राजनीति


एमाले–कांग्रेस मिलेर सरकार बनाउने कुरा राजनीतिक र संवैधानिकरूपले गलत : रिमाल

एमाले–कांग्रेस मिलेर सरकार बनाउने कुरा राजनीतिक र संवैधानिकरूपले गलत : रिमाल

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १२:४७, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार बन्न नसक्ने दाबी गरेका छन्।
संविधानले नै यस प्रकारको सरकार गठनको ठाउँ नदिएको उनको भनाइ छ।

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते भएको चुनावको परिणामबारे प्रतिक्रिया दिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा उनले एमाले–कांग्रेस सहकार्यको सम्भावना अस्वीकार गरेका हुन्।

‘एमाले र कांग्रेसको नयाँ सरकार बन्दै बन्दैन,’ ओलीका निकट सहयोगीसमेत रहेका नेता रिमालले भने, ‘संविधानले नै दिँदैन नि।’

उनका भनाइमा, अहिले एमालेले चाहेर बनाउने भनेको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खोलिदिने हो। 

उनको संकेत संविधानको धारा ७६ को उपधारा ३ मा थियो। उक्त उपधारामा संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था छ। हाल संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस छ।

हेर्नुहोस् भिडिओ-

 

कुनै पनि दलको बहुमत नहुँदा गएका १७ महिनाका बीचमा तीन प्रकारका गठबन्धन फेरिएका छन्। अहिले पनि सरकारको स्थायित्वलाई लिएर प्रश्न उठिरहेका बेला एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निरन्तरताको वकालत गरिरहेको छ।

अहिलेका प्रधानमन्त्रीले बहुमत गुमाएमा धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस सभापति देउवालाई बोलाएर शपथ खुवाउन सक्ने रिमालको भनाइ छ। 

‘त्यो हामीलाई के जरुरी छ र? जरुरी नै छैन,’ उनले भने, ‘दुई वा दुईभन्दा बढी दल मिलेर बनाउने सरकारमा अहिलेका बहालवाला प्रधानमन्त्री असहमत हुनुभयो भने त सिधै सर्वाधिक ठूलो दलमा गइहाल्छ। राष्ट्रपतिले यो सरकार ढल्नासाथ देउवाजीलाई सिधै नियुक्त गरिहाल्नुहुन्छ। हामी गरिरहेको सहकार्य टुटाएर कांग्रेसको अल्पमतको सरकार बनाउन किन जान्छौँ र? जाँदैनौँ नि। त्यो त राजनीतिक र संवैधानिकरूपले पनि गलत हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .