बागमती


बागमतीमा क्षतिको अध्ययन गर्न सचिवस्तरीय कार्यदल गठन

बागमतीमा क्षतिको अध्ययन गर्न सचिवस्तरीय कार्यदल गठन

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २०:१३, हेटौँडा

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट बागमती प्रदेशको भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययनका लागि सचिवस्तरीय ४ सदस्यीय कार्यदल गठन गरिएको छ।

मंगलबार (आज) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका प्रमुख सचिव भूपाल बरालको अध्यक्षतामा बसेको बैठकले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा संयोजक रहने गरि ४ सदस्यीय कार्यदल गठन गरेको हो। 

मरहठ्ठा संयोजक रहेको कार्यदलमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी सदस्य रहेका छन्। 

प्रदेश सरकार अन्तर्गतका भवन तथा भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन/विश्लेषण गरी पुनर्निर्माण साथ संचालन गर्न सकिने वा नसकिने अवस्था, सम्भावना र सो गर्नका लागि लाग्ने अनुमानित लागत लगायतका विषयहरू समेटी अविलम्ब संक्षिप्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ। 

यस्तै, पूर्ण रुपमा क्षति पुगेको मन्त्रालय र कार्यालयहरूको विवरण संकलन गरेर ती क्षतिग्रस्त मन्त्रालयहरू अन्यन्त्रबाट सञ्चालन गर्नका लागि प्रबन्ध मिलाउने समेत निर्णय भएको छ। क्षतिग्रस्त मन्त्रालय, निकाय, कार्यालयबाट प्रवाह गरिने सेवा सुचारु गर्न सम्भाव्य स्थान पहिचान गरी मन्त्रालय, कार्यालय सञ्चालन गर्न तत्काल प्रबन्ध मिलाउने निर्णय गरिएको छ। 

आन्दोलनबाट मन्त्रालय÷निकाय र मातहतको कार्यालयहरूमा भएको क्षतिको मौद्रिक मूल्य सहितको विवरण विषयगत मन्त्रालय असोज ५ गते भित्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिवार्य रुपमा पेश गर्ने निर्णय गरिएको छ।

क्षतिग्रस्त मन्त्रालय र कार्यालयका सेवाहरू अवरुद्ध नहुने गरी वैकल्पिक स्थान पहिचान गरी तत्कालै सेवा निरन्तरता दिने निर्णय बैठकले गरेको छ। भवन तथा संरचनामा क्षति हुँदा न्यूनतम रुपमा भए पनि कार्यालय सञ्चालन गर्न सक्ने अवस्था बनाउन मर्मत र पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिइएको छ।

यसका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad