ad ad

समाज


वसन्तपुरमा साँझपख बज्ने बाँसुरीको धुन

वसन्तपुरमा साँझपख बज्ने बाँसुरीको धुन

बाँसुरी बजाएर क्याहन किन्न चाहन्छन् १० वर्षे साजन। तस्बिर: सरोज नेपाल


राधिका अधिकारी
माघ २३, २०८० मंगलबार १८:४१, काठमाडौँ

माघको छिप्पिँदो साँझ। चिसो ठिहीमा तातो चिया बेच्नेहरुको आफ्नै खाले प्रतिस्पर्धा। वसन्तपुर डबलीमा दिनभर ग्राहक कुरेर बसेका पसल उठ्ने तरखरमा छन्। भरियाहरु भारी बोकेर लामा–लामा फड्का मारिरहेका छन्। उनीहरुलाई सकेसम्म धेरै भारी बोक्नु छ। डबलीका चोकचोक मानिसले भरिएका छन्। दिनभरि काम गरेर साँझ टहलाउन वसन्तपुर पुगेकाहरु समूह–समूहमा बसेका छन्। त्यही भीडभित्र सुमधुर लयमा बाँसुरीको धुन गुञ्जन्छ– ‘रेसम फिरिरि...।’ 

हतारमा रहेको वसन्तपुर टक्क अडिन्छ। भारी मिलाउँदै गरेका भरिया दाइका कानले बाँसुरीको धुन आएकै बाटो समात्छ। थर्मसबाट कागजको गिलासमा चिया खन्याउँदै थपिनी दिदी भन्छिन्, ‘आज साजन ढिलो आएछ।’ 

साजनले वसन्तपुर क्षेत्रमा बाँसुरी बजाउन थालेको एक महिना भयो। तर, उनलाई सबैले चिन्न थालेका छन्। वसन्तपुर पुग्ने हरेकका आँखाले साजनको खोजी गर्छन्। प्रायः साजन ४ः३० सम्ममा बाँसुरी बोकेर वसन्तपुर पुगिसक्छन्।

सानो कदका साजनको बाँसुरीको सुरिलो धुनले हाम्रो पनि ध्यान तान्यो। बाँसुरीका प्वालमा नाचिरहेका उनका स–साना औँलाले धेरैलाई मोहित पार्छन्। मानिसहरु उनको कलाको सम्मानस्वरुप ५/१० रुपैयाँ दिन्छन्। साजन धन्यवाद भन्छन् र अर्को समूहमा पुग्छन्। 

सबैजना उनलाई बोलाउन खोज्छन्। उनी सोधेका धेरै कुराको जवाफ दिँदैनन्। 

‘साजन भाइ एकछिन कुरा गरौँ न!’ हामीले प्रस्ताव राख्यौँ।

‘हामीले कमाउनु पर्दैन?’ जवाफ उनले उल्टै प्रश्न गरे। प्रश्न मुनासिब थियो। एकदिनमा हुने सरदर कमाइभन्दा दोब्बर पैसा दिने सर्तपछि उनी बोल्न तयार भए।

साजन १० वर्षका भए। उनको घर सिन्धुली हो। बुवाआमा भक्तपुर बस्छन्। उनका बुवा ज्यामी काम गर्छन्। आमा बुवालाई सघाउँछिन्। साजनका ४ दाजु दिदी छन्। जेठी दिदी भारत गइन्। उतै काम गर्छिन्। तर के काम साजनलाई थाहा छैन। उनका दाजुहरु बुवासँगै काममा लागेका छन्। साजन पनि केही महिना अघिसम्म बुवाआमासँगै बस्थे। 

उनकी एउटी दिदी वसन्तपुर मन्दिर क्षेत्रमा काम गर्थिन्। साजन पनि बुवाआमा छोडेर दिदीसँग आए। 

आर्थिक विपन्नताका कारण उनको परिवार छिन्नभिन्नजस्तै भएको छ। परिवारका सबै एकसाथ बस्न पाएका छैनन्। जीविकोपार्जनका लागि आफ्नो उमेर अनुसार जता सहज काम पायो, त्यतै बसेका छन्। साजनकी दिदी मरुहिटी बस्छिन्। दिदीले उनलाई डल्लुमा रहेको कंकेश्वरी स्कुल भर्ना गरिदिइन्। साजन ४ कक्षामा पढ्छन्। 

स्कुल जाँदाजाँदैका साजन एकदिन बिरामी परे। वसन्तपुर गणेशस्थानमा एउटा औषधि पसल छ। साजनकी दिदी भाइलाई लिएर त्यहीँ पुगिन्। त्यही पसलमा थिए बाँसुरीवादक रवीन्द्र महर्जन। 

‘बाँसुरी सिक्छौ?’ रवीन्द्रले साजनलाई सोधे। 

साजनले केही नसोची जवाफ दिइहाले, ‘सिक्ने।’ 

त्यसपछि साजनको दैनिकी फेरियो। उनी स्कलुपछि रवीन्द्रको पसलमा बाँसुरी सिक्न थाले। 

‘मेरो गुरु त ठूलो मन भएको मान्छे हो। उहाँले मसँग बाँसुरी सिकेवापत पैसा लिनुहुन्न। ठूलो भएपछि सबैभन्दा राम्रो बाँसुरी किनेर गुरुलाई उपहार दिने मन छ,’ थपिनी दिदीले दिएको चियाको चुस्की लिँदै साजनले सुनाए। 

साजनले बाँसुरी सिक्न थालेको एक महिना पूरा भयो। यो एक महिनामा साजनले बाँसुरीमा ७ वटा गीत बजाउन सिकेका छन्। 

उनको बाँसरी सुनेर नजिकै आएका एक जनाले भने, ‘१० वटा गीत सुनाऊ, म तिमीलाई सय रुपैयाँ दिन्छु।’ 

साजनले मलिन स्वरमा भने, ‘मलाई त ७ वटा मात्रै आउँछ।’ 

सुन्न आएका युवा फर्किए। साजनले जोसका साथ भने, ‘एकदिन म १० वटा गीत बजाउन सक्ने भएर आउँछु।’ 

साजनको जोसिलो आवाज भीडको कोलाहलमा हरायो।

उनको सानो स्वर मात्र होइन, कहिलेकाहीँ साजनको बाँसुरी पनि हराउँछ। आज पनि उनको बाँसुरी साइबरबाट हरायो। स्कुल बिदा थियो। साजनले दिउँसै केही पैसा कमाए। त्यो पैसा लिएर साइबर पसेका साजनको बाँसुरी त्यहीँबाट हरायो। 

‘कृष्णले कसरी बाँसुरी बजाउँदा रहेछन् भनेर हेर्दै थिएँ, साइबरको टेबलमा राखेको बाँसुरी कसले पो लगिदियो!’ साजनले निराशा पोखे।

बाँसुरी हराएपछि गुरुकहाँ पुगेका साजनलाई रवीन्द्रले आफ्नो नयाँ बाँसुरी दिए। त्यो बाँसुरी उनको हराएको बाँसुरीभन्दा ठूलो थियो। बाँसुरी देखाउँदै साजनले भने, ‘यो बाँसुरीमा कति गीत त गाउनै सक्दिनँ।’

उनले पढ्ने स्कुलनजिकै एउटा साइकल पसल छ। त्यो पसलमा ५० रुपैयाँ तिरेपछि १ घण्टा साइकल चलाउन पाइन्छ। बाँसुरी बजाएर उज्यालोमै पैसा जम्मा भएको दिन साजन साथीहरु लिएर साइकल पसल पुग्छन्। साइकल लिएर वसन्तपुरका गल्ली गल्ली चहार्छन्। साइकलसँगै दौडिन्छ साजनको मन। दौडिरहेको साइकल टक्क रोकेर भन्छन्, ‘बाँसुरी बजाएर कमाएको पैसाले म क्याजन (क्याहन) बाजा किन्छु।’  

बाँसुरी बजाएर थोरै भएको दिन पनि ३ सय कमाउने साजनले सुनाए। 

‘२ सय दिदीलाई दिन्छु। ५० रुपैयाँ खुत्रुकेमा हाल्छु,’ साजनले भने, ‘५० रुपैयाँको त मःम खाने हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .