बागमती


हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सडक रात्रिकालीन बन्द यथावत्

हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सडक रात्रिकालीन बन्द यथावत्

नेपालखबर
असार ३०, २०८३ मंगलबार १८:२४, हेटौँडा

हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटो दूरीको सडक आज राति पनि बन्द हुने भएको छ। अविरल वर्षाका कारण पहिरो र सडक दुर्घटनाको जोखिम बढेपछि मकवानपुर प्रशासनले हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीका सडक बन्द रहने सूचना जारी गरेको हो। 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सूचना जारी गर्दै मंगलबार (आज) साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको बताएका छन्। 

उनका अनुसार हेटौँडा–भैंसे–भीमफेदी–काठमाडौँ सडक तथा हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिराजपथमा उक्त अवधिभर सबै प्रकारका सवारी साधन सञ्चालन रोक्ने जनाएको हो। जसमा हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक, हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडक बन्द रहने भएको छ।

अविरल वर्षाले मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। मौसम पूर्वानुमानअनुसार अझै वर्षा हुने सम्भावना रहेकाले बागझोर क्षेत्रमा जुनसुकै बेला ग्रेगानसहितको पानीको ठूलो भेल आउन सक्ने जोखिम रहेको बताएको छ। 

यस्तै, भीमफेदीस्थित बेलिब्रिज मर्मत भइरहेका बेला त्यसको वैकल्पिक डाइभर्सन बाढीले बगाएको छ भने हेटौँडा–भीमफेदी–सिस्नेरी सडकखण्डमा वर्षा हुनासाथ ढुंगा खस्ने र पहिरो जाने उच्च जोखिम कायम रहेको प्रशासनले जनाएको छ। यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको प्रशासनको भनाइ छ।

प्रशासनले अत्यावश्यक कामबाहेक रात्रीकालीन समयमा कुनै पनि सडकमार्गबाट यात्रा नगर्न सम्पूर्ण सवारी चालक र यात्रुलाई आग्रह गरेको छ। साथै, कान्तिराजपथमा यसअघि लागू गरिएको सवारी आवागमन बन्दसम्बन्धी व्यवस्था पनि यथावत् रहने स्पष्ट पारेको छ।

कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा तत्काल जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad