ad ad

बागमती


बागमती प्रदेश: अन्तिम अवस्थामा सरकारलाई समर्थन गर्ने ‘मुड’मा राप्रपा

बागमती प्रदेश: अन्तिम अवस्थामा सरकारलाई समर्थन गर्ने ‘मुड’मा राप्रपा

सुनिता विष्ट
फागुन ३०, २०८० बुधबार १२:३९, हेटौँडा

बागमती प्रदेश सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तिम अवस्थामा समर्थन गर्न सक्ने बताएको छ।

तत्काल सरकारमा जाने र समर्थन गर्ने विषयमा राप्रपा सकारात्मक नरहे पनि सरकार गठनमा संकट आइपरे राप्रपाले निकास दिने राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताएका हुन्। 

‘हामी सरकारबाट राजीनामा दिएर बाहिरिएका हौँ। अब सरकारमा जाने भन्ने हुँदैन’, उनले भने, ‘तर मध्यावधि चुनावमा जाने अथवा सरकार गठन नै सम्भव नहुने अवस्थामा हामी सहकार्य गर्न सक्छौँ भन्ने हो। बार्गेनिङ गर्ने, सरकारमै जाने भन्नेचाहिँ होइन।’

केन्द्रमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाएसँगै बागमती प्रदेश सरकारबाट बाहिरिँदै कांग्रेस तथा राप्रपाले समर्थन पनि फिर्ता लिएपछि माओवादीका शालिकराम जम्कट्टेलको सरकार अल्पमतमा परेको छ। 

११० सदस्यीय बागमती प्रदेश सभामा केन्द्रीय गठबन्धनअनुसार एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी ३ दल छन्। यहाँ सरकार गठनका लागि बहुमत पुर्‍याउन ५६ सांसद चाहिन्छ। 

सत्ता साझेदार दलहरुले बागमती प्रदेशमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टी (हानेपा) लाई पनि सरकारमा ल्याएर विश्वासको मत प्राप्त गर्ने रणनीति बनाइरहेका छन्। तर हानेपा आफ्नै दलको नेतृत्वमा सरकार बनाउने प्रयासमा लागेपछि एमाले-माओवादी राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई फकाउन सुरु गरेको सांसदहरू बताउँछन्। 

बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरू एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद छन्। जुन जम्मा गर्दा बहुमत (५६) पुग्दैन। यसैकारण सरकार गठनका लागि सत्ता गठबन्धनलाई साना दलको सहयोग अनिवार्य भएको हो। 

सरकारमा सहभागी नभए पनि राप्रपाले समर्थन गरे प्रदेश सरकार गठन गर्न बहुमत पुग्छ। राप्रपाका १२ सांसद छन्। यसका लागि सत्ता गठबन्धनका दलहरूले आफूहरूसँग स‌ंवाद बढाइरहेको राप्रपा संसदीय दलका नेता थापा बताउँछन्। 

यसअघि दुईपटक मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिएको हानेपा तेस्रोपटक मत दिन बिच्किएको माओवादी केन्द्रका एक प्रदेश सांसदको भनाइ छ। सहज रूपमा विश्वासको मत पाउने स्थितिमा सहयोग गरेको हानेपाले यसपटक भने सत्ताका लागि बार्गेनिङ गरिरहेको ती सांसदको दाबी छ। 

‘दुई सिट मात्रै रहेको हानेपाले दुई मन्त्रालय र एउटा संसदीय समितिको सभापतिसमेत चाहिन्छ भन्ने कुरा आएको छ। सत्ता आफ्नै पोल्टामा पार्ने खेल सुरु गरेको हानेपाले सरकारलाई सहयोग गर्नेभन्दा पनि संविधानलाई नै कमजोर बनाउने काम गरेको जस्तो लाग्छ’, उनले भने।

बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व छ। प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेससँग ३७ सिट छ। एमालेसँग २७, माओवादीसँग २१, राप्रपासँग १२, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हानेपासँग २ सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .