आज (बुधबार) काठमाडौँ उपत्यका (पहाड) को तापक्रम गर्मी ठाउँ ठानिने बाँकेको नेपालगन्ज (तराई) मा भन्दा बढी देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज नेपालगन्जमा भन्दा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम बढी देखिएको हो।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २६.३ डिग्री सेल्सियस छ भने नेपालगन्जको अधिकतम तापक्रम २६.२ डिग्री सेल्सियस छ।
अर्थात् तुलनात्मक रूपमा चिसो मानिने काठमाडौँ उपत्यकामा भन्दा तातो मानिने नेपालगन्जमा अधिकतम तापक्रम प्वइन्ट १ ले भए पनि बढी देखिएको हो।
किन?
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, ‘आज काठमाडौँ उपत्यकामा दिनभर टन्टलापुर घाम लाग्यो भने नेपालगन्जमा मौसम बदली (आकाशमा बादल) भएको हुनसक्छ, त्यसकारण आज त्यहाँ (नेपालगन्जमा) काठमाडौँ उपत्यकामा भन्दा कम अधिकतम तापक्रम देखिएको हो।’
उनका अनुसार अहिले सबैभन्दा बढी गर्मी जनकपुरमा देखिएको छ। मौसम महाशाखाका अनुसार आज जनकपुरको अधिकतम तापक्रम २९.७ डिग्री सेल्सियस छ।
‘जनकपुरमा दिनभर घाम लाग्यो, त्यही भएर त्यहाँ अधिकतम तापक्रम यति धेरै देखियो’, मौसमविद् मानन्धरले भनिन्, ‘नेपालगन्जमा पनि दिनभर घाम लाग्न पाएको भए योभन्दा पनि बढी तापक्रम देखिन्थ्यो।’
अहिले पश्चिमी वायुको प्रभाव पूर्वतर्फ भन्दा पश्चिमतर्फ बढी रहेकाले मौसम बदली पनि पश्चिमतर्फ नै बढी भएको मौसमविद् मानन्धरको भनाइ छ।
उनका अनुसार विन्टर अर्थात् हिउँदयाम सकिएर प्रिमनसुन सिजन सुरु भइसकेकाले देशभर नै तापक्रम क्रमशः बढिरहेको छ। ‘बिहान बिहान चिसो पनि अब केही दिनलाई मात्र हो’, उनले भनिन्, ‘अब मौसम गर्मीतर्फ गइसकेको छ।’
यही मार्च १ देखि प्रिमनसुन सिजन लागेको हो।
मौसमविद्का अनुसार प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म प्रिमनसुन मानिन्छ।
नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो। त्यसअघिसम्मलाई प्रिमनसुन नै मानिन्छ।
मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, त्यसअघिसम्म मनसुन रहन्छ भने त्यसपछि पोस्ट मनसुन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ।
त्यसपछि फेरि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।
Shares
प्रतिक्रिया