ad ad

Uncategorised


मावलीबुबासँग जोडिएका स्मृतिहरू

मावलीबुबासँग जोडिएका स्मृतिहरू

प्रल्हाद गैरापिप्ली
बैशाख १३, २०८० बुधबार १६:४७, काठमाडौँ

सामिप्यता 
प्रायः धेरै ठाउँहरूमा बुढामावली घरका बुबा–आमाहरूलाई मावलीबुबा, मालीआमा भनेर सम्बोधन गरेको भेटिँदैन। अन्यत्रबाट विवाह गरेर हाम्रो गाउँमा आउनुभएका भाउजु–बुहारीहरू यो नाता सम्बोधनबाट केही अचम्मित हुनुभएको अनुभव पनि छन्।

फेरि हामीलाई बुढामावल जानको लागि दशैँ नै आउनु पर्दैन। एकै गाउँ–एकै ठाउँ, एउटै भावना– अनि हरेक चाडपर्व, तिथि, श्राद्ध, संक्रान्ति जस्ता प्रत्येक पर्वहरूमा हामी बुढामावल गै रहन्छौँ। हाम्रो बारम्बारको बुढामावलसँगको घुलमिलले हाम्रो जीवनमा गहन छाप परेको छ। 

चारजना मावलीबुबाहरू र आमाहरू– चारैजना बुबा–आमा सरह रहनुभयो र हुनुहुन्छ पनि। दाइदिदीहरू हामी सबै एकै परिवार सरह छौं।

यो सम्बन्धलाई सुमधुर बनाउने हाम्रो आमा (हजुरआमा), जसलाई बुढामावलमा सबैजना माइलीदिदी भन्नुहुन्थ्यो, उहाँको विशेष देन छ। आमाको स्वधाम गमनपछि पनि हाम्रो सामिप्यता एकनास छ, यो सम्पूर्ण पितृहरूको आशीर्वाद र गुरुकृपाको संयोग हो भन्दा अत्युक्ति नहोला।

बालपनको स्मृति

म सानो छँदाको धेरै स्मृतिहरूमा मुकुन्द मावलीबुवा हार्माेनियम वा तबला बजाइरहनुभएको र भजन–कीर्तनमै रहनुभएको याद छ।

दामोदर हजुरबुबा र उहाँको जोडी भजनघरमा भानिजदाइको सामिप्यमा रहनुभएको अनि त्यो हरिनाममय आनन्दको अनुभूति गर्ने भक्तजनहरूको घुइँचो, भाव–भक्ति, एउटा छुट्टै प्रकृतिको हुन्थ्यो, जुन अहिले बिरलै देख्न पाइन्छ। विशेषतः औंशी, झुला महोत्सव, गोवर्धन पूजा, पुरुषोत्तम महिना, निकुञ्ज, वन संकीर्तन, दशैँ, होली, आदिका उत्सवहरु खूब धुमधामका हुन्थे।

अहिले समयले हरेक क्षेत्रमा निकै कोल्टे फेरिसकेको छ। यातायातका स्रोत साधन र भौतिक पूर्वाधार आदिले निकै फड्को मारेको समय छ। तर कताकता त्यो बालमानसपटलमा बसेका दिव्य संकीर्तनका स्मृतिका झलकहरू यी नयनले खोजिरहन्छन्।

एउटा पुरानो स्मृति
वि.सं. २०४५ जेष्ठ महिनामा बुबाको सखापूजा भएको रहेछ। त्यसमा अमरनिवासबाट धेरै सज्जन भक्तबृन्दहरू फूलमाला, दहीको ठेकी आदि लिएर सहभागी हुनुभएको रहेछ। त्यहाँको सम्पूर्ण कार्यक्रम अडियो रेकर्ड भएको टेप हाम्रो घरमा थियो। पछि हामी तातोपानी गएर फर्कंदा क्यास्केट किनेर ल्याएपछि श्रवण गर्ने प्रबन्ध मिल्यो। त्यसमा हजुरबुबाका वाणीहरू रहेछन्। 

हजुरबुबाबाट बुबालाई भनिको थियो– ‘हामी पनि चार भाइ, मुकुन्दहरू पनि चारभाइ, तपाईंहरू पनि चारभाइ। हामी सबैका काँधहरू हरिनाम संरक्षण र सम्वर्धनमा लाग्नुपर्छ।’ 

पछि त्यो दिव्य कार्यक्रमको तस्वीरहरू संकलन भएको एउटा एल्बम भेटियो र सम्पूर्ण अमर अग्रजहरूको पुरानो स्मृतिको थाहा पाउने सौभाग्य मिल्यो। जसको एक प्रति जहाँ बुबाहरूसँगै मावलीबुबाको दर्शन मिल्छ– त्यो तस्वीर स्मारिकामा पनि संग्लन गरिएको छ।

तीनधाम यात्रामा मावलीबुवा 
वि.सं.२०६४ सालमा म स्नातक तह पहिलो वर्ष पढ्दै थिएँ। त्यो साल मलाई नारायण महायज्ञको साथ तीनधाम यात्रामा सहभागी हुने मौका मिल्यो। यात्रामा सहभागी अमरनिवासीहरू मध्ये म सबैभन्दा सानो अनि त्यहाँभन्दा पहिला लामो यात्रा नगरेको र नारायण महायज्ञमा सेवा गर्ने अवसर नजुरेकोमा पनि मै पर्दथेँ।

त्यसमा मुकुन्द मावलीबुवा पनि हुनुहुन्थ्यो। उहाँले मलाई हरेक समयमा भेट हुँदा र सँगै कीर्तनमा सहभागी हुँदा पनि बुबा–हजुरबुबाको उदाहरण दिँदै त्यसलाई निरन्तरता दिन भनिरहनुहुन्थ्यो।

यात्रामा अजित बाबु, मावलीबुबा र मोहनदाइ सिङ्गोटोलीको अगुवाई गरिरहनुहुन्थ्यो। काठमाडौं, हेटौँडा, पनौती, भण्डारीगाउँ, अमरनिवास आदि स्थानबाट रामका अनुयायीहरू सहभागी हुनुहुन्थ्यो। विशेषतः उमेरमा सानो अनि लामो यात्राको अनुभव नहुँदा मलाई कुनै समय स्वास्थ्य प्रतिकुल हुन्थ्यो। अरू बुबाहरूसँगै मावलिबुबा अभिवावकको भूमिका निर्वाह गर्नुहुन्थ्यो। 

यात्रामा मावलीबुबाले प्रभातीको समयमा प्रायः हार्माेनियम बजाउनुहुन्थ्यो। आफ्नो अनुभव र नेतृत्वबाट नयाँ र जटिल स्थान परिवेशहरूमा पनि सबैलाई सहज हुने बातावरण बनाउन उहाँ सधैँ लाग्नुहुन्थ्यो। उहाँले हातमा एउटा छरितो झोला बोक्नुभएको हुन्थ्यो। उहाँको नेतृत्वदायी भूमिका, स्वर र सरलताको धेरैजनाले प्रशंसा गर्नुभएको सुनिरहेको म त्यो यात्राबाट प्रत्यक्ष अनुभव गर्न पाएँ।

हेटौँडाको नारायण महायज्ञ
पुनः वि.सं. २०६६ सालमा हेटौंडाको नारायण महायज्ञमा मलाई मावलीबुबासँगै सहभागी हुने अवसर मिल्यो। जहाँ मावलीबुबाले हार्माेनियम बजाउनुहुन्थ्यो, रामचन्द्र दाइको तवला अनि श्रीराम मामाको झ्यालीको साथ मैले पूजाआरति गरेको पल पनि स्मरणीय छ। 

यसरी सँगै रहँदा प्रत्येक दिन साँझ बिहानको खाली समयमा मावलीबुबाले मलाई बुबा–हजुरबुबाले विभिन्न स्थानहरूमा गरेका कुराहरू, भएका प्रेरणादायी अनुभवहरू र आनन्दका पलहरू बारम्बार सुनाइरहनुन्थ्यो। र त्यसप्रति समर्पित हुन घच्घच्याइ रहनुहुन्थ्यो।

जीवनको गोरेटो र विधिको विधान 
जीवनमा को, कैले, के र कसरी बन्ने जस्ता धेरै कुराहरू समय र भाग्य मिलेर पनि निर्धारण गर्ने रहेछन्। जीवनरुपी रथ कोल्टे फेर्दै गुडिरहन्छ।

सधैँ सत्य र धर्मको पक्षमा निर्भीक बन्न प्रेरणा दिनुहुने अनि कुलको मर्यादा पालना गर्न बारम्बार झकझक्याइ रहनुहुने श्रद्धेय मावलीबुबा म लगायत मेरो उमेर समूहका धेरै साथीहरूको जीवनमा विशेष गरी हरिनाम संकीर्तन र भानिजदाईको मर्यादा पालनाको लागि प्रेरणाको स्रोत हुनुहुन्छ। 

उहाँको शुभआाशिर्बाद र प्रेरणा सदासर्वदा अमूल्य छन्। विधिको विधान– आज उहाँको निधन भएको एक वर्ष पुगिसकेको छ। मावलीबुबाको स्वधाम गमनको वार्षिक पुण्यतिथिमा सम्झिएको छु।

प्यारो दाजु उमेश– जसले आफ्नो पैत्रिक सम्पति र मावलीबुबाको समवेदनालाई हरि स्मृतिमा समर्पण गर्नुभएको छ। हामीलाई समेत यसमा सहभागी हुने अवसर मिलेको छ। विशेषतः दाजु, अनि बुढामावलको सपरिवार र मावलीबुबाको स्मृति ग्रन्थ प्रकाशन गर्न हर तवरबाट सहायता दिनु हुने सम्पूर्णलाई आभार प्रकट गर्दछु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .