसार नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्नेलाई मोह्रिन्या र उसको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भनिन्छ । विशिष्ट सांस्कृतिक तथा मौलिक पहिचान बोकेको संस्कृति सखिया नाच हराउँदै गएपछि थारु समुदायका बुढापाका चिन्तित भएका छन्।

‘अहिलेको पुस्ताले गीत, मादल बजाउन  र नाच्न सिकेको भए हुन्थ्यो, तर सिक्नै मान्दैनन्,’ सखिया नाचका जानकार लालझाडी गाउँपालिका–३ छोटी पर्सियाका घनाराम चौधरीले भने, ‘बुढापाकाबाट अहिले नसिके संस्कृत कसरी बच्छ ? यस्तै भयो भने आउने पुस्तासम्म संस्कृति रहदैन ।’

नयाँ पुस्तालाई यो संस्कारको महत्व थाहा नहुनु, सखिया नृत्यमा गाइने गीत गाउन नजान्नु र आयातित संस्कृतिमा आकर्षित हुनुले सखिया नाच हराउँदै गएको सखिया उनको भनाइ छ। 
सखिया नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य गर्दछन्। जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ। पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीले आफैँ सृजना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारु अगुवाको भनाइ छ।

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेश गर्नुपर्ने हुन्छ। सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ।

अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको जानकार घनाराम चौधरीले बताए। ‘अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई नवमी र दशैंमा दिउसो नाच्ने गरिन्छ,’ उनले भने, ‘बडघरसँग टीका थाप्न जाँदा समेत सखिया लगायतका परम्परागत नृत्य लगेर देखाउने चलन छ ।’

नयाँ पुस्ताले मौलिकता बिर्संदै जाँदा विस्तारै यो संस्कृति लोप हुँदै जाने भएकाले संस्कृति जर्गेनाका लागि थारू समुदाय मात्र नभएर स्थानीय सरकारले पहल कदमी लिन जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .