ad ad

राजनीति


बालुवाटारमा झलनाथसामु प्रचण्डले गरेका ३ संकेत

बालुवाटारमा झलनाथसामु प्रचण्डले गरेका ३ संकेत

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १२:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहानै बालुवाटारमा नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग कुराकानी गरे। 

त्यस क्रममा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकै घटकबीच उत्पन्न बेमेल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चाल्न खोजेको कदमका विषयमा छलफल भएको थियो।

त्यस क्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा मुख्यतः तीनवटा संकेत गरेका छन्।  

१. सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई बनाउन आफू तयार रहेको बताएका छन्। एकीकृत समाजवादीको मुख्यमन्त्री हुँदा आफूलाई कुनै आपत्ति नरहेको उनको भनाइ थियो।

सात प्रदेशमध्ये कुनै एउटामा दिने सहमति गठबन्धनमा भइसकेकाले पनि एकीकृत समाजवादीको अडान स्वाभाविक रहेको प्रचण्डको भनाइ थियो। त्यसैले गठबन्धनमा फाटो आउने गरी कुनै कदम नचाल्न उनले खनाललाई आग्रह गरेका थिए। सहज अंकगणित नभएकाले मात्र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई दिनुपरेको उनको प्रस्टीकरण थियो। तर, त्यसमा अझै पुनःविचार गर्न सकिने संकेत प्रचण्डले गरे।

नाउपाबिना सरकार बन्न नसक्ने जटिल अवस्थाबारे पनि उनले सम्झाएका थिए।

एमाले (१०), माओवादी (१०), एकीकृत समाजवादी (४) र स्वतन्त्र (१) एक ठाउँमा हुँदा पनि २ जना अपुग हुन्छ। नाउपामा रञ्जिता श्रेष्ठ पक्षधर २ सांसद भएकाले सरकार बनाउन सकिने एमाले-माओवादी गठबन्धनको आकलन छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले कांग्रेससँग मिलेर रेशम नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गरेपछि एमाले-माओवादी गठबन्धन संकटमा परेको छ।    

२. समाजवादीका उम्मेदवारप्रति ओलीको आपत्ति
सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीका दाबेदार एवं संसदीय दलका नेता दीर्घ सोडारीप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहेको र ओलीले नै नमानेका कारण पनि विकल्प खोज्नुपरेको प्रचण्डको भनाइ थियो।

यदि एकीकृत समाजवादीले वैकल्पिक उम्मेदवार अगाडि सारेमा ‘ओलीजी र एमालेका प्रदेशका साथीहरू’लाई पनि मनाउन सकिने प्रचण्डको भनाइ थियो।

सोडारीका केही आचरणगत पक्ष र राज्यका विभिन्न निकायले अनुसन्धान गरिरहेको कारण मुख्यमन्त्री बनाउन नसकिने भनेर ओलीले नै अडान लिएको जानकारी पनि प्रचण्डले खनाललाई दिएका थिए।

विश्वस्त स्रोतका अनुसार, सोडारीसहित उनका परिवारका केही सदस्यको बैंक खाता समेत रोक्का छ।

३. कांग्रेस–एमाले मिल्न सक्छन्
प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धनको विकल्पमा कांग्रेस र एमाले छलफलमै रहेको भन्दै जुनसुकै बेला मिल्न सक्ने आभास पाएको संकेत गरेका छन्।  

‘कांग्रेस र एमाले मिलिहालेमा पनि म प्रतिपक्षमा बस्न तयार छु,’ खनालसँगको कुराकानीका क्रममा प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि प्रतिपक्षमा बस्ने अवस्था आए पनि तपाईँ–हामी एक ठाउँ नै हुनुपर्छ। अहिले नै यताउता गर्ने कुरा नगर्नुहोस्। माधवजीलाई पनि मनाउनुहोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .