बागमती


जेनजी आन्दोलनमा ६० स्थानमा आगो निभाउन दमकल पठाएको काठमाडौँ महानगरपालिकाको दाबी

जेनजी आन्दोलनमा ६० स्थानमा आगो निभाउन दमकल पठाएको काठमाडौँ महानगरपालिकाको दाबी

नेपालखबर
असोज ९, २०८२ बिहिबार १०:५६, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा आफ्नै नगर क्षेत्रमा रहेका सिंहदरबारलगायत सार्वजनिक निकायका भवनमा आगो लागिरहँदा पनि वास्ता नगरेको भनी आलोचना भइरहेका बेला काठमाडौँ महानगरपालिकाले उपत्यकाका ६० स्थानमा आगलागी नियन्त्रण गर्न दमकल परिचालन गरेको दाबी गर्दै समय-तालिकासहित सूची सार्वजनिक गरेको छ। 

महानगरपालिकाको विपद् व्यवस्थापन विभागले महानगरपालिकासँग उपलब्ध ५ वटै दमकल परिचालन गरी आगलागीबाट थप क्षति हुन रोकेको दाबी गरेको छ। तर जुलुस, सडक अवरोध र ढुंगामुढाका कारण दमकलहरू तत्काल घटनास्थल पुग्न नसकेको विभागले उल्लेख गरेको छ। 

महानगरपालिका प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक  प्रमुख राजुनाथ पाण्डेले भनेका छन्, ‘हामीले विभिन्न ठाउँमा, महानगर क्षेत्रभित्र मात्र होइन, बाहिर पनि आगलागी निभाउन प्रयत्न गरेका थियौँ। २४ गते बेलुकासम्म विभिन्न ठाउँमा भएको आगजनीमा दमकल पठाउन खोज्दा हाम्रो दमकल सेन्टर न्युरोड, बालाजु र रामिटी बहुवोटमा रहेको थियो। साँझदेखि नै प्रायोगिकबाट सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्त्वपूर्ण ठाउँहरूको आगजनी जोगाउन प्रयत्न गरेका थियौँ। तर तत्कालीन अवस्थामा जुलुस, आन्दोलनका कारण सडकमा आन्दोलन जारी भएकाले दमकल निस्कन सकेन। न्युरोडबाट निस्कन खोज्दा त्यहाँ नै आगजनी भइरहेको थियो, दमकलको गेट अगाडि गाडीहरू जलिरहेका थिए। नेपाली सेनासँग समन्वय गरे पनि तत्काल सम्भव भएन।’

उनले अगाडि भनेका छन्, ‘सचिवालयबाट पटक-पटक फोन आएर दमकल किन निस्किएन? किन पुगेन भनेर निर्देशन आयो। तर दमकल जान सक्ने अवस्थामा, सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ। बौद्धबाट निस्कन खोज्दा चाबेलमा दमकलमाथि ढुंगामुढा हुने प्रयास भयो, नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा भयो। हामी रेडी अवस्थामै थियौँ। पहिलो ८:३० बजे सिंहदरबारमा दुईवटा दमकल लिएर ८:३० देखि ९:४५ सम्म निभाएको अवस्था छ। त्यसपछि १० बजे नेपाली सेनाले सुरक्षाको जिम्मा लिइसकेपछि समन्वय गरेर मात्र अगाडि बढ्ने प्रायोरिटीका साथ परिचालन गरेका थियौँ। रातभरि नै दमकलहरू खटिए, भोलिपल्ट पनि एउटै ठाउँमा दसौँचोटि गएर निभाएका छौँ।’

आन्दोलनपश्चात् महानगरपालिका सरसफाइमा जुटेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad