ad ad

बागमती


मेलम्चीवासीमा दसैँको भन्दा पनि ठूलो खुसी बोकेर आएको अस्थायी पुल

मेलम्चीवासीमा दसैँको भन्दा पनि ठूलो खुसी बोकेर आएको अस्थायी पुल

नेपालखबर
असोज १६, २०७९ आइतबार १४:३८, काठमाडौँ

‘यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो। अब त मेलम्चीवासीलाई  हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो,‘, मेलम्ची ९ का राजु पुरीले भने।

बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो।

गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची बजारसम्म ल्याउने गर्दै उनले बताए।

अस्थायी पुल बनेपछि मेलम्ची पारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ।

गाडी प्रयोग गर्दा बाहुनेपाटी घुमेर आउनुपर्दा  समय पनि बढी लाग्ने पुरीले बताए।

जम्माजम्मी नौ महिनामात्र यातायात आवतजावतमा सहज हुने अस्थायी पुल (ह्युम पाइप) बनाउँदा नागरिकमा राहतको महसुस भएको छ।

दैनिकजसो बजार आउजाउ गर्नुपर्नेका लागि सहज भएको छ।

मेलम्ची नगरपालिका–९ र १० मा उत्पादन भएको तरकारी, फलफूल, दूध र मासुका लागि पशुपन्छी बजारसम्म ल्याउन सहज भएको छ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिकाका नागरिकलाई त्यहाँबाट बजारसम्म आउजाउ गर्न  सहज भएको छ।

घुमेर बाहुनेपाटीको बाटो प्रयोग गर्नुपर्ने समस्या हटेपछि मेलम्ची बजारमा पनि चहलपहल बढेको छ। 

‘गाउँमा सानो किराना पसल छ। वर्षायाममा त जसोतसो गरेर मात्र चलाइयो। यो बीचको समय त धेरै कष्ठ गरेर सामान ल्याइयो बोकेर पुल तार्नुपर्ने, नबोकौँ भने बाहुनेपाटी घुमेर आउनुपथ्र्यो तर अहिले त दसैँ आएको भन्दा पनि बढी खुसी लागेको छ मलाई त’ पाँचपोखरी थाङपाल गाउँपालिका रवीन थापाको भनाइ थियो।

उनीजस्ता गाउँमा किराना पसल चलाउने, दूध सङ्कलन गरेर बजारमा ल्याउने, तरकारी उत्पादन गर्ने सबैलाई बजारसम्मको पहुँच सहज भएको छ। 

खोलामा पानीको सतह बढेपछि असार महिनामा अस्थायीरुपमा बनाइएको पुल बगाएपछि साना गाडी प्नि मारमा परेका थिए।

तीन महिनाजती गाडी नै घरमा लगेर राख्नु परेको  मेलम्ची– ९ का रामकृष्ण धितालले बताए।

दसैँको मुखैमा खोलामा ह्युम पाइप राखेर अस्थायी रुपमा बनाइएको पुलले खुसी दिएको र तीन महिनासम्म थन्क्याइएको गाडी बल्ल गुड्न पाएको  उनले बताए। 

गाउँमा सङ्कलन हुने दूध, तरकारी तथा खसीबोका बोकेर दैनिक बजार आउने गाडी वर्षायामको तीन महिनामा त गाउँमा कोही बिरामी परे अस्पतालसम्म लैजाने र कहीकाहीँ अत्यावश्यक काम परे मात्र घुमेर बजारसम्म गएको चालक धितालको भनाइ थियो।

उनीजस्ता साना ट्रक चलाउनेहरुले पनि असार, साउन र भदौ महिनासम्मा आफ्ना सवारी साधन थन्क्याएर राखेका थिए। 

गत वर्षको बाढीले पक्की पुल बगाएकाले  मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो।

यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा ङेमा तामाङले वर्षाको तीन महिनासम्म जोहो गरेको सामानले छाक टारेकामा अहिले अस्थायी पुल बने पछि सहजै सामान लैजान सकिनेमा उनी ढुक्क भएका छन्।
 
मेलम्ची नगरपालिकाले दसैँलाई लक्ष्य गरेर मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि आवतजावतमा सहज भएको छ।

नगरपालिकाले वडा नं ११ फट्टेस्थित मेलम्ची खोलामा पुरानो मोटरेबेल पुल भएको ठाउँमा अस्थायी पुल बनाएको हो।

ईन्द्रावती खोलामा पाँचपोखरी र इन्द्रावती जाने ठाउँमा पनि अस्थायी पुल सञ्चालनमा ल्याइएको छ।

फट्टेस्थित मेलम्ची खोलामा बनेको पुलले हेलम्बु, मेलम्ची र पाँचपोखरीका नागरिकलाई यातायातको पहुँचमा सहज तुल्याएको छ भने ईन्द्रावती खोलामा बनेको अस्थायी पुलबाट पाँचपोखरी, ईन्द्रावती र मेलम्चीका वासिन्दालाई सुविधा पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .