बागमती


हेटौँडाबाट काठमाडौँ जाने सवारी साँझ ५ बजेदेखि दुई स्थानमा ‘होल्ड’

हेटौँडाबाट काठमाडौँ जाने सवारी साँझ ५ बजेदेखि दुई स्थानमा ‘होल्ड’

नेपालखबर
असार २९, २०८३ सोमबार १७:०, हेटौँडा

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढ्दै गएपछि हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दुई प्रमुख सडकखण्डमा रोक लगाइएको हो। 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार (आज) सूचना जारी गर्दै कान्तिलोकपथ सडकखण्डाको हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जनाएका छन्।

उक्त सडक प्रयोग गर्ने सवारी साधनलाई हेटौँडा उपमहानगरपालिका–६ चौघडामा रोक्न प्रशासनले निर्देशन दिएको छ।

त्यस्तै, हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पनि आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस मार्गमा सञ्चालन हुने सवारी साधनलाई हेटौँडा–१ को चौकीटोलमा रोक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका गए रातिदेखिको लगातार वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेको छ। यसले विभिन्न सडकखण्ड अवरुद्ध हुनुका साथै सडक यातायात उच्च जोखिममा परेकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।

प्रशासनले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समयपछि उक्त सडकमार्गमा सवारी सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad