राजनीति


नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १४:५०, वीरगञ्ज (पर्सा)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन्। नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन्।

नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए। तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन्।

पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो। अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ।

एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए।

उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ। 

सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ। पर्सा जिल्लामा १४ वटा पालिका छन्। तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन्। 

वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन। एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उद्घाटनसत्र भएको थियो।

अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो। रासस  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .