ad ad

बागमती


बागमतीमा घोषणाको दुई सातामै अलपत्र प्रदेश भ्रमण वर्ष २०२४

सरोकारवाला भन्छन् : हचुवाको भरमा राज्यकोष रित्याउने खेल
बागमतीमा घोषणाको दुई सातामै अलपत्र प्रदेश भ्रमण वर्ष २०२४

तस्बिर : सुनिता विष्ट


सुनिता विष्ट
पुस २९, २०८० आइतबार १९:१७, काठमाडौँ

बागमती प्रदेश सरकारले सन् २०२४ लाई बागमती भ्रमण वर्ष मनाउने लक्ष्यसाथ गत जनवरी १ मा भ्रमण वर्ष सुरु भएको घोषणा गर्‍यो। 

प्रदेश राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै दुई मिनेटको पर्यटकीय क्षेत्र समेटेर निर्मित भिडिओ संस्कृति पर्यटन तथा सहकारी  मन्त्री पुकार महर्जनले सार्वजनिक गरिदिए। 

कुनै भिडिओ र कुनै फोटोहरू जोडर बनाइएका छोटो भिडिओ बजाएरै ‘बागमती प्रदेश भ्रमण वर्ष २०२४’ सुरु भएको घोषणा भयो। 

न कुनै प्रचार, न लोगो, न प्रचार सामाग्री, न त कुनै पर्यटकीय क्षेत्रसँगको समन्वय। भद्रगोल अवस्थामै घोषित भ्रमण वर्षमा कति पर्यटक बागमतीमा आउलान्? एकीन गर्न नसकेको प्रदेश सरकारको योजना सुरुमै अलपत्र परेको छ।

मन्त्री मर्हजनको घोषणाअनुसार बागमती भ्रमण वर्ष २०२४ शुभारम्भ भएको दुई हप्ता बितिसकेको छ। तर तयारीबिना प्रचारका लागि गरिएको घोषणाले बागमती प्रदेश सरकारलाई नै गिज्याइरहेको पर्यटन व्यवसायीहरू बताउँछन्। 

भ्रमण वर्षका लागि सरकारले झण्डै दुई करोड रुपैयाँ खर्च गर्ने जनाएको छ। तर अहिले बजेट १ करोड रुपैयाँ मात्रै छ। 

थोरै बजेटले संरचना निर्माण, सुविधा विस्तार र गुणस्तर सुधारमा कति काम गर्न सकिएला? यसको जवाफ सरकारसँग छैन। अर्कोतिर पर्यटनसम्बद्ध नीजि क्षेत्रसँग समन्वय र साझेदारीको खाका सरकारले बनाएको छैन। 

प्रदेश राजधानी हेटौंडाका होटल व्यवसायी तथा पर्यटन व्यवसायीसँग हालसम्म पनि संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समन्वय नगरेको मकवानपुर होटल एशोसिएसनका अध्यक्ष कृष्ण गोपाल महर्जनले बताए। 
‘बागमती प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२४ शुभारम्भ गरेको समाचारमा हेरेर थाहा पाएँ', उनले नेपालखबरसँग भने, ‘तर हामी होटल व्यवसायीसँग कुनै समन्वय, सहकार्य र छलफल भएकाो छैन। पर्यटन वर्ष मनाउँदै गर्दा होटल व्यवसायी र पर्यटन व्यवसायलाई लाभ पुग्ने त निश्चित हो। तर यसमा सहजीकरणबारे अनभिज्ञ छु।’ 

यता, बागमती प्रदेश सरकारको घोषणाको भ्रमण वर्ष २०२४ लाई प्रभावकारी बनाउने र पर्यटक आवागमन बढाउन सरोकारवाला सबैलाई समेटेर विस्तृत खाका र कार्ययोजना लागू गर्नुपर्ने पर्यटन व्यवसाय महासंघका केन्द्रीय सदस्य शंखर श्रेष्ठ बताउँछन्। 

तर भ्रमण वर्ष घोषणा गरेको बागमती सरकारले कुनै पहलकदमी लिएको छैन। सुरुमै  बजेट कम हुने भएपछी संस्कृति, पर्यटन  मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग थप एक करोड रुपैयाँ मागेको मन्त्रालयका सचिव गोविन्द रिजाल बताउँछन्। 

बागमती प्रदेशका पर्यटकीयस्थलमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य राखेर भ्रमण वर्ष २०२४ को शुभारम्भ गरिएको मन्त्रालयको दाबी छ। 

प्रदेशको ऐतिहासिक र पुराना सहर, बस्तीका साथै विभिन्न कला, संस्कृति, चाडपर्व र रहनसहनलगायत हिमाल र प्राकृतिक सम्पदा अवलोकन गर्न पर्यटकलाई आग्रह गरिने योजनासहित कार्यक्रम घोषणा गरिए हो। तर यसको प्रभावकारिता हालसम्म शून्य छ। 

तयारीबिना भ्रमण वर्ष घोषणा गर्न सरकार किन हतारियो?, नेपालखबरको यो प्रश्नमा मन्त्रालयका प्रवक्ता उत्तम चापागाईंले शुभारम्भ मात्रै भएको जवाफ दिए। ‘बागमती भ्रमण वर्ष सन् २०२४ मनाउने मन्त्रालयको कार्ययोजनाअनुसार जनवरी १ मा शुभारम्भ भएको घोषणा मात्रै गरिएको हो। अब कसरी अघि बढ्नेबारे छलफल गर्छौँ। प्रचार प्रसार सामाग्री, पर्यटकीय क्षेत्रको फोटो, टिसर्ट छपाई लगायत अघि बढिसकेको छ,’ उनले भने।

तर तयारीबिनाको भ्रमण वर्षले कुनै उपलब्धि नदिने सरोकारवालाले बताएका छन्। उनीहरूले तयारीबिनाका यस्ता कार्यक्रमले राज्यको ढुकुटी मात्रै रित्तिने गुनासो गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .