राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमका ९ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
रास्वपा सुदूरपश्चिम सभापति प्रकाश बिष्टका अनुसार केही जिल्लामा निर्वाचन र केही जिल्लामा सर्वम्मतिमा नेतृत्व चयन गरिएको हो। जिल्ला सभापतिमा युवादेखि पाका व्यक्तिसम्म अटाएका छन्।
रास्वपा कैलालीको सभापतिमा युवा नेता कविन्द्र ठकुल्ला ३३५ मतसहित निर्वाचित भए। सभापतिमा प्रतिस्पर्धा गरेका महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका छन्।
सभापतिका उम्मेदवार चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक र मतदाता नामावलीमा धाँधली भएको भन्दै चुनाव बहिष्कार गरेका थिए।
लिखित असहमति दर्ज गराएर उनीहरू निस्किएपछि मतदान प्रक्रिया अघि बढाइएको थियो। एकलौटी गरेपछि मतदान बहिष्कार गरेका उनीहरुले रास्वपा केन्द्रीय कमिटी, केन्द्रीय निर्वाचन समिति र अनुशासन विभागमा निवेदन दिएका छन्।
पहिलो अधिवेशनबाट उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन्। उनले १५२ मत ल्याएका थिए।
सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन्। कुल ५०८ मतदाता रहेकोमा ३३५ मत खसेको थियो।
सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दिपक विक, नरदिपबहादुर धामी विजयी भएका छन्।
यस्तै, कैलाली-१ को निर्वाचन क्षेत्र सदस्यमा टंकप्रसाद जैशी ढुंगाना, २ को कृष्णबहादुर बिष्ट, ३ को वासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।
नेतृत्व चयन गर्न कञ्चनपुरमा पनि निर्वाचन भएको हो। रास्वपा कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट दोहोरिएका छन्।
सभापतिमा बिष्टले १ सय ९७ मत ल्याएका थिए। सभापतिका अर्का उम्मेदवार नवीन चन्दले ६१ मत मात्र ल्याए। यसै गरी सचिवमा राकेशबहादुर चन्द निर्वाचित भएका छन्। चन्दले १ सय ९५ मत ल्याए भने सचिवका अर्का उम्मेदवार रामदत्त भट्टले ५५ मत ल्याए।
रास्वपा बाजुराको सभापतिमा नवराज जैशी दोहोरिएका छन्। पार्टीको जिल्ला कार्य समिति उपभापतिमा पूर्णलाल पाण्डे, सचिव विक्रम गुयाल, सहसचिव विर्ख विष्ट र कोषाध्यक्ष सिता बुढा (ओली) सर्वसम्मत रूपमा चयन गरिएको छ।
सचिवका आकांक्षी तत्कालीन कार्यवाहक सचिव मीनबहादुर सिंहले सहमति र विधि प्रक्रिया विपरीत सचिव पदमा विक्रम गुयाललाई चयन गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
अधिवेशनबाट आफूलाई नेतृत्वबाट बाहिर राखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीभित्र आफ्नो लामो समयको योगदान, सक्रियता र लगनशीलतालाई बेवास्ता गरिएको उनको आरोप छ।
रास्वपा अछामको जिल्ला सभापतिमा युवा ओमप्रकाश रावल दोहोरिएका छन्। उपसभापतिमा टंक धामी चयन भएका छन्।
धामी नेपाली कांग्रेस पार्टी छाडेर तीन दिनअघि मात्रै रास्वपा प्रवेश गरेका थिए। सचिवमा बमबहादुर रावल र सहसचिवमा लक्ष्मण कुँवर चयन भएका छन्।
जिल्ला कार्यसमिति सदस्यहरूमा प्रेमबहादुर बयक, इन्द्रसिंह विक, एलिना शाह, कमला शाही र ज्ञानकुमारी कुँवरलाई चयन भएका छन्।
रास्वपा डोटीले युवा नेतृत्वलाई दोहोर्याएको छ। युवा नेता केशव बलायर सभापतिमा सर्वसम्मत पुन: चयन भएका छन्।
डोटीको शिखरनगरपालिका-११ निवासी बलायर रास्वपा डोटीका संस्थापक सदस्य हुन्। २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बलायर रास्वपाको तर्फबाट उम्मेदवारसमेत भएका थिए।
पहिलो अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा बिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा मोहना साउँद, टेक बोगटी, इन्द्र खड्का, खिमबहादुर बिठाडी, लाल भुल, केशव परियार, कविरामखत्री र सन्तोष भण्डारी छन्।
बझाङमा युवा सत्यराज उपाध्याय दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मति चयन भएका छन्।
उपसभापति र सचिव पदका लागि भने निर्वाचन भएको थियो। निकै प्रतिस्पर्धात्मक देखिएको उपसभापतिमा रामबहादुर देवार ९९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए।
उनका प्रतिस्पर्धी अरुणकुमार रोकायाले ८८ मत प्राप्त गरेका थिए। यस्तै सचिवमा अशोक मल्ल ११६ मतसहित निर्वाचित भए।
उनका प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरेका थिए। सहसचिवमा मुकेश ऐडी, कोषाध्यक्षमा आरती भाट जप्रेल चयन भएका छन्।
रास्वपा दार्चुलाको सभापतिमा राजेशसिंह सामन्त सर्वसम्मतरूपमा दोहोरिएका छन्। समितिको उपसभापतिमा सुरेन्द्रबहादुर खडायत, सचिवमा राजेन्द्र पन्त, सहसचिवमा धीरेन्द्रसिंह बिष्ट सर्वसम्मत चयन भएका छन्।
बैतडीको सभापतिमा भीम नाथ दोहोरिएका छन्। उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्।
सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन्।
रास्वपा डडेल्धुरामा इन्जिनियर सुरेन्द्र अवस्थी जिल्ला सभापति चयन भएका छन्। उपसभापतिमा मदन धामी, सचिवमा टंक आशिम अवस्थी र सहसचिवमा बसन्त पाण्डेय चयन भएका छन्।
Shares

प्रतिक्रिया