ग्लोबल


मोदी उदयका ‘मास्टरमाइन्ड’

अमित शाह जहिले लामो खेल खेल्छन्, मोदीका ‘कमान्डर इन चिफ’ हुन्
मोदी उदयका ‘मास्टरमाइन्ड’

सन् २०१९ मा भाजपाले चुनाव जितेपछि नरेन्द्र मोदी र अमित शाहले सँगै उत्सव मनाएका थिए (वासिङ्टन पोस्ट)


गीता पाण्डे
बैशाख २१, २०८१ शुक्रबार १९:३५,

कीर्तिमानी तेस्रो कार्यकालका लागि चुनाव जितियो कि जितिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन महिनाको सुरुवातमा थाहा पाउनेछन्।

एक दशक सत्तामा रहिसकेका उनी यतिबेला सर्वत्र छन्। उनी जहाँजहाँ पुग्छन्, उनको छेउमा अर्का एक नेता हुन्छन्, जो भारतीय जनता पार्टी (भाजपा)को असाधारण उदयका ‘मास्टरमाइन्ड’ पनि मानिन्छन्। तर, उनको चर्चा त्यति धेरै हुँदैन।

उनी हुन्– अमित शाह। जसलाई प्रायः भारतको ‘दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति’ भन्ने गरिन्छ। उनी मोदीका पुराना मित्र र सबैभन्दा निकट विश्वासपात्र हुन्। चुनावमा भाजपाको जितको जिम्मेवार पनि उनैलाई मान्ने गरिन्छ।

कट्टर हिन्दु राष्ट्रवादी शाहलाई धेरैले अमितभाइ भनेर सम्बोधन गर्छन्। उनले भाजपालाई अनेकौँ चुनाव जिताएका छन्। मोदीजस्तो ‘स्टार पावर’ उनको छैन। उनी व्यक्तिगत कुरा गुपचुप राख्न रुचाउने नेता हुन्। तर, उनी उत्कृष्ट संगठक, चुनावी रणनीतिकार, चतुर राजनीतिज्ञ र मोदीजस्तै निकै विभाजनकारी व्यक्तित्व हुन्।

समर्थकहरू उनलाई ‘हिन्दुत्वको महान रक्षक’ मान्छन् तर विरोधीहरू उनमा डरलाग्दो शत्रु देख्छन्।

कस्मिरको आंशिक स्वायत्तता रहेको संविधानको धारा खारेजी र मुस्लिमप्रति भेदभाव गर्ने भएको आरोप लागेको नयाँ नागरिकता कानुनजस्ता भारतका सबैभन्दा विवादास्पद कानुनका पछाडि उनकै हात रहेको आलोचकहरूको भनाइ छ। 

स्कुल पढ्दादेखि र राजनीतिको सुरुमा उनको संगत गरेका साथी र सहकर्मीहरूले उनको जीवनको बारेमा दुर्लभ जानकारी दिएका छन्। तीमध्ये कतिपय शाह केही समय जेल पर्दा उनको पक्षमा खडा भएका थिए। उनीहरूले उनको सफलताको रहस्य, पार्टी कार्यकर्ताप्रति उनको वफादारी, प्रेम र मेहनत गर्ने जाँगरबारे पनि कुरा गरे।

प्रमुख रणनीतिकार
अमित शाह पहिलोपटक राष्ट्रिय मञ्चमा एक दशकअघि देखा परेका हुन्, जतिबेला भारतको चुनावी राजनीतिका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण राज्यमा भाजपालाई उनले जित दिलाए।

वर्षौंसम्म उत्तर प्रदेश भाजपाको हातमा नजाने राज्यका रूपमा चिनिन्थ्यो। तर, २०१४ को आम चुनावमा भाजपाले यहाँका ८० मध्ये ७१ सिट जित्यो। त्यो अभूतपूर्व जित थियो।

‘शाहलाई ईश्वरको वरदान छ। उनको दिमाग चाणक्यको भन्दा तीक्ष्ण छ,’ कानुन व्यवसायी तथा भाजपाका पूर्वनेता यतिन ओझा भन्छन्।

दशकौँसम्म अमित शाहको निकट रहेर काम गरेका उनले शाहलाई २ हजार वर्षअघि भारतवर्षको पहिलो साम्राज्यका रणनीतिकार चाणक्यसँग तुलना गरेका थिए। पछि शाहसँग मनमुटाव भएपछि ओझाले उनको साथ छाडे। चुनावी जितमा शाहको खुबीले काम गरेकोमा उनका मित्र र शत्रु दुवै सहमत हुन्छन्।

२०१४ को सफलताकै आडमा उनले उत्तर प्रदेशको विधानसभामा २०१७ र २०२२ मा ऐतिहासिक जित हात पारे। २०१९ को आम चुनावमा पार्टीलाई उनले अझ ठूलो जित दिलाए।

सुरुदेखि नै कुनै दिन अमित शाहको हातमा बागडोर आउने आफूलाई थाहा भएको यतिन ओझा बताउँछन्।

‘मैले उनमा त्यो झिल्को देखेँ, त्यो राजनीतिक चलाखी देखेँ। भोलि ठुल्ठूला रेस जित्ने घोडा उनमा देखेँ,’ उनी भन्छन्।

गुजरातको अहमदावादमा भाजपाका पार्षद हुन्, देवांग दानी। उनले अमित शाहलाई चिनेको ३० वर्षभन्दा बढी भयो। 

‘जहिले पनि आफ्नो उम्मेदवारलाई जिताउनु उनको प्राथमिकता रहन्छ। गाउँ परिषद् होस् कि संसद्, कुनै पनि चुनावलाई उनी सानो ठान्दैनन्,’ दानी भन्छन्, ‘अमित भाइ हरेक युद्ध जित्न चाहन्छन्। मोदी र अमित शाहकै कारण १९८४ मा २ सिटमा सीमित भाजपाले २०१९ मा ३०३ सिट जित्यो।’

२०१९ मा चुनावी नतिजा घोषणा भएको दिनको यस तस्बिरले अमित शाहको करिअरको सबैभन्दा प्रमुख सफलतामध्ये एकलाई दर्शाउँछ। दिल्लीस्थित पार्टी कार्यालयमा आफ्नो कार प्रवेश भइरहँदा उनी मक्ख छन्। किनभने, विद्यार्थी राजनीतिबाट सत्ताको उपल्लो कुर्सीसम्मको उनको उल्लेखनीय यात्रा पूरा भएको थियो।

जहाँबाट भएको थियो सुरुवात
अमित शाहको जन्म २२ अक्टोबर १९६४ मा गुजरातको सानो सहर मनसामा भएको थियो। उनका बुवा अनिलचन्द्र पीभीसी पाइप बनाउने एउटा सानो व्यवसाय चलाउँथे। आमा कुसुमबेन गृहणी थिइन्।

बाल्यकालका उनका साथी सुधीर दर्जी शाहको आफ्नो पुर्ख्यौंली भूमिसँग बलियो नाता रहेको र बारम्बार मनसा आइरहने बताउँछन्। उनी हामीलाई त्यो ठाउँमा घुमाउँछन्, जहाँ अमित शाह बस्थे। जहाँ साथीहरूसँग क्रिकेट र गुच्चा खेल्थे। उनी १६ वर्ष पुगेपछि उनको परिवार गुजरातको सबैभन्दा ठूलो सहर अहमदावाद बसाइँ सर्‍यो। 

हामी शाहका काकाको घर हुँदै उनको पुरानो घर पुग्छौँ। नजिकै प्राथमिक स्कुल छ। जहाँ अमित शाह र दर्जी सँगै पढ्थे। स्कुलको चौर, कक्षाकोठा, खेलौनाहरू भएको आलमारी र स्कुलको घण्टी, आधा शताब्दीपछि पनि उस्तै छ।

दर्जीका अनुसार, बाल्यकालमा शाह निकै शान्त स्वभावका थिए। अरू विद्यार्थीले उनलाई सताउँथे। उनको पाटी फुटाइदिन्थे, खाजा चोरिदिन्थे। खराब व्यवहार गरेको भन्दै दुवै केटाहरूलाई बारम्बार हेडमास्टरको कार्यालयमा पनि उभ्याइन्थ्यो।

एक रथका दुई पांग्रा
नरेन्द्र मोदीसँग अमित शाहको पहिलो भेट १९८२ मा अहमदावादमा भयो। जतिबेला शाह राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा आबद्ध भए।

मोदी आरएसएसको प्रचारक थिए। उनले अनुज शाहलाई भाजपाको विद्यार्थी संगठन एबीभीपीमा संगठित हुन सल्लाह दिए।

मोदी र शाह दुवै माथिल्लो पदमा उक्लिँदै गए र यिनीहरूको निकटता पनि बढ्दै गयो। समर्थकहरू उनीहरूलाई ‘रथका दुई पांग्रा’ भन्छन् र राम–लक्ष्मणसँग तुलना गर्छन्।

मोदी र शाहको जोडी एकदम गज्जबको भएको २००० को दशकको सुरुमा गुजरातमा टाइम्स अफ इन्डियाका सम्पादक रहेको वरिष्ठ पत्रकार किङ्सुक नाग बताउँछन्। मोदी सार्वजनिक रूपमा देखिन्थे, चर्चा र प्रशंसा रुचाउँथे। अमित शाह ‘निजी, लजालु’ प्रकृतिका थिए, उनी चर्चाबाट टाढा रहन्थे।

शाहले पर्दापछाडि बसेर काम गरे। पार्टीको जग बसाले, मित्र र अनुयायीहरू कमाए र चुनावमा विपक्षीहरूलाई हराए।

‘शाहको महत्त्व के हो भने उनी मोदीका लागि काम गर्न सक्षम छन्। मोदीले गर्न नसक्ने अनेक काम शाह गर्न सक्छन्। उनी मोदीका लागि उपयोगी छन्। उनी त्यस्तो रोलर हुन्, जसले मोदीको मार्गमा देखा पर्ने बाधाहरूलाई निमिट्यान्न पार्न सक्छन्,’ नाग भन्छन्।

कतिपय आलोचक उनका बारेमा खुलेर कुरा गर्न चाहँदैनन्। उनीहरू डराउँछन्। कतिपय कर्मचारीले त ‘उनको भयानक नजर, कठोर आँखा र रित्तो अनुहार देख्दै’ आफू तर्सिने पनि बताए।

गुजरात दंगाको एक दृश्य

गुजरातमा आयो राजनीतिक कौशलमा निखार
अमित शाहले आफ्नो राजनीतिक कौशल गृहराज्य गुजरातमा सिके। विस्तारै उनले आफूलाई नरेन्द्र मोदीको दाहिने हातका रूपमा स्थापित गरे।

‘प्रतिभा पहिचान गर्न उनी खप्पिस थिए र सम्भावना भएका युवालाई अघि सार्थे,’ अमितलाई १९८७ देखि चिनेका र उनका निकट सहयोगी रहिसकेका आरडी देसाई भन्छन्, ‘तर राजनीतिमा प्रवेश गरेको डेढ दशकसम्म उनले एउटा पनि चुनाव लडेनन्। पहिले संगठन बनाउँछु भनेर लागे।’

उनका पुराना परिचितहरू सबैले व्यक्त गर्ने धारणा यही हो– अमित शाह जहिले पनि लामो खेल खेल्छन्।

पहिलोपटक उनी १९९७ मा गुजरात विधानसभामा निर्वाचित भए। मोदीले उनलाई सरखेज निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएका थिए।

१९९८, २००२ र २००७ सम्म उनी त्यहीँबाट निर्वाचित भए। २००८ मा सो चुनाव क्षेत्र हटेपछि उनी नजिकैको नारणपुरा सरे। उनले २०१४ को आम चुनाव लडेनन्। तर, २०१९ मा उनी गान्धीनगरबाट लोकसभामा चुनिए। यसपटक पनि उनी त्यहीँ उठेका छन्।

२००२ को फेब्रुअरीमा भएको धार्मिक दंगाले मोदी–शाह सम्बन्ध हुर्किने मौका दियो। सो दंगामा १ हजारभन्दा बढी मारिए, जसमध्ये अधिकांश मुस्लिम थिए।

मोदी त्यतिबेला गुजरातको मुख्यमन्त्री थिए। यो रक्तपात रोक्न नसकेकोमा उनको आलोचना हुने गर्छ। उनले कुनै गल्ती नगरेको दाबी गरे र अदालतले पनि उनलाई पछि सफाइ दियो।

दंगापछिको विधानसभा चुनाव भाजपाले जित्यो र अमित शाह झण्डै एक दर्जन मन्त्रालयको नेतृत्व लिँदै मन्त्री बने।

उनको नेतृत्वमा रहेको गृह मन्त्रालयअन्तर्गतका प्रहरी तथा अभियोजनकर्ताले फितलो अनुसन्धान गरेको भन्दै सर्वोच्च अदालतले आलोचना गर्‍यो। यसलाई ‘न्यायको विचलन’ भन्दै सर्वोच्चले दुई ठूला मुद्दाको सुनुवाइ गुजरातबाहिर सार्‍यो। अदालतमै गुजरात सरकारले स्वीकार गर्‍यो, उजुरी दर्तामा प्रहरीको र साक्षी प्रमाण राख्ने सवालमा अभियोजक पक्षको कमजोरी भयो।’

पछि दंगा भड्काउन भूमिका खेलेको भन्दै अमित शाहमाथि नै आरोप लाग्यो, जसलाई उनले अस्वीकार गरे। तर, ती आरोपहरूमाथि उचित जाँच कहिल्यै गरिएन।

वरिष्ठ पत्रकार राजीव शाहले टाइम्स अफ इन्डियामा लेखेअनुसार, उनको अपार्टमेन्ट सरखेजमा थियो। उनले सो क्षेत्रमा शान्ति कायम गर्न आग्रह गर्दा शाहले उल्टै सोधे– तपाईंको घर हिन्दुबहुल क्षेत्रमा छ कि मुस्लिमबहुल क्षेत्रमा?

‘जब मैले ठाउँ बताएँ, उनले जवाफ दिए- ‘चिन्ता नगर्नुस्। तपाईंलाई केही हुँदैन। जे जति हुन्छ, अर्कोपट्टि हुन्छ।’

यसबारे प्रतिक्रिया लिन खोज्दा उनको कार्यालयबाट कुनै जवाफ आएन।

हत्या आरोप र जेल
अमित शाहको जिन्दगीमा २००८ बाट उथलपुथल आउन सुरु भयो। २००५ मा भएको शोहराबुद्धिन शेख र उनकी पत्नी कौसर बाईको गैरन्यायिक हत्याको आरोप उनीमाथि लाग्यो। 

शाहले राजनीतिक प्रतिशोधयुक्त भन्दै आरोप खारेज गरे। तर, २०१० मा उनलाई हत्या तथा अपहरणको अभियोगमा गिरफ्तार गरियो।

त्यतिबेलासम्म उनलाई मुख्यमन्त्री मोदीको भावी उत्तराधिकारीको रूपमा हेरिन्थ्यो। तर, उनले गुजरातको गृहमन्त्रीबाट राजीनामा दिनुपर्‍यो। उनले तीन महिनाभन्दा ज्यादा समय जेलमा बिताए।

धरौटीमा रिहा भएपछि उनलाई अदालतले गुजरात छाड्ने आदेश दियो। ताकि उनले साक्षीहरूलाई प्रभावित पार्न नसकून्।

गत डिसेम्बरमा उनले जेल बसाइ सम्झिँदै भनेका थिए, ‘त्यो कठिन समय थियो, म पाँच मिनेटमा जेल हेर्ने मन्त्रीबाट कैदी बनेँ।’

१९८८ देखि उनलाई चिनेका हितेश बरोट यसलाई ‘ईश्वरले लिएको परीक्षा’ भन्छन्। ‘यो मुद्दामा उनको कुनै सरोकार थिएन, फर्जी आरोप थियो,’ उनले भने। 

‘शाहले सो प्रतिकूलतालाई अनुकूलतामा बदले,’ रिहा भएपछि दिल्लीमा उनलाई भेटेका देसाई भन्छन्, ‘उनले ‘यो समयलाई म आफूलाई दिल्लीमा स्थापित गर्न उपयोग गर्छु र कंग्रेस पार्टीलाई सत्ताबाट हटाएर मोदीलाई गद्दीमा राख्नेछु’ भनेका थिए।’

मोदी प्रधानमन्त्री भएको ६ महिनापछि डिसेम्बर २०१४ मा अदालतले शाहलाई सफाइ दियो। न्यायाधीश एमबी गोसावीले यो आरोप राजनीति प्रेरित भएको स्वीकारे।

संघीय प्रहरीले २०१० मा तयार गरेको अभियोग पत्रमा शाहले अनुसन्धानमा हस्तक्षेप गरेको आरोप लगाइएको थियो। तर, उनको सफाइविरुद्ध प्रहरी अदालत गएन। जसका कारण भाजपा सत्तामा आएकाले उनले सफाइ पाएको आरोप लाग्यो।

शाहले पाएको सफाइ पनि विवादास्पद थियो। केही दिनपहिले उनको मुद्दा सुनुवाइ गरिरहेका न्यायाधीशलाई हृदयाघात भएको थियो। न्यायाधीशको परिवारका सदस्यले उनको मृत्यु शंकास्पद भएको आरोप लगाए। उनलाई घुस दिन खोजिएको उनीहरूको भनाइ थियो। तर, यी आरोप प्रमाणित भएनन्, अनुसन्धानको मागलाई सर्वोच्च अदालतले खारेज गरिदियो।

२०१० जेलबाट रिहा भएपछि पत्नी सोनल शाहका साथ अमित शाह

‘हामी र उनीहरू’
आफ्ना नेता र गुरु मोदीजस्तै अमित शाह प्रायः १९४७ मा स्वतन्त्रता प्राप्तिसँगै भएका ‘ऐतिहासिक भूल’सुधार्ने कुरा गर्छन्। 

कस्मिरको विशेष हैसियत समाप्त गर्नु र विवादास्पद नागरिकता कानुन ल्याउनु त्यो भूलसुधारको प्रयास भएको उनको तर्क छ।

पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका मुस्लिमबाहेकका मानिसहरूलाई नागरिकता दिने यो कानुनको विश्वभरबाट भर्त्सना भयो। जबकि मुसलमानमाथिको हिंसाका घटनामा वृद्धि भइरहेको छ।

२०१९ मा शाहले मुस्लिम आप्रवासीहरूलाई ‘धमिरा’ भन्दै तिनलाई बंगालको खाडीमा हाल्ने बताएका थिए। चुनावी सभाहरूमा उनी बारम्बार हामी र उनीहरू (मुस्लिम) भन्ने भाषा प्रयोग गर्छन्।

केही विश्लेषकहरू यसलाई कठोर चुनावी भाषा मान्छन्। तर, ओझा यसलाई व्यक्तिगत मान्यता भन्छन्।

‘किन हो, मलाई थाहा छैन तर मैले पहिलोपटक उनलाई भेट्दा नै यो कुरा देखेको थिएँ। आजसम्म पनि मुस्लिमप्रतिको उनको आक्रोश, पूर्वाग्रह र असन्तोष उस्तै छ। उनको यो घृणा र उनीहरूलाई अस्वीकार गर्ने नीति जस्ताको तस्तै अझै कायम छ,’ उनी भन्छन्।

यसमा उनका बालापनका साथी सुधीर दर्जी सहमत छैनन्। भन्छन्, ‘मुस्लिमविरुद्ध उनले केही भन्दैनन्, केही गर्दैनन्। सबैलाई एकसाथ अगाडि बढाउनु उनको उद्देश्य हो।’

गुजरातको सबैभन्दा ठूलो मुस्लिम झुपडपट्टी शाहकै निर्वाचन क्षेत्रमा पर्छ। शाहले आफूहरूलाई बेवास्ता गरेको उनीहरूको भनाइ छ। यो कुरा शाहको कार्यालयमा राख्दा उनीहरूले कुनै जवाफ दिएनन्।

मोदी र शाह विपक्षीहरूमाथि भ्रष्टाचारको आरोप लगाउँछन्। तर, २०१७ मा उनका एक मात्र छोरा तथा व्यवसायी जय शाहको बचाउमा पार्टी नै उत्रिनुपरेको थियो। त्यतिबेला द वायरले उनलाई भ्रष्टाचारको आरोप लगाएको थियो।

भाजपा सत्तामा आएपछि उनको व्यवसाय १६ हजार गुणाले वृद्धि भएको आरोपलाई शाह बाबुछोराले नै अस्वीकार गरे। झुटो समाचार लेखेको भन्दै दि वायरविरुद्ध उनले मुद्दा हाले। मुद्दा अहिलेसम्म मिलेको छैन।

२०२१ मा जय शाह भारतीय क्रिकेट बोर्डको सचिव नियुक्त भएपछि विपक्षीले नातावादको आरोप लगाए। शाहले छोराको बचाउ गरिरहँदा मोदी मौन रहे। यसले शाह उनका लागि कति महत्वपूर्ण छन् भन्ने देखाएको कतिपयको तर्क छ।

भारतका भावी प्रधानमन्त्री?
प्रधानमन्त्री मोदी ७३ वर्ष पुगे। उनी स्वस्थ छन्। त्यसैले चाँडै नै यो पद रिक्त हुने सम्भावना देखिँदैन। तर, मोदीपछि को भन्ने प्रश्न उठ्दा अमित शाहको नाम आउने गर्छ।

उनी भर्खर ६० वर्षका भए। उनको उमेर छ। यद्यपि, पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा समस्या देखिएका छन्।

उनले कहिल्यै पनि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छैनन्। र, उनले मोदीलाई उछिन्न कोसिस गर्लान् भन्ने कसैलाई लाग्दैन। जोसँग उनले चार दशकभन्दा लामो समयदेखि काम गरिरहेका छन्।

‘उनी मोदीका दायाँ हात तथा कमान्डर इन चिफ हुन्। मोदी उनलाई पूर्ण विश्वास गर्छन् र शाहले उनलाई कहिल्यै उछिन्ने कोसिस गर्ने छैनन्,’ नाग भन्छन्, ‘सधैँ यस्तै छ– मोदी हुँदैन भने कोही पनि हुँदैन।’ बीबीसीबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .