बागमती


विपक्षीसँग गल्यो बागमती सरकार : विवाद सुल्झाउन बजेटको पूरक प्रस्ताव स्वीकृत

विपक्षीसँग गल्यो बागमती सरकार : विवाद सुल्झाउन बजेटको पूरक प्रस्ताव स्वीकृत

सुनिता विष्ट
असार २१, २०८२ शनिबार २१:५७, हेटौँडा

बागमती प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विवाद सिर्जना भएपछि प्रदेशसभामा दर्ता भएको पूरक प्रस्ताव स्वीकृत भएको छ। 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेटको पूरक प्रस्ताव टेबल गरेका थिए। प्रदेश सभामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दलहरुको दबाबमा प्रदेश सरकारले सदनमा दर्ता भएको बजेटको पूरक प्रस्ताव शनिबार (आज) साँझ बसेको प्रदेशसभा बैठकमा स्वीकृत भएको हो। 

सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको भन्दै विपक्षी दलहरुले लगातार बजेट सच्याउन माग गरेपछि बजेटको पूरक प्रस्ताव ल्याउन प्रदेश सरकार बाध्य बनेको हो। आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ सदनबाट सर्वसम्मतीले स्वीकृत भएको हो।

आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले सदनमा टेबल गरेको थिए। उनले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छिनीय भएकोले उक्त विधेयक सदनमा पेश गर्नुपरेको बताएका थिए। 

उक्त विधेयकले प्रदेश सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यको लागि विनियोजन गर्न सक्ने व्यवस्था गरेको मन्त्री काफ्लेले उल्लेख गरेका थिए। 

शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बजेटमाथिको पुरक प्रस्ताव सदनमा पेस गरेका थिए। 

यता,सदनमा उठेका प्रश्नहरुको जवाफ दिदैँ आर्थिक मामिला मन्त्री काफ्लेले सदनमा उठेका छलफल र निर्देशन अनुसार नै बागमती प्रदेश अघि बढ्ने बताए। 

‘तपाइहरुकै छलफलबाट, तपाईहरुकै निर्देशन अनुसार र तपाईहरुले नै बनाउनुभएको कानुनबाट र सदनबाट भएको छलफलबाट निस्किएको निष्कर्ष नै बागमती प्रदेश सरकारको सम्पत्ती हो,’ मन्त्री काफ्ले भने, ‘यहाँहरुको इच्छा, चाहना र प्रस्ताव अनुसारको पालना गर्दै अघि बढ्ने प्रण गर्दछु।’

पूरक प्रस्तावमा प्रतिपक्षीहरुको योजनालाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ। जसमा करिब १७ सय योजना थप गरिएको हो। 

यो सँगै अब बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथिको छलफल गरी सदनबाट पारित गर्न बाटो खुलेको छ। कहिले सत्तारुढ दलकै असन्तुष्टी तथा कहिले विपक्षी दलहरुको असन्तुष्टीका कारण बजेटमाथिको छलफल पटक÷पटक स्थगित हुँदै आएको थियो। 

अर्को बैठक आइतबार बिहान ११ बजेका लागिआह्वान गरिएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बजेट विवादका कारण हरेक पटक तोकिएको समयमा सुचारु हुन नसकेको बागमती प्रदेशसभा बैठक अब भने समयमै सुरु हुने आकलन गरिएको छ। 

बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ। जसमध्ये नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार छ भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। 

यस्तै, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी प्रतिपक्षी दलको भूमिकामा छन्। दुई ठुला दलहरु मिलेर बनेको सरकारले ल्याएको बजेटमा सत्तारुढ दलकै समेत असमझदारी बढेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad