सर्वोच्च अदालतको कायममुकायम रजिस्ट्रारको जिम्मेवारी हरिराज कार्कीले पाएका छन्।
यसअघि उनी सर्वोच्च अदालतकै सहरजिस्ट्रार थिए।
रजिस्ट्रार नारायणप्रसाद पन्थीले राजीनामा दिएपछि त्यो पद रिक्त थियो। उनले अवकाशको मुखमा पुगेर राजीनामा दिएका थिए।
विशिष्ट श्रेणीको पदमा ५ वर्षे कार्यकाल पूरा गर्नेपछि अवकाश हुने कानुनी व्यवस्थाअनुसार उनको पदावधि वैशाख १७ गतेसम्म मात्र थियो।
कामु रजिस्ट्रारको जिम्मेवारी पाउने कार्की न्याय सेवाको प्रथम श्रेणी (सहसचिवस्तर)का वरिष्ठतम कर्मचारी हुन्।
न्याय सेवा आयोगको सिफारिसमा नेपाल सरकारले रजिस्ट्रारमा बढुवा गर्ने चलन छ।
सर्वोच्च अदलतको प्रशासकीय नेतृत्व मुख्य रजिस्ट्रारले गर्छन् भने उनको मातहत दुईजना रजिस्ट्रारको दरबन्दी छ।
अर्का रजिस्ट्रार विमल पौडेल गत पुसमा मात्र बढुवा भएका थिए। तत्कालीन रजिस्ट्रार निर्मला भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त पदमा पौडेलको बढुवा भएको थियो।
Shares
प्रतिक्रिया