राजनीति


प्रधानमन्त्रीको दाबी– आयल निगम, वायुसेवा निगम र विद्युत् प्राधिकरण नाफामा छन्

प्रधानमन्त्रीको दाबी– आयल निगम, वायुसेवा निगम र विद्युत् प्राधिकरण नाफामा छन्

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिर : सरोज बैजु)


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १२:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको दाबी गरे। 

हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको प्रधानमन्त्रीको भनाइ थियो।

‘नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन्। नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ। भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवद्र्धक झन्डै ६० देशका प्रतिनिधिहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर समेत उनले गरे। 

शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि बढेको पनि बताए। 

‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ। तर अहिले क्रमशः सुधार आइसकेको छ। शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि छन्,’ उनले भने।

उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको  र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए। 

‘वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ। बैंकको ब्याजदर घटाइएको छ। लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ। सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ,’ उनले भने।

प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .