राजनीति


सुहाङले जोगाए बाबुको विरासत, अभिषेकले एमालेलाई टक्कर दिए

सुहाङले जोगाए बाबुको विरासत, अभिषेकले एमालेलाई टक्कर दिए

बुवा गुमाएको तीतो यथार्थ एकातिर थन्काएर चुनावी मैदानमा होमिएका यी दुई युवामध्ये एकले मात्रै विरासत जोगाउन सके


नेपालखबर
बैशाख १९, २०८१ बुधबार १७:३, काठमाडौँ

गत शनिबार (वैशाख १५) मा देशका दुई क्षेत्रमा उपनिर्वाचन भयो। प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बझाङ–१ (क)मा उपनिर्वाचन हुनुको कारण एउटै थियो। 

दुवै क्षेत्रले गत ०७९ मंसिर ४ गते पाएका दुई जनप्रतिनिधि गुमाएको थियो। ०८० भदौ २६ गते इलाम–२ प्रतिनिधि सुवास नेम्बाङ र ०८० असार ५ गते बझाङ–१, प्रदेश सभा (क) का प्रतिनिधि पृथ्वीबहादुर सिंहको निधन भएको थियो।

नेम्बाङको निधन हृदयघातबाट भएको थियो भने सिंह जिप दुर्घटनामा परेका थिए। नेम्बाङ नेकपा एमालेबाट प्रतिनिधित्व गर्थे भने सिंह नेपाली कांग्रेसबाट।

यी दुई क्षेत्रमा रिक्त पदका लागि भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ। संयोग कस्तो रह्यो भने यी दुवै क्षेत्रमा बुवा गुमाएका दुई छोरा चुनावी प्रतिस्पर्धामा देखिए। 

इलाम–२ मा नेम्बाङपुत्र सुहाङ र बझाङ–१ (क)मा सिंहपुत्र अभिषेक चुनावी मैदानमा उत्रिए। दुवैका लागि बुवाको विरासत कायम राख्ने चुनौती थियो। 

तर बुवा गुमाएको तीतो यथार्थ एकातिर थन्काएर चुनावी मैदानमा होमिएका यी दुई युवामध्ये एकले मात्रै विरासत जोगाउन सके। 

इलाम–२ मा २५ वर्षदेखि बुवाले लगातार जित्दै आएको क्षेत्रमा सुहाङ फराकिलो मतान्तरले विजयी बने। बझाङ–१ (क)मा भने सिंहले बुवाको विरासत जोगाउन सकेनन्। यद्यपि उनले एमालेलाई कडा टक्कर दिए।

बुवाजस्तै शान्त, शालीन शैलीका सुहाङ उम्मेदवारी दर्ता गर्न जाँदा पनि बुवाझैँ दौरा, सुरुवाल, कालो टोलीमा सजिएर पुगेका थिए। धेरै मतदाताले उनलाई बुवाकै झल्को मेटिएको बताए। 

मतदातासँग भोट माग्दा सुहाङ सधैँ नम्र भइरहे। कहिल्यै अरु दलप्रति आक्रमक सुनिएनन्। गालीगलौज र टिकाटिप्पणीबिनै मत मागेका उनलाई मतदाताले पत्याए।

फलस्वरुप, उनी बुवाको विरासत कायम राख्न सफल बनेका छन्। 

यता सुहाङ फराकिलो मतान्तरले विजयी बन्दा उता बझाङमा अभिषेक भने झिनो मतान्तरले हार्न पुगे। रोचक मतगणनाका क्रममा एमालेका दमनबहादुर भण्डारीसँग २ सय ६७ मतको अन्तरले मात्रै उनी पराजित भए।

३५ वर्षीय सुहाङ पेसाले अधिवक्ता पनि हुन्। केही समय अस्ट्रेलियामा अध्ययन गरेर फर्किएका सुहाङ सानैदेखि सामाजिक कार्यमा सहभागी हुन थालिसकेका थिए। पछिल्लो समय उनी बुवा सुवासकै सल्लाहमा फुटबल क्लब समेत किनेर व्यवसायमा होमिएका थिए। 

सुहाङका बुवा संविधान सभाका अध्यक्षदेखि सभामुख हुँदै विभिन्न उच्च पदमा बसेर काम गरेका व्यक्ति हुन्।

अभिषेक पनि राजनीतिक परिवारमै हुर्किए। उनका बुवा निधन हुने बेलामा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री थिए।

अभिषेक यसअघि नै राजनीतिमा  प्रवेश गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका–५ को अध्यक्षमा भिडेका उनी स्वतन्त्र उम्मेदवारसँग पराजित हुन पुगेका थिए। 

यसपटक प्रदेश सभामै निर्वाचित हुन चुनावमा होमिएका उनी थोरै मतान्तरले पछि परे।

०७४ यता बझाङको संसदीय चुनाव जित्न नसकेको एमालेले पृथ्वीबहादुरको विरासत भत्काएर एक सिट आफ्नो पोल्टामा पारेको छ। यहाँ एमालेका ऐन महर, कर्ण थापा लगायतका नेताहरू कमान्डर बनेर कांग्रेसको गढ खोस्ने अभियानमा खटिएका थिए। 

सुहाङ पार्टीको कानुन विभागका सदस्य हुन् भने अभिषेक पार्टीको जिल्ला कार्यसमिति सदस्य हुन्।

नम्र स्वभावका सुहाङलाई पार्टीले चालेको रणनीतिक ‘मुभ’ले जिताउँदा अभिषेक भने हार्न पुगेका छन्। 

अभिषेकसँग विद्यार्थी राजनीतिदेखिको अनुभव छ। तर, सुहाङ राजनीतिमा पहिलोपटक लागेका हुन्।

अभिषेक विसं २०५५ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए। त्यतिबेला सुहाङ भने इलामकै आदर्श माध्यमिक विद्यालयमा अध्ययनकै क्रममा थिए। 

अभिषेक २०७२ सालमा नेपाल तरुण दल बझाङ क्षेत्र नं १(क) क्षेत्रीय सभापति बने। त्यतिबेला सुहाङ भने बुवाकै प्रेरणामा अधिवक्ता बन्ने ध्याउन्नमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .