ad ad

बागमती


यी ४ अनुहार, जो बन्दैछन् बागमतीबाट राष्ट्रिय सभा सदस्य

यी ४ अनुहार, जो बन्दैछन् बागमतीबाट राष्ट्रिय सभा सदस्य

बायाँबाट क्रमशः विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, घनश्याम रिजाल र श्रीकृष्ण अधिकारी।


सुनिता विष्ट
पुस २८, २०८० शनिबार १५:५३, मकवानपुर (हेटौंडा)

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा ४ सिट रिक्त हुँदैछन्। जसका लागि गत सोमबार १५ जनाको उम्मेदवारी दर्ता भएको छ। 

उम्मेदवारहरूले शनिबार निर्वाचन अधिकृतको कार्यालय हेटौँडाबाट चुनाव चिन्ह समेत प्राप्त गरिसकेका छन्।

६ वटा राजनीतिक दलबाट उम्मदवार बनेका १५ मध्ये ४ जनाले जित सुनिश्चित गरिसकेका छन्। 

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल विश्वकर्माकै पल्लाभारी हुने मतभारले देखाउँछ।   

कुल मतभारको बहुमत अर्थात् ५ हजार १ सय ७७ मत हुँदा जित सुनिश्चित छ। जसका लागि प्रदेश सभामा रहेका हाम्रो नेपाली पार्टीको २ सांसद बाहेक पनि ६५ सांसदको मतभारले प्रदेशतर्फ मात्रै ३ हजार ४ सय ४५ हुन आउँछ। 

यस्तै, स्थानीय तहतर्फका २ सय ३७ मतदाता रहेको यस प्रदेशमा सत्ता गठबन्धनदलकै मतभार बढी छ। निर्वाचन आयोगले प्रदेश सभा सांसदको ५३ मतभार र स्थानीय तहका जनप्रतिनिधिको १९ मतभार कायम गरेको छ। 

अंकगणित अनुसार सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३८८ मात्रै हुन आउँछ । प्रदेश सभातर्फ कुल ११० सांसदको ५ हजार ८३० छन्।

यस्तै स्थानीय तहको संख्या ११९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता संख्या कम छ।

यसरी बागमती प्रदेशको कुल मतदाता २३७ छन्। मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार रहेको छ। 

जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १०७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ। यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन्। जसमा प्रतिपक्षी दलहरुको १ हजार २१६ मतभार हुन आउँछ । यसरी बागमती प्रदेशको १ सय १९ स्थानीय तहको कुल मतभार ४ हजार ५०३ रहेको छ।  

प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मतभार गरेर यहाँ कुल मतभार १० हजार ३३३ हुनेछ। बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। सत्ता गठबन्धनको साझा उम्मेदवारलको पल्लाभारी हुनेमा दुईमत छैन। 

गठबन्धनका तीन पार्टीसँग मात्रै ६ हजार ७७० मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।

क–कस्ले दिए उम्मेदवारी?
सत्ता गठबन्धन भित्र रहेका ३ दलका ४ उम्मेदवार बाहेक अन्य ३ दलले उम्मेदवारी दर्ता गराएका छन्। जसमा एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। 

चौलागाईंले महिला क्लस्टरबाट भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रस्ताव र प्रदेशसभा सदस्य उर्मिला सुनुवारको समर्थनमा मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपांग क्लस्टरमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रस्ताव र इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको समर्थनमा मनोनयन दिएका छन्।

विश्वकर्माले दलित क्लस्टरमा भमिफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रस्ताव र प्रदेशसभा सदस्य उर्मिला सुनुवारको समर्थनमा उम्मेदवारी दिएका हुन्। पौडेलले अन्य क्लस्टरमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रस्ताव र इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको समर्थनमा उम्मेदवारी दिएका छन्।

नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले प्रदेशसभा सदस्य गीता काफ्लेको प्रस्ताव र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको समर्थनमा मनोनयन दर्ता गराएका छन्।

दलिततर्फ भक्तपुरकी संगीता नेपालीले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रस्ताव र प्रदेशसभा सदस्य गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गराएकी छिन् भने महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले प्रदेशसभा सदस्य सृजना सायजुको प्रस्ताव र भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको समर्थनमा मनोनयन दर्ता गरेकी छिन्।

राष्ट्रियसभा सदस्य पदको बागमतीको ४ सिटका लागि राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणी भट्टले मनोनयन दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन्।

भट्टले प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिको प्रस्ताव र लक्ष्मी घिमिरेको समर्थनमा मनोनयन गरेका छन्। डल्लाकोटीले प्रदेशसभा सदस्य आशा लामाको प्रस्ताव र राजु विष्टको समर्थनमा मनोनयन दर्ता गराएका छन् भने गुरुङले राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको प्रस्ताव र प्रदेशसभा सदस्य डम्बर तामाङको समर्थनमा उम्मेदवारी दिएका हुन्।

राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन। दलित क्लस्टरमा उम्मेदवार बनाएका पूर्णबहादुर विश्वकर्माको उमेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन। राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पुरा भएको हुनुपर्ने कानुनी प्रावधान अनुसार उनको मनोनयन दर्ता नभएको हो।

हाल कायम रहेका राष्ट्रिय सभा सदस्यहरूमध्ये बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ।

जस अनुसार निर्वाचनमा महिला, अपांगता/अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .