कांग्रेसकै आन्तरिक किचलोका कारण सरकार परिवर्तन भएको बागमती प्रदेशमा फेरि मन्त्री नियुक्तिका विषयमा यो पार्टीभित्र द्वन्द्व चर्किंदै गएको छ।
कांग्रेसको प्रदेश संसदीय दलको नेताबाट विस्थापित गर्दै मुख्यमन्त्री पद छाड्न बाध्य बनाइएका बहादुरसिंह लामा पक्षका सांसदलाई नवगठित प्रदेश सरकारमा मन्त्री नबनाइएपछि उनीहरूले राजीनामा दिने चेतावनी दिएका हुन्।
कांग्रेस बागमती संसदीय दलका नेता नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकलौटी ढंगबाट निर्णय गरेको र पार्टी सभापति शरेरबहादुर देउवासमक्ष गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लामा समूहका सांसदले प्रदेश सभा सदस्य पदबाटै सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।
बानियाँले शुक्रबार मात्रै आफ्नै समूहका कञ्चनचन्द्र बादेलाई सचेतक र पूर्वमन्त्रीसमेत रहेका मीनकृष्ण महर्जनलाई दलको कार्यालयका सदस्य सचिवमा नियुक्ति गरेका थिए।
बानियाँ पक्षले मन्त्री पददेखि दलको जिम्मेवारीमा समेत आफू निकटका सांसदहरूलाई मात्रै अवसर दिएपछि लामा समूह आक्रोशित भएको हो।
मुख्यमन्त्रीले एकलौटी ढंगबाट दलको कार्यालय चलाउन खोजेपछि आफूहरूले रणनीतिक योजनाको तयारी गरेको लामाले बताए।
‘मुख्य कुरा पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको सहमति मुख्यमन्त्रीले कार्यान्वयन गर्नुपर्यो भन्ने नै हो। तर उहाँले हामीलाई पेलेर जान खोज्नुभयो,’ निवर्तमान मुख्यमन्त्री लामाले नेपालखबरसँग भने, ‘सहमति कार्यान्वयन नभएको खण्डमा के गर्ने? सहमति कार्यान्वयन गराउन के गर्ने भन्ने विषयमा हाम्रो समूहका माननीयहरूसँग छलफल भइरहेको छ। हामीले मागेका तीन मन्त्री नदिए विश्वासको मत दिँदैनौँ। कांग्रेसभित्र अर्को राजनीतिक खेल सुरु हुन्छ।’
आफूनिकटका २२ सांसदलाई मात्रै कांग्रेसका र अन्यलाई विपक्षीजस्तो व्यवहार गर्न थाले आफूहरू सांसद पदबाटै राजीनामा दिनसमेत पछि नहट्ने लामाले बताए।
यही साउन १७ गते देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा लामाले राखेका सर्तमा बानियाँ सहमत भएका थिए। राजीनामा दिनुअघि लामाले नियुक्ति गरेका ३ मन्त्रीलाई मुख्यमन्त्री बनेपछि आफूसँगै शपथ खुवाउन बानियाँ तयार भएका थिए। त्यही सर्तमा आफूले मुख्यमन्त्री पद छाडेको बताएका लामा अहिले त्यो कार्यान्वयन नभएपछि रुष्ट भएका हुन्।
लामाले आफू मुख्यमन्त्री हुँदा धादिङका गोविन्द लम्साल, चितवनकी गीता गुरुङ र चितवकै माया श्रेष्ठलाई मन्त्री बनाएका थिए। उनीहरूलाई पनि अहिले बानियाँ नेतृत्वको नयाँ सरकारमा सामेल गराउनुपर्ने लामाको माग छ।
अन्यथा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने चेतावनी लामा समूहले दिएको छ।
कांग्रेसका यी दुई नेताकै विवादले सरकार परिवर्तन भएको बागमती प्रदेशमा अब मन्त्री नियुक्तिमा पनि मतभेद देखिएको हो।
मुख्यमन्त्री र ७ मन्त्री पद भागमा परेको कांग्रेसले विवादकै कारण अहिलेसम्म २ मन्त्री मात्र सरकारमा पठाएको छ। जसमा मुख्यमन्त्री बानियाँ पक्षका कुमार तामाङ खानोपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्री बनेका छन्।
अब कांग्रेसका तर्फबाट अझै ५ मन्त्री नियुक्ति गर्न बाँकी छ। कांग्रेसले संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ।
Shares

प्रतिक्रिया