ad ad

बागमती


आज राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमतीमा यस्तो छ जित-हारको अंकगणित

आज राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमतीमा यस्तो छ जित-हारको अंकगणित

फाइल तस्बिर


सुनिता विष्ट
माघ ११, २०८० बिहिबार ९:३८, हेटौँडा

आज जारी राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा ४ सिटका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन्।

६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल सत्ता गठबन्धनदलका साझा उम्मेदवार हुन्।

कांग्रेसका बस्नेत अन्य क्लस्टरका उम्मेदवार हुन् भने कांग्रेसकी पुडासैनी महिला, माओवादी केन्द्रका अधिकारी अपांगता/अल्पसंख्यक र एकीकृत समाजवादीका रिजाल दलित क्लस्टरका उम्मेदवार हुन्। 

नेकपा एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले चुनावी मैदानमा उत्रिएका छन्।

नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन्। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवाल पनि राष्ट्रिय सभा निर्वाचनको चुनावी मैदानमा छन्। 

राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन्। 

यस्तो छ अंकगणित

बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको कूल संख्या ३४७ छ। जसमध्ये ११० प्रदेश सांसद र २३७ (दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको मृत्यु) स्थानीय तहका प्रमुख/उपप्रममुख छन्। 

प्रदेश सांसदतर्फ एक मतदाताको मतभार ५३ र स्थानीय जनप्रतिनिधितर्फ एक मतदाताको मतभार १९ तोकिएका छन्।

जसअनुसार प्रदेश सभा सदस्यको जम्मा मतभार ५ हजार ८ सय ३० हुन्छ भने स्थानीय जनप्रतिनिधिको जम्मा मतभार ४ हजार ५ सय ३ हुन आउँछ। यहाँ जितका लागि कूल मतभारको बहुमत ५ हजार १७७ मत ल्याउनुपर्छ। 

प्रदेश सभाका कूल ११० सांसदमध्ये सत्ता गठबन्धनसँग ६५ जना छन्। जसमा कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्।

हाम्रो नेपाली पार्टीका दुई सांसदको साथ पनि प्रदेश सरकार अर्थात् सत्ता गठबन्धनलाई नै छ। यो दलको समेत संख्या जोड्ने हो भने बागमतीमा सत्ता गठबन्धनका पक्षमा कूल ६७ जना प्रदेश सभा सदस्य छन्। 

प्रतिसदस्य मतभार ५३ का दरले सत्ता गठबन्धनका पक्षमा ६७ सांसदको कूल ३ हजार ५५१ मतभार देखिन्छ। 

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २७ प्रदेश सांसद अर्थात् १ हजार ४ सय ३१ मतभार छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य १३ जना छन्। जसको मतभार ६८९ हुन्छ। 

राष्ट्रिय सभा निर्वाचनमा आफ्नै ४ उम्मेदवार खडा गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग ३ जना प्रदेश सांसद छन्। उसको मतभार १५९ हुन्छ।

स्थानीय जनप्रतिनिधतर्फ सत्ता गठबन्धनका नेपाली कांग्रेसका १०७, माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जना छन्। गठबन्धनको कूल १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभार ३ हजार २८७ मतभार हुन आउँछ।

उता प्रतिपक्षमा रहेका नेकपा एमालेका ६० र अन्य ४ दलका गरी ६४ जना स्थानीय जनप्रतिनिधि छन्। यस आधारमा स्थानीय जनप्रतिनिधितर्फ प्रतिपक्षी दलहरूको १ हजार २१६ मतभार हुन आउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .