ad ad

बागमती


बागमती सरकार बचाउने ३ प्रयास, तर कति सम्भव?

बागमती सरकार बचाउने ३ प्रयास, तर कति सम्भव?

मुख्यमन्त्री शालिकराम जम्कट्टेल


सुनिता विष्ट
चैत १, २०८० बिहिबार ११:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार (फागुन ३० गते) प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि अब प्रदेशहरूमा पनि सरकार गठन तथा विश्वासको मत प्राप्त गर्ने चटारो सुरु भएको छ। केन्द्रीय सत्ता गठबन्धनअनुसार प्रदेशमा पनि सत्ता समीकरण फेरबदल भएकाले त्यसअनुरूप प्रक्रिया अघि बढाउनुपर्ने भएको हो। 

सोही क्रममा सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा पनि सरकार गठनको प्रयास भइरहेको छ।

बागमती प्रदेश सभामा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन्।

तर यी तीन दल मिलेर मात्रै सरकार गठनका लागि बहुमत नपुग्ने भएकाले अन्य दलको पनि समर्थन जुटाउने कसरत चलिरहेको छ। 

सोही अवसरमा प्रतिपक्षमा रहेका केही दलले सत्ताको बार्गेनिङसमेत गर्न थालेका छन्।

केन्द्रमा यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोड्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेसहितका दललाई साथमा लिएर नयाँ गठबन्धन बनाएको २ दिनपछि फागुन २३ गते आफ्ना ६ मन्त्रीलाई राजीनामा गराउँदै कांग्रेस बागमती सरकारबाट बाहिरियो।

साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो। 

योसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अबको ३ हप्ताभित्रै विश्वासको मत लिनुपर्ने भएको छ। 

कुनै पनि दलले दिएको समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

सात राजनीतिक दलका ११० सांसद रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदले साथ दिनुपर्छ। तर नयाँ सत्ता गठबन्धनका तीन दलसँग जम्मा ५५ जना मात्रै प्रदेश सभा सदस्य छन्। अर्थात् सरकार गठनका लागि एकजना पुग्दैन।

यसैले उनीहरू गठबन्धनबाहिरका तीनमध्ये एक दललाई फकाउने रणनीतिमा जुटेका छन्। 

प्रयास-१ : पहिलो प्राथमिकता हानेपा 
सत्ता गठबन्धनका एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिलो प्राथमिकतामा हाम्रो नेपाली पार्टी (हानेपा) लाई राखेका छन्। किनकि यो यसअघिसम्म निरन्तर सरकारलाई समर्थन गरेर सत्तापक्षको सिटमा बसेको दल हो।

केन्द्रमा नयाँ गठबन्धन बन्दा पनि बागमती प्रदेशमा सरकार गठनका लागि हानेपाले साथ दिनेमा उनीहरू ढुक्क थिए। यसैले कांग्रेस सरकारबाट बाहिरिए पनि हानेपाबाट फेरि समर्थन पाउनेमा मुख्यमन्त्री जम्कट्टेल विश्वस्त थिए। 

तर जब उनले साथ मागे, तब हानेपा तर्किन थाल्यो। 

हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य भने अघिल्लोपटक विश्वासको मत दिए पनि प्रतिपक्षी दललाई जस्तो व्यवहार नगरेको, आफ्ना मागका योजनामा ध्यान नदिएको तथा एउटा संसदीय समितिको सभापति पद माग्दा पनि दुईसिटे भनेर वास्ता नगरेकाले मन दुखेको बताउँछन्।

‘अवस्था सजिलो भएका बेला गरिएको (नकारात्मक) व्यवहारले यो अवस्थामा हानेपा दर्बिलो भूमिकामा प्रस्तुत हुन परेको हो’, उनले भने।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले भने सरकारमा समेट्नेदेखि विश्वासको मत लिनेसम्मको प्रक्रियामा हानेपा नै पहिलो प्राथमिकतामा रहेको बताउँछन्।

प्रयास-२ : राप्रपा  
सत्ता गठबन्धनले दोस्रो विकल्पका रूपमा राप्रपालाई राखेका छन्। राप्रपाले परिस्थितिअनुसार निर्णय गर्ने अधिकार प्रदेश सांसदलाई दिएपछि एमाले-माओवादी राप्रपाप्रति पनि आशावादी भएका हुन्।

राप्रपासँग सभामुखबाहेक १२ प्रदेश सभा सदस्य छन्। यसैले सत्ता गठबन्धनका नेता राप्रपा फकाउन पनि लागिपरेका छन्। 

२०७९ पुस १० मा बनेको एमाले-माओवादीसहितको गठबन्धन सरकारमा सहभागी भएको राप्रपाले यसपटक पनि साथ देला कि भन्ने आशा लागेको मुख्यमन्त्री शालिकराम जम्कट्टेल बताउँछन्। 

‘यस विषयमा मैले राप्रपासँग केही बेर छलफल गरेँ। उहाँ (राप्रपा नेता) हरू पोजेटिभ नै हुनुहुन्छ’, मुख्यमन्त्री जम्कट्टेलले नेपालखबरसँग भने, ‘सरकारमा जाने भन्ने राप्रपाको कुरा छैन। यदि चुनावी अवस्था आउन खोज्यो अथवा सरकार गठनमा चुनौती आए साथ दिनुहुन्छ भन्नेमा विश्वास छ।’

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा तत्काल सरकारमा जाने मनस्थिति नभए पनि संकट नै परेको खण्डमा आफूहरूले सहयोग गर्ने बताउँछन्। 

‘हामी सरकारबाट राजीनामा दिएर बाहिरिएका हौँ। अब सरकारमा जाने भन्ने हुँदैन’, उनले भने, ‘तर मध्यावधिमा जाने अथवा सरकार गठन नै सम्भव नहुने अवस्थामा हामी सहकार्य गर्न सक्छौँ भन्ने हो। बार्गेनिङ गर्ने, सरकारमै जाने भन्नेचाहिँ होइन।’ 

प्रयास-३ : नेमकिपा 
बागमती प्रदेश सभामा तीन सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को समर्थनमा सरकार गठन गर्नका लागि पनि संवाद भइरहेको एकीकृत समाजवादीका एकजना सांसद बताउँछन्।

सरकार गठनका लागि बहुमत पुर्‍याउन नेमकिपालाई पनि अफर गरिएको ती सांसदको भनाइ छ। 

तर केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले प्रदेशमा समर्थन गर्ने सम्भावना देखिन्न।

भागबन्डाको सरकारलाई समर्थन गर्ने काम आफ्नो पार्टीले नगर्ने नेमकिपा बागमती संसदीय दलका नता सुरेन्द्रराज गोसाईं बताउँछन्।                                    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .