गत मंगलबार भएको जेन–जी प्रदर्शनका क्रममा आगजनीले बागमती प्रदेशका १४ मन्त्रालयमध्ये ११ मन्त्रालय आगजनीले ध्वस्त भए।
पछिल्लो समय सहकारी पीडित नागरिकका उजुरी र समस्या समाधान गर्ने केन्द्र बनेको सहकारी मन्त्रालयलाई आक्रोशित प्रदर्शनकारीले आगो लगाउँदा ठूलो क्षति भएको छ।
मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लामा रहेका करिब ३२ सय सहकारीका ढड्ढा खरानी भएका छन्। कार्यालय प्रयोगका अधिकांश सामग्री जलेका छन्। तर, प्रदेश सरकार मातहत रहेका सहकारीहरू र उजुरी परेका सहकारीका फाइलहरू भने सुरक्षित छन्।
दुईवटा कोठामा स्टोर गरिएका सहकारीका ढड्ढा पूर्णरुपमा जले पनि उजुरीसम्बन्धी कागजात भएको कोठा भने जोगिएको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद गजुरेलले जानकारी दिए।
‘मन्त्रालयको तल्लो तलामा सहकारीको फाइलहरू थिए। यहाँ धेरै क्षति भयो,’ उनले भने, ‘जल्नबाट बचेका केही फाइललाई सुरक्षित स्थानमा सार्ने र आवश्यक कागजातको खोजीकार्यका लागि मन्त्रालयकै टोली खटिएका छौं। सरसफाइ र उद्धार कार्यलाई पनि निरन्तरता दिएका छौं।’
यससँगै, सहकारीको विवरण कोमोमिस प्रणालीमा अभिलेखिकरण गरिएकाले करिब २७ सय सहकारीको तथ्यांक सुरक्षित रहेको मन्त्रालयले दाबी गरेको छ। कागजी ढड्ढा जले पनि अनलाइन प्रणालीमा रहेका अभिलेख सुरक्षित भएकाले सहकारी पीडितले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए।
सहकारी सञ्चालकद्वारा बचतकर्ताको रकम हिनामिना गर्ने प्रवृत्ति बढेसँगै सहकारी व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा मन्त्रालयमै आगलागी हुनु पीडितका लागि थप निराशाको विषय बनेको छ। तर, अनलाइन तथ्यांक सुरक्षित रहनुले केही राहत दिएको कर्मचारीहरूको भनाइ छ।









Shares

प्रतिक्रिया