राजनीति


दोष रास्वपालाई आउने भएपछि रविले विपिनलाई भने : तुरुन्त विज्ञप्ति निकाल्नू

दोष रास्वपालाई आउने भएपछि रविले विपिनलाई भने : तुरुन्त विज्ञप्ति निकाल्नू

सागर न्यौपाने
असार ३०, २०८३ मंगलबार २१:५०, काठमाडौँ

असार २८ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच झण्डै चार घण्टा छलफल भयो। कम बोल्ने प्रधामन्त्री बालेन र धेरै बोल्नुपर्ने लामिछानेबिच लामो समय सौहार्द्रपूर्ण छलफल भएको थियो।

तर, त्यसको भोलिपल्ट असार २९ गतेको एउटा घटनाले रास्वपाभित्र दुई पक्षबिचको टकरावलाई स्पष्ट पारेको छ।

२९ गते बिहानै तीनकुनेमा रहेको कान्तिपुर पब्लिकेसन, मध्य बानेश्वरमा रहेको हिमालयन टेलिभिजन र बुद्धनगरमा रहेको अनलाइनखबरको कार्यालय प्रवेश गर्ने गेटमै शंकास्पद व्यक्तिले गाडी पार्क गरेर हिँडेका थिए। जसको खोजी गर्दै जाँदा रास्वपाका नेताहरूको गाडी रहेको पुुष्टि भयो।

कान्तिपुर गेटअगाडि राखिएको गाडी रास्वपाका केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग सदस्य रवि जैसवालले प्रयोग गर्दै आएको खुल्यो। जैसवाललाई रास्वपाको महामन्त्री रहेका बेला भूपदेव शाहले मनोनीत गरेका थिए। शाह बालेन समूहका हुन्।

यस्तै, अनलाइनखबरको गेटअगाडि राखिएको गाडी गोकर्णेश्वर निवासी सुनिल पौडेलको नामको हो। तर, त्यो गाडी रास्वपामा सक्रिय सुनिलका दाइ सुजन पौडेलले प्रयोग गरिरहेको खुलेको छ। यस्तै, हिमालय टेलिभिजनको गेटमा राखिएको गाडी राजीवकाजी श्रेष्ठको नामको रहेको देखिन्छ।

सत्तारुढ दल रास्वपाकै एउटा खेमाले प्रेसलाई तर्साउन यस्तो हर्कत गरेको समाचार आउन थालेपछि पत्रकारिताबाटै राजनीतिमा आएका रास्वपा सभापति लामिछाने चुप बस्न सकेनन्। राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको विषयमा मौन बसेका उनले तत्काल सोधपुछ थाले।

यथार्थ बुझ्न उनले गृहमन्त्री सुधन गुरुङलाई सम्पर्क गरेको लामिछाने निकट एक नेताले जानकारी दिए। ती नेताका अनुसार गृह मन्त्रालयको जवाफले उनी आश्वस्त हुन सकेनन्।

‘पहिला सभापतिजीले गृहमन्त्रीसँग यो के भएको हो भनेर चासो लिनुभयो,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यो कुराबाट उहाँको चित्त बुझेनछ। त्यसपछि मातहतका निकायसँग कुरा गर्नुभयो। किनकि, एक्सनमा जानुपर्ने अवस्था बनिसकेको थियो।’ 

सभापति लामिछानेले जसले गाडी राखेको भए पनि गलत कदम भएकाले यसबारे चुप बस्न नहुने भन्दै महामन्त्री विपिन आचार्यलाई तत्काल विज्ञप्ति निकाल्न निर्देशन दिए।

‘पार्टीकै नेताहरूको नाममा गाडी रहेको बाहिर आइसकेको थियो। त्यो पार्टीतर्फ सोझिने सम्भावना देखियो। पार्टीमा सोझिन दिनु त भएन नि। पार्टीको निर्देशनमा भएको त होइन त्यो,’ ती नेताले थपे, ‘त्यसपछि सभापतिले यो जे भयो गलत भयो, हुनै नहुने काम भयो भनेर विज्ञप्ति निकाल्न लगाउनुभयो।’  

बिहानै पार्टी कार्यालय पुगेका आचार्यले सभापतिको निर्देशन पाएलगत्तै विज्ञप्ति जारी गर्दै सत्यतथ्य पत्ता लगाउन सुरक्षा संयन्त्रसँग माग गरे। 

‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’  विज्ञप्तिमा उल्लेख छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

यससँगै रास्वपामा हलचल पैदा भएको छ। सभापति लामिछानेले वालेन्द्र शाह नेतृत्वको सरकार लक्षित कडा वक्तव्य जारी गराएको चर्चा हुन थालेको छ।

लामिछानेनिकट एक केन्द्रीय सदस्यले सभापति र प्रधानमन्त्री बिचमा फाटो ल्याउन सरकारमै रहेका केही व्यक्तिले शंकास्पद भूमिका खेलेको हुनसक्ने बताए।

ट्रोल नेपाल नामक फेसबुक पेजले गेटमा गाडी राख्ने कुराको समर्थन गरेकोतर्फ उनले संकेत गरे। सो पेजका सञ्चालक प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेन पनि हुन्।

यस्तै, रवि जैसवाल पनि रास्वपाकै नेता हुन्। जो निवर्तमान महामन्त्री भूपदेव शाहसँग जोडिएका छन्। 

प्रधानमन्त्री बालेनका सुशासन सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य सुदिप ढकालले भने पार्टीको विज्ञप्ति पढ्न नभ्याएको बताए।

‘पार्टीका विषयमा मलाई थाहा भएन। आफू बिहानदेखि बेलुकासम्म व्यस्त भएकोले त्यतातिर ध्यान दिन पाइँदैन,’ उनले भने, ‘तर, कानुनी राज्यमा गल्ती गर्नेलाई कारबाही हुनुपर्छ।’ 

लामिछाने निकट केन्द्रीय सदस्य चाहिँ सरकारलाई जिम्मेवार बनाउन रास्वपाले सो विज्ञप्ति जारी गरेको तर्क गर्छन्।

‘प्रश्न त हरेक कोणमा उठ्छ सक्छ तर, हामी त्यसबाट भाग्न पाइँदैन, गैरजिम्मेवार बन्नु हुँदैन। समाधान गर्दै जानुपर्छ भन्ने सभापतिको कुरा हो,’ ती नेताले भने।

शुक्रबार लामिछानेले यी गतिविधि अस्वाभाविक रहेको बताए।

‘पार्टीले हिजै गम्भीरतापूर्वक निकालेको विज्ञप्ति हेर्नुभयो होला, तत्काललाई के गरियो भन्ने बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको स्पष्ट छ,’ उनले भने, ‘हामी त्यसमै अडिग छौँ। तत्काललाई छोडियो, कि समाइयो कि, के मुद्दा लाग्यो कि लागेन भन्ने बेग्लै कुरा हो, समग्रमा यो जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसमाथि पार्टीले जुन विज्ञप्ति निकालेर भनेको छ, त्यसमा पार्टी अडिग छ।’

मंगलबारको संसद् बैठकमा रास्वपाकै सांसदहरू विभाजित देखिए। सचेतक प्रकाशचन्द्र परियार, रीमा विश्वकर्मा र अमरेशकुमार सिंहले सरकारलाई खबरदारी गरे।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले घटनाको निन्दा गरे।

‘हिजो सञ्चारगृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो म यसको कडा शब्दमा भर्त्सना गर्दछु,’ उनले भने, ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर, बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो।’

‘हामीले बिर्सेका छैँनौँ यो देशमा पत्रकारिताले कति ठूलो आँधीबेहरी सामना गरेर आजको उचाइ हासिल गरेको हो भनेर,’ परियारले थपे, ‘हिजो निरंकुश शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचारकक्षभित्र बसेर समाचार सेन्सर गर्थे। म त्यसको साक्षी हुँ, त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुईचार वटा गाडी तेर्स्याएर तर्सिन्छ होला र?’

यस्तै, सांसद रीमा विश्वकर्माले पनि सरकारलाई सचेत गराइन्।

‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन? जसका लागि कानुन बनाइरहेका छौँ, कतै उनीहरू नै मारमा परेका त छैनन्? के साँच्चै नागरिकले आफ्नो पीडा सुनाउन, न्याय माग्न यस्तो आत्मघाती निर्णय गर्नुपर्ने हो?’ उनले भनिन्, ‘एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सुनाउन चाहन्छु– हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ।’

तर, बालेन समूहका सुशान्त वैदिक, गणेश कार्कीले अन्य विषयमा धारणा राखे। रास्वपाले कारबाही गर्ने बताए पनि प्रहरीले ती गाडीहरूलाई ट्राफिक जरिवाना गरेर छाडिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad