बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष उनकै पार्टी नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले पहिले आफूले सिफारिस गरेका तीन जनालाई मन्त्री नियुक्ति गरे मात्र आफ्ना पक्षका १४ जनाले विश्वासको मत दिने अन्यथा नदिने चेतावनी दिएका छन्।
यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त कांग्रेस बागमती संसदीय दलका नेता बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।
तर दल नेता र मुख्यमन्त्री पदबाट विस्थापित लामा आफूले नियुक्ति गरेका ३ मन्त्रीलाई अहिलेको सरकारमा पनि निरन्तरता दिनुपर्ने अडान राख्दै आफूपक्षीय सांसदसहित काठमाडौँमै रोकिएका छन्। गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्ति गरिनुपर्ने माग उनको छ।
पहिला मन्त्रीमा नियुक्ति गरिएपछि मात्रै विश्वासको मत दिन आफूहरू हेटौँडा झर्ने लामानिकट प्रदेश सांसद गोविन्द लम्सालले बताए।
‘अहिले हामी काठमाडौँमा छौँ, मुख्यमन्त्रीले हामीसँग भएको सहमति कार्यान्वयन गर्नुभयो, हामी उहाँलाई विश्वासको मत दिन हेटौँडा झर्छौं’, लम्सालले नेपालखबरसँग भने, ‘होइन भने हाम्रो समूहको कोही पनि बैठकमै उपस्थित नहुने निर्णय गरेको छौँ।’
पार्टी सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन आफूहरूलाई निर्देशन दिएको स्वीकार गर्दै उनले थपे, ‘ल हामीले त विश्वासको मत दिन्छौँ। मुख्यमन्त्रीलाई पनि त मन्त्री नियुक्ति गर्न सभापतिज्यूले निर्देशन दिनुभएको छ नि! उहाँले चाहिँ कार्यान्वयन गर्न नपर्ने? अहिले यति दबाब आउँदा त उहाँले मान्नुभएको छैन भने विश्वासको मतपछि हामीले भनेको कहाँ कार्यान्वयन हुन्छ? त्यसैले नियुक्ति नबुझी हेटौँडा आउँदैनौँ।’
जम्मा १४ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ र एमालेको भागमा ६ मन्त्रालय छन्।
जसमा एमालेले सबै ६ मन्त्री नै नियुक्ति गरिसक्दा कांग्रेसले भने मुख्यमन्त्री र २ मन्त्री मात्र नियुक्ति गरेको छ। जसमा शिवराज अधिकारी बिनाविभागीय मन्त्री छन् भने कृष्ण कुमार तामाङ खानेपानी, ऊर्जा तथा सिचाइँ मन्त्री बनेका छन्। दुवै बानियाँनिकट हुन्। कांग्रेसले अझै ५ मन्त्री नियुक्ति गर्न बाँकी छ।
तीमध्ये ३ मन्त्री लामा पक्षबाट नियुक्ति गर्न पार्टी सभापति देउवाले मुख्यमन्त्री बानियाँले निर्देशन दिइसकेको लामानिकट सांसदहरूको दाबी छ।
यतिबेला लामा समूहका सांसदहरू काठमाडौँमा बैठक बसिरहेको एक सांसदले जानकारी दिए।
११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बानियाँले बहुमत पाउन ५६ सांसदले उनलाई विश्वासको मत दिनुपर्छ।
त्यसो त सत्तारुढ कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद छन्।
तर आफ्नै पार्टीका सांसद निर्वतमान मुख्यमन्त्री लामा पक्षका १४ सांसदले विश्वासको मत नदिए बानियाँको मुख्यमन्त्री यात्रा एक सातामै टुंगिन पनि सक्छ।
Shares

प्रतिक्रिया