जेठ ९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव हेटौँडा आइन्। हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउन सरकारले पहल सुरु गरेको बताइन्।
विगत २५ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग र धराशायी बनेको हेटौँडा सिमेन्ट उद्योगको समेत निरीक्षण गर्दै उनले पुन: सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइन्।
उद्योग मन्त्रीको हेटौँडा भ्रमण र इतिहासको पानामा सीमित हुन लागेका उद्योगहरूको सञ्चालनको विषयले हेटौँडावासीको मनमा उत्साह थपियो। हरेक बजेटमा रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउनका लागि केही बजेट विनियोजन हुँदै आएता पनि सुरुवात भने हुन सकेको थिएन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले बन्द तथा जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अपेक्षा स्थानीयवासीले गरेका थिए। उद्योग मन्त्रीको भ्रमणपछि हेटौँडाका चिया पसलदेखि सार्वजनिक बहससम्म उद्योग सञ्चालनको चर्चा चुलिएको थियो।
तर, जेठ १५ गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा ती उद्योगहरू पुन: सञ्चालनका लागि कुनै ठोस योजना वा बजेट विनियोजन भएको नदेखिएपछि हेटौँडावासीको अपेक्षामा निराशा छाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत् उद्योग पुन: सञ्चालनबारे स्पष्ट प्रतिबद्धता नजनाएपछि स्थानीयवासीले सरकारबाट राखेको आशा तुहिएको महसुस गरेका छन्।

मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले सरकारले हेटौँडा कपडा उद्योगलाई उपेक्षा गर्नु दु:खको कुरा भएको बताए। ‘बालेन सरकार आएपछि विभिन्न रुग्ण उद्योगहरू चलाउने भन्ने कुरा भएको थियो, सोहीअनुसार उद्योगमन्त्री ज्यू केही दिनअघि आएर अवलोकन पनि गर्नुभयो,’ उनले भने, ‘मन्त्रीज्यूले यहाँको वस्तुस्थितिको निरीक्षण गर्नुभएको कारण अब कपडा उद्योग चल्छ होला भन्नेमा हामी ढुक्क थियौँ। तर बजेटमा कहीँ कतै सम्बोधन गरेको पाइएन।’ उद्योगमन्त्रीभन्दा अघि मकवानपुरका सांसदहरूले पनि अवलोकन गरेको उनले बताए।
हेटौँडा कपडा उद्योग सञ्चालनमा आए देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै अध्यक्ष रानाभाटले सरकारले प्राथमिकतामा राख्न पर्ने विषयलाई उपेक्षा गरिएको बताएका छन्। ‘सरकारी कपडा उद्योग सञ्चालनमा आए विद्यालयहरूको पोसाक, सरकारी निजामती कर्मचारीदेखि प्रहरीलगायतको पोसाक उत्पादनमा प्रयोग गर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘हेटौँडाको मात्रै नभएर देशकै गौरवको उद्योगहरू सञ्चालन गर्न सरकारले तदारुकता देखाउला भन्ने आशा थियो। बजेटमा देख्न र सुन्न पाएनौँ। भित्री कार्यक्रममा राख्नुभएको रहेछ भने पछि थाहा पाइएला।’
यता बागमती प्रदेश उद्योग परिसंघ अध्यक्ष त्रिलोचन कँडेलले पनि सरकारले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने बजेट प्रस्तुत नगर्नु दु:खको विषय भएको बताए। ‘सरकारले भाषणमा सधैँ प्रयोग गर्यो, तर बजेटमा भने समावेश गराएन,’ उनले भने, ‘रुग्ण उद्योगहरूमध्ये पनि हेटौँडा कपडा उद्योगलाई पहिलो प्राथमिकता दिएर सञ्चालनमा ल्याउन पर्छ भनेर हामी पटक/पटक संघीय मन्त्रालय धायौँ। उद्योगमन्त्रीले पनि पहिलो प्राथमिकतामा राखेका छौँ भनेका थिए। तर बजेटमा कतै समावेश भएको पाइएन।’
सरकारको बेवास्ताका कारण हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ भन्नेमा हेटौँडाका व्यवसायीहरू ढुक्क नभएको अध्यक्ष कँडेल बताउँछन्। यो उद्योग चलाउन सकियो भने समग्र देशलाई नै फाइदा पुग्ने उनको दाबी छ।
‘हिजो हामीले देखेका हौँ, यो उद्योगका कपडाहरूको माग धान्न गाह्रो हुने गरी बिक्री भइरहेको थियो,’ उनले थपे, ‘अहिले पनि नयाँ प्रविधिबाट चलाउन सकियो भने कपासको लागि अन्य मुलुकको मुख ताक्नु पर्दैन। कपडा बिक्रीको लागि बजार खोज्न पर्दैन। पुरानो मेसिनलाई फेरेर नयाँ प्रविधि मार्फत सञ्चालनमा ल्याउन सकिन्छ।’
त्यसो त, हेटौँडा कपडा उद्योगमा २३ वर्ष मेकानिकको काम गरेका स्थानीयवासी प्रकाश पौडेलका अनुसार उद्योग मन्त्रीको भ्रमण नाटक मञ्चन जस्तो मात्रै भएको छ। उद्योग सञ्चालन गराउने सुरु भए अध्ययन गराउने विज्ञ टोली ल्याउन पर्नेमा मन्त्री र केही सांसद आउँदैमा सम्भव नहुने उनी बताउँछन्। ‘रुग्ण बनेको उद्योग चलाउनको लागि प्रक्रियामै जानुपर्यो, हेरेर र बोलेर मात्रै केही हुँदैन,’ पौडेलले भने, ‘हेर्ने कथामा आएको भिडियो देखेर उद्योग हेर्न आउनुभएको रहेछ। तर सञ्चालनका लागि न बजेट विनियोजन गरियो, न त कुनै स्पष्ट खाका नै तयार भए।’

बजेटमा गोरखकाली टायर उद्योगलगायत ६ वटा रुग्ण उद्योगको अध्ययन गरिने भन्ने उल्लेख गरिए पनि हेटौँडा कपडा उद्योगको विषयमा सरकारको धारणा स्पष्ट नआउनु दु:खद् भएको उनी बताउँछन्। नेपालको अर्थतन्त्रको सबल बनाउन हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउन पर्ने पौडेलको भनाइ छ। हेटौँडालाई देश विदेशमा चिनाउनेदेखि मकवानपुरका हजारौँ नागरिकलाई रोजगार प्रदान गरेको उद्योग सञ्चालनमा ल्याउन सके देशकै लागि हित हुने मकवानपुरका उद्योगी व्यवसायीहरूको भनाइ छ।
२०३२ सालमा शिलान्यास भएको उद्योग चिनियाँ सरकारको सहयोगमा बनेको थियो। २०३५ माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै सान थियो।
हेटौँडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा आम उपभोक्ताले तँछाडमछाडनै गर्थे। तर २०५० तिर जब उद्योगमा राजनीतिले प्रवेश पायो, तब उद्योगको दुर्गति सुरु भयो।
ट्रेड युनियनको नाममा भएको राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ता भर्तिकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्ण बन्द भयो।
सरकारले २०५७ माघ १८ गते उक्त उद्योग बन्द गर्ने निर्णय नै गर्यो। २०५९ सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढाएको थियो।
करिब १५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको उद्योगमा राजनीति छिरेपछि उद्योग धराशायी भएको थियो। यहाँ उत्पादित कपडा सर्वसाधारणसँगै नेपाली सेनाले समेत प्रयोग गर्ने गरेको थियो।
Shares

प्रतिक्रिया