सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीमा परेका अग्नी पीडितको निःशुल्क प्राथमिक उपचार गरिएको छ।
सप्तरीका जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवका अनुसार बुधबार चार जना आगोबाट जलेर हात, खुट्टा र छाला जलेर घाइते भएका पीडितको उपचार गरिएको बताए।
साथै आगलागीको क्रममा चोटपटक लागेका, अत्यधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बिरामी बढी उपचारको लागि आएकाको उपचार गरिएको उनले जानकारी दिए।
वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इञ्चार्ज सिनिएर अहेव उमेश यादवले जानकारी दिए। अहेव, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचारमा खटिनेछन्।
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा मङ्गलबार दिउँसो भएको भीषण आगलागीमा परेर ६२ परिवारको करिब एक सय १४ वटा घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय शत्रुघ्न यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले निजको साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायतको घर नष्ट भएका छन् भने रु एक करोडभन्दा बढीको धनमाल जलेको छ।
आगलागीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घर छन् । आगलागी पीडित अहिले पाल लगाएर नजिकैको खेतमा बसेका छन् । हावाहुरी चलेको बेला भएको भीषण आगलागीमा परेर दुई दर्जन चौपाया, ट्र्याक्टर, थ्रेसरसमेत जलेको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया