राजनीति


सहिदहरूको सम्मान हुन सकेन : देउवा

सहिदहरूको सम्मान हुन सकेन : देउवा

नेपालखबर
चैत २८, २०८० बुधबार २०:५६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान हुन नसकेको बताएका छन्।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरण गर्दै सहिदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले सबैले सम्मान गर्नुपर्ने बताए।

सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको उल्लेख गरे। उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले यादवनाथ आलोकले पुर्‍याएको योगदानको चर्चा गरे।

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकका चाहना र आकांक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरे।

यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए।

विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा बहुदलविरोधी समूहले गरेको सांघातिक आक्रमणमा परी आलोक सहिद भएका थिए। सोही घटनामा रुपन्देहीकै रामप्रसाद चौधरीसमेत सहिद भएका थिए। दुवै जना कांग्रेसका कार्यकर्ता थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .