ad ad

बागमती


राष्ट्रिय सभा निर्वाचन : यस्तो छ बागमतीको अंक गणित

राष्ट्रिय सभा निर्वाचन : यस्तो छ बागमतीको अंक गणित

सुनिता विष्ट
पुस २०, २०८० शुक्रबार १९:३७, हेटाैंडा

आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी तीब्र रुपमा भैरहेको छ। परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिँदो छ। १९ सिटका लागि हुन लागेको निर्वाचनमा बागमती प्रदेशमा चार सिटको निर्वाचन हुनेछ।

यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो। रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चार वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

संघीय राजधानी प्रदेशको समेत राजधानी रहेको बागमतीलाई केन्द्रीय तहकै नेतारूले प्रत्यक्ष नजर लगाउने गरेका छन्।

सत्ता गठबन्धन दलको दबदबा रहेको बागमतीमा राष्ट्रिय सभामा पनि यिनै दलका मतदाताहरूको संख्या धेरै छ। प्रदेश सभातर्फ हेर्ने हो भने पनि ११० सांसदमध्ये सत्ता गठबन्धन दलमा आवद्ध तीन दलको संख्या मात्रै ६५ सिट छ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। हाम्रो नेपाली पार्टीका दुई सांसद्को साथ पनि प्रदेश सरकार अर्थात् सत्ता गठबन्धनलाई नै छ। यो दलको समेत संख्या जोड्ने हो भने बागमतीमा सत्ता गठबन्धनको ६७ प्रदेश सभा सदस्य छन्।

यस बाहेक विपक्षी एमालेको २७, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ सिट छ। यद्यपी सत्तागठबन्धन दलहरू एकजुट हुँदा विपक्षी दलहरूबीच भने सहकार्य हुने नहुने निश्चित छैन।

त्यसो त, प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिँदैन। तर कुल मतभारको बहुमत अर्थात् ५ हजार १७७ मत भए जित सुनिश्चित हुन्छ। जसका लागि प्रदेश सभामा रहेका हाम्रो नेपाली पार्टीका २ सांसद बाहेक पनि ६५ सांसदको ५३ मतभारले प्रदेशतर्फ मात्रै ३ हजार ४४५ मतभार हुन आउँछ।

यस्तै, सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरुको कुल मतभार २ हजार ३८८ मात्रै हुन आउँछ। प्रदेश सभा तर्फ कुल ११० सांसदको ५ हजार ८३० मतभार छ।

यस्तै, स्थानीय तहको संख्या ११९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयाघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता संख्या कम छ। यसरी बागमती प्रदेशको कुल मतदाता २३७ रहेका छन्। मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार रहेको छ।

जसमा स्थानीय तहतर्फ सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका १०७, माओवादी केन्द्रको ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ।

यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जना छन्। जसमा प्रतिपक्षी दलहरूको १ हजार २१६ मतभार हुन आउँछ। यसरी बागमती प्रदेशको १ सय १९ स्थानीयतहको कुल मतभार ४ हजार ५०३ रहेको छ।  

प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मतभार गरेर यहाँ कुल मतभार १० हजार ३३३ हुनेछ। बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना  देखिन्छ। किनकी, उल्लेखित तीनवटा पार्टीसँग मात्रै ६ हजार ७७० मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले र अन्य दल मिलेर उम्मेदवार तय गरेपनि कुनै सिट जित्ने मतभार छैन। एमालेको मात्रै पनि बागमती प्रदेशसभामा २७ सांसदको १ हजार ४३१ मत छ भने स्थानीय तहका ६० जनप्रतिनिधिको १ हजार १४० गरी कुल बागमती प्रदेशमा २ हजार ५७१ मात्रै मत छ। त्यसमा राप्रपा लगाएतका दलहरुको साथ रहे पनि जित्ने सम्भावना क्षीण छ।

यद्यपी राष्ट्रिय सभा निर्वाचनमा दलहरू कसरी जान्छन्, त्यो भने अझै हेर्न बाँकी छ। केन्द्रमा सत्ता गठबन्धनसँगै प्रतिपक्षी एमालेले समेत मिलेर जाने आन्तरिक गृहकार्य गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .