बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा पुनःसंरचना गर्दै प्रदेशअन्तर्गतका कार्यालयहरूको संख्या २०१ बाट घटाएर १९१ बनाएको छ।
बिहीबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ८ मन्त्रालय मातहतमा १९१ कार्यालय रहने गरी नयाँ संगठनात्मक संरचना स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेशभर सञ्चालनमा रहेका अस्थायी, दोहोरो तथा कम प्रभावकारी कार्यालयहरूको पुनरावलोकन गरी केही कार्यालय गाभ्ने, केही खारेज गर्ने र आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो।
‘प्रशासनिक खर्च नियन्त्रण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा संस्थागत संरचनालाई व्यवस्थित गर्ने उद्देश्यले पुनःसंरचना गरिएको हो,’ मन्त्री तामाङले भने।
बैठकले स्वास्थ्य सेवातर्फ कार्यरत उपसचिव स्तरका दुई कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय पनि गरेको छ। बढुवा हुनेमा सागरप्रसाद घिमिरे र सतीस विष्ट छन्। उनीहरूको पदस्थापनासमेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
त्यसैगरी, प्रदेशमा र्याफ्टिङ स्कुल सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले ‘अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति–२०८३’ पनि स्वीकृत गरेको छ। उक्त नीतिले प्रदेशभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण, पहुँच अभिवृद्धि तथा जीवनस्तर सुधारका लागि आवश्यक कार्यक्रम र कार्ययोजना निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया