बागमती


देउवा निवासमा पैसा भेटिएकोबारे विश्वप्रकाश: कि बुढानीलकण्ठबाट जवाफ कि अनुसन्धान

देउवा निवासमा पैसा भेटिएकोबारे विश्वप्रकाश: कि बुढानीलकण्ठबाट जवाफ कि अनुसन्धान

शनिबार कांग्रेस मकवानपुर कार्यालयमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्मा (निलो)


सुनिता विष्ट
असोज ११, २०८२ शनिबार ११:४, हेटौँडा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा फेला परेको पैसाका विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन्।

शनिबार (आज) कांग्रेसको मकवानपुर जिल्ला कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टी सभापतिको घरमा पैसा फेला परेको भनिएको घटना अनुसन्धानबाट टुंग्याउनुपर्ने बताएका हुन्।

पैसा कसरी र कहाँबाट आयो भन्ने कुरा सरकारले छानबिन समिति बनाई अनुसन्धान गरेर पत्ता लगाउनपर्ने उनले बताए।

सामाजिक सञ्जालमा आएको प्रचारको पछि लाग्नुभन्दा सरकारले अनुसनधान गर्न सुरु गर्नुपर्ने महामन्त्री शर्माले बताएका हुन्।

‘कि त यो पैसा आफ्नो हो कि होइन भन्ने कुरा बुढानिलकण्ठले जवाफ दिनुपर्‍यो। कि त सरकारले अनुसन्धान सुरु गर्नपर्‍यो,’ उनले भने, ‘अवैध सम्पत्ति भेटिए सबैको सम्पत्ति छानबिन गर्नपर्‍यो। सुरुवात विश्वप्रकाशबाटै गर्छु भने पनि म रेडी छु। यो भनिरहँदा मेरो सभापतिको पनि, अस्ति भनिएको सुनको पनि र जे चर्चामा आएका सबैको निष्पक्ष छानबिन सरकारले गर्नुपर्‍यो।’

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवाको निवासमा आक्रमण हुँदा पैसाको थुप्रो जलिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

यसैबीच पत्रकारसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसले जेनजीलाई प्राथमिकता दिने पनि बताएका छन्।

‘कुनै निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा ७० वर्षको पनि उम्मेदवार पनि बन्न सक्नुहुन्छ। तर प्राथमिकतामा भने जेनजी पुस्तालाई कांग्रेसले समेट्छ,’ उनले भने।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधि सभा भंग गरिएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति नै संसद् विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad