बागमती


अविरल वर्षाले हेटौँडामै रोकिए काठमाडौँ जाने सयौँ सवारी

अविरल वर्षाले हेटौँडामै रोकिए काठमाडौँ जाने सयौँ सवारी

नेपालखबर
असार २९, २०८३ सोमबार २१:४७, हेटौँडा

लगातारको अविरल वर्षासँगै बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम बढेपछि हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै कान्ति लोकपथ र हेटौँडा-भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकमा सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरेको हो।

प्रशासनको निर्णयसँगै सोमबार साँझदेखि काठमाडौँ गन्तव्य बनाएका सयौँ सार्वजनिक तथा मालवाहक सवारी हेटौँडाका दुई स्थानमा रोकिएका छन्। भीमफेदी–कुलेखानी सडक प्रयोग गर्ने सवारी हेटौँडा–१ चौकीटोलमा तथा कान्ति लोकपथ हुँदै जाने सवारी चौघडा क्षेत्रमा होल्ड गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै वर्षाका कारण पहाडी सडकमा जुनसुकै बेला पहिरो खस्न सक्ने, खोलामा पानीको बहाव बढ्न सक्ने तथा सडक अवरुद्ध हुने उच्च जोखिम रहेकाले पूर्वसावधानीस्वरूप आवागमन स्थगित गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार यात्रु बीच बाटोमा अलपत्र पर्ने, दुर्घटना हुने तथा उद्धारमा कठिनाइ हुने अवस्था आउन नदिन सावधानी अपनाइएको हो।

प्रशासनका अनुसार हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ। यस अवधिमा उक्त सडक प्रयोग गर्ने सबै सवारीसाधनलाई चौकीटोलमै रोक्ने व्यवस्था मिलाइएको छ।

लगातारको वर्षाका कारण भैंसे, भीमफेदी, देउराली तथा सिस्नेरी क्षेत्रमा पहिरो खस्ने सम्भावना बढेकाले सडक सुरक्षित नभएसम्म सवारी सञ्चालन नगर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

निर्णय लागू भएसँगै काठमाडौं जाने लामो तथा छोटो दूरीका बस, मालवाहक ट्रक तथा अन्य सवारी चौकीटोल क्षेत्रमा रोकिएका छन्। प्रहरी टोलीले चालक र यात्रुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

यस्तै, हेटौँडा–ठिंगन–बागमती–ललितपुर कान्ति लोकपथलाई पनि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ। प्रशासनले वर्षा नरोकिएसम्म तथा सडकको अवस्था सुरक्षित नभएसम्म उक्त सडक सञ्चालन नगर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad