अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को नयाँ विश्लेषणअनुसार आर्टिफिसियल इन्टेलिजेन्सले सम्पूर्ण रोजगारीको करिब ४० प्रतिशत हिस्सामा प्रभाव पार्ने देखिएको छ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले भनिन्, ‘धेरैजसो ठाउँमा एआईले समग्र असमानतालाई अझ बढाउने सम्भावना छ।’
प्रविधिले सामाजिक तनाव फैलाउने अप्ठेरो प्रवृत्तिलाई नीति निर्माताहरुले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय भएको एआईको विकास र विस्तारले यसका फाइदा र जोखिमलाई बहसमा ल्याइदिएको छ।
विकसित मुलुकहरुमा एआईले अझ बढी अर्थात् ६० प्रतिशत रोजगारीलाई प्रभावित पार्ने आईएमएफको भनाइ छ। त्यसमध्ये आधाजतिमा एआईबाट कामदारहरुलाई फाइदा हुने र तिनको उत्पादकत्व बढ्नेछ।
तर, त्यसबाहेकको हकमा अहिले मानिसले गरिरहेको काम एआईले गर्न सक्नेछ। जसले श्रमको माग घटाउनेछ। यसको प्रभाव कामदारको तलबमा पर्नेछ र कयौँ रोजगारी गुम्नेछ।
तर, गरिब मुलुकहरुमा भने प्रविधिले २६ प्रतिशत रोजगारीमा मात्र असर पार्ने आईएमएफको भनाइ छ।
यी मुलुकहरुसँग एआईबाट फाइदा उठाउने पूर्वाधार र सिपालु श्रमशक्ति नहुनाले मुलुकहरुबीचको असमानता अझ बढ्ने जर्जिएभा बताउँछिन्।
एआईमा अनुकूलन भइसकेपछि उच्च आय भएका र कम उमेरका कामदारहरुको आम्दानीमा असमान वृद्धि हुनेछ।
कम आय भएका र बढी उमेरका कामदारहरु पछि पर्नेछन्।
राजनीतिक र व्यावसायिक क्षेत्रका नेताहरु स्विट्जरल्यान्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरममा भेला भएका बेला आईएमएफले यस्तो विश्लेषण गरेको हो। एजेन्सी
Shares
प्रतिक्रिया