ad ad

खेल


सन्दीपका वकिल घिमिरे भन्छन्– यी दुई आधारले पाए सफाइ

सन्दीपका वकिल घिमिरे भन्छन्– यी दुई आधारले पाए सफाइ

सन्दीप उनका वकिलसँग। तस्बिर : सरोज बैजु


उजिर कार्की
जेठ २, २०८१ बुधबार १८:५८, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने मुख्य गरी दुई आधारले बलात्कार मुद्दामा सफाइ पाएको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले प्रतिक्रिया दिएका छन्। उच्च अदालत, पाटनले बुधबार बलात्कारको मुद्दामा सन्दीपलाई पूर्ण सफाइको फैसला गरेको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिँदा अनुमान नभई प्रमाणका आधारमा फैसला गरेको प्रतिक्रिया घिमिरेले दिएका छन्।

फैसलापछि नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘हामीले सुरुदेखि नै सन्दीप निर्दोष छन्, सन्दीपमाथि गलत आरोप लगाइयो भन्दै आएको हो। जिल्ला अदालतले अनुमानका आधारमा फैसला गरेको थियो। फौजदारी न्यायमा आधारप्रमाणसहित फैसला हुनुपर्छ, अनुमानले हुँदैन। आज त्यो फैसला सच्चिएको छ।’

जिल्ला अदालतको फैसलामा सन्दीपलाई दोषी ठहर गरे पनि प्रमाणले पुष्टि गर्न नसकेको उनले बताएका छन्। त्यही विषयलाई उच्च अदालतमा उठाएको र अदालतले प्रमाण हेरेर फैसला दिएको घिमिरेले बताए।

‘यो मुद्दामा कुनै पनि प्रमाणले सन्दीप दोषी हुन् भन्ने देखाएको थिएन। हामीले यही विषयलाई गम्भीररूपमा अदालतसमक्ष प्रस्तुत गर्‍यौँ। अदालत पनि त्यो कुरामा कन्भिन्स भयो र सन्दीपलाई न्याय दियो भन्नेमा हामीलाई विश्वास छ,’ घिमिरेले भने। 

सन्दीप दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालतमा पुगेका थिए। तर जाहेरवाला किशोरी पनि आफूलाई बालिग ठहर गरेको भन्दै नाबालिग नै रहेको दाबीसहित उच्च अदालत पुगेकी थिइन्। 

तर उच्च अदालतले उनको मागअनुसार दोस्रोपटक जन्मदर्ता लिँदा दिएको निवेदन नै गाउँपालिकाबाट झिकाएको थियो। उच्च अदालतले फैसला गर्दा यसलाई पनि मुख्य आधार बनाएको सन्दीपका वकिल बताउँछन्। 

‘उमेरको हकमा उहाँहरूले पुनरावेदन गर्नुभएको थियो। तर हामीसँग अकाट्य प्रमाणहरू थिए। ती सरकारी कार्यालयबाटै जारी भएका प्रमाणहरू थिए। जसले यो फैसलाका लागि आधार बने,’ घिमिरेले भने। 

फैसलासँगै अब नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकप खेलाउन प्रक्रिया पूरा गर्ने उनको विश्वास छ। १५ दिनपछि टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ। विश्वकपका लागि नेपालको १५ सदस्यीय टोली पुगिसकेको छ। तर सन्दीपलाई विश्वकप खेल्ने टोलीमा अटाउने बाटो अझै पनि खुला छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .