जब विद्या राईले सोधिन्, भेगन किन नबन्ने?

जब विद्या राईले सोधिन्, भेगन किन नबन्ने?

कमल पौड्याल
काठमाडौं, कात्तिक २६

सन् ९० दशकको एक दिन रेस्टुरेन्टका नियमित ग्राहक जर्मनी मूलका हङकङवासी बौद्धमार्गी गुरुले मलाई ‘आर यु इन्जोइनिङ द फुड’ भने सोध्दा उनकै अगाडि बसाएर करिब १ घण्टा लामो प्रवचन सुनाए। मेरा सहकर्मीले पछि भने, ‘यो बूढोसँग चाहिनेभन्दा बढी क्यै कुरा नगर्नु, दिमाग चाट्छ।’

मलाई भने उनी चाखलाग्दा व्यक्ति लाग्न थाले। नेपाल, नेपाली र बुद्धका विषयमा गहिरो जानकारी राख्ने यी सन्तले रेस्टुरेन्टको मन्दिरमा राखिएको बुद्धको मूर्ति देखेर लामो प्रवचन सुनाएका थिए, पछि एकपटक फेरि। उनी बुद्धको पूजा गर्नु एकदम गलत मान्छन्।

उनी भन्छन्, ‘गौतम बुद्ध यो २५ सय वर्षयताका सबैभन्दा ठूला दार्शनिक महापुरुष हुन् र बुद्धिजम महान् दर्शन हो।’

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने मेरो कुरो चुहिन नपाँदै उनले भने, ‘बुद्ध कहाँ जन्मेका हुन् भन्ने भन्दा पनि उनको ज्ञान, दर्शन, उपदेश र आचरण ग्रहण गर्नु, उनको दर्शन प्रचारप्रसार गर्नु ठूलो कुरा हो।’

फुर्सद हुँदा उनीसँग म घण्टौं कुरा गर्थें।

उनी हरेक दिन १२ बजे पहिले शुद्ध शाकाहार त्यो पनि अदुवा, लसुनसमेत नभएको खाना खान्थे। बेलुका अन्न खाँदैन थिए। हाम्रो खानाले नै हाम्रो जीवन, व्यवहार र सोचाइमा असर गर्छ भन्ने मान्यता राख्छन्, उनी। उनको भनाइमा खाना खानु भनेको ‘इन्जोय’ गर्नु बिलकुलै होइन।

उनी भन्छन्, ‘जीवन बाँच्न र बचाउन भोजन गरिन्छ।’

पछिल्लो समय मासुको त कुरै छाडौं ‘भेगन’ अर्थात् दूध, दही, घिउ, बटर, चिज कुनै जीव–जनावरको शरीरबाट निक्लेका खाद्य वस्तु नखाने मानिसको संख्या बढ्दै छ, विश्वमा, खासगरी युरोपमा। हङकङमै भेगन रेस्टुरेन्ट थपिँदै छन् र अन्य रेस्टुरेन्टमा पनि भेगन मेनु राख्न थालिएको छ। जीवनभर सर्वहारी र अहिले भेगन भएकी मेरी छिमेकी भाउजू (विद्या राई) जनावरको शरीरबाट निकालिने तत्वहरूको भोजन गर्नु मासु खानु बराबर मान्छिन्।

भेगन बन्नाको कारणबारे उनको बुझाइ यस्तो छ, ‘भर्खर जन्मेको यौटा नाबालक पाडो, पाडी, बाच्छो, बाच्छी वा पाठो, पाठीले माउको दूध चुसेर पगारिसकेपछि उसलाई जबर्जस्ती तानेर दाम्लाले बाँध्दै हामी दूध दुहुन्छौं र त्यसको परिकार बनाएर व्यापार गर्छौं वा आफैं र आफ्ना बालबच्चालाई खुवाउँछौं। त्यो बच्चा जनावर भोको पेटमा आफ्नी आमालाई हेरिरहन्छ र आमा उसलाई हेरिरहन्छे। उसको उमेर पुग्नुअघि नै हामी उसलाई खोले र घाँस खान बाध्य बनाउँछौं। अरू प्राणीलाई दुःख नदिई जीवन जिउन सकिन्छ भने किन भेगन नबन्ने?’

veg1

गर्मी बिदामा भारतबाट हङकङ आउने पर्यटकमा जैन धर्म मान्ने पनि प्रशस्तै भेटिन्छन्। जमिनमुनिबाट निकालिएका लसुन, प्याज मात्रै हैन, गाजर, आलु, पिँडालु, तरूलजस्ता कुनै खाद्य वस्तु उनीहरू खाँदैनन्। यो धर्म मलाई उतिबेलादेखि अहिलेसम्म वातावरणमैत्री धर्म पो हो कि भन्ने लाग्छ। किनभने जब हामी जमिनमुनि फल्ने कन्दमूल खान्छौं भने तब त्यसको बिरूवा उखेल्नुपर्ने अर्थात् मार्नुपर्ने हुन्छ। त्यो समयमा पनि मानिस पर्यावरणमैत्री भएर हुन सक्छ– कतिपय बौद्ध धर्म र जैन धर्म अनुयायीमा यौटा समानता के छ भने उनीहरूको भनाइमा लसुन, प्याजजस्ता वस्तुले शरीरमा उत्तेजना पैदा गर्छन्, जसका कारण मानिस आफूलाई वशमा राख्न सक्तैनन्। महावीर जैन सूर्य अस्ताउनुभन्दा पहिला भोजन गर्नु भन्थे। अहिले आधुनिक स्वास्थ्य विज्ञानले पनि बेलुका सकभर नखाने, खाए पनि अलि चाँडै खाने मान्यता राख्छ। तर ओशोले भने यौटा प्रवचनमा यसो भनेका छन्, ‘अगर महावीर जैन बीसौं सदिमे पैदा होता तो कभी नहीं कहता सूर्यास्त पहले भोजन करो। क्युँकि ओ बख्त लोगको रातमे कोही रोशनी नहीं थी। अगर देर रातमे खाना खाए तो गल्तीसे किडे मकौडे भी अन्जान मे खासक्ते थे। ओ महापाप था उनके धर्म मे।’

तर अहिलेको संसारमा खाना शान, सौकात, सोख, फेसन, व्यापार भएको छ। हरेक देशमा आआफ्नै विशेषता हुन्छन्, खानाका। मानव सभ्यताको सुरुवातसँगै खानपान सभ्यताको विकास भएको पाइन्छ।

हिन्दू धर्ममा नागलाई देवता मानिन्छ। नाग याने सर्पलाई नाग पञ्चमीमा त विशेष महत्वसाथ पूजा गरिन्छ। तर हङकङ र मूलभूमि चीनमा भने कुरा बेग्लै छ। कतिपय विशेष भोजनअन्तर्गत सर्पको आलो रगतदेखि सुपसम्म पिउन लाइन लाग्छन्, स्थानीय मानिस। ठूलठूला, महँगा रेस्टुरेन्टको रिसेप्सनमै बडेमाका मृत सर्पहरू सिसाका भाँडामा विशेष किसिमको रसायनमा डुबाएर राखिएका हुन्छन्, लहरै। जति धेरै यस्ता सर्प सजाएर राखिएका हुन्छन्, त्यति नै त्यो रेस्टुरेन्ट गुणस्तरीय मानिन्छ। सर्पको रक्सी पनि निकै बिक्छ। हिन्दू धर्ममा कुकुरलाई भैरवको वहानका रूपमा पुजिन्छ। तर कोरियनहरूका लागि यही कुकुरको मासु विशेष परिकार हो। अझ नेपालकै कुरा गर्दा मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गर्ने कोरियनहरूले गर्दा वरिपरिका सबै भुस्याहा कुकुर सखाप पारेको बताउँथे, स्थानीय बासिन्दा। बाटो बिराएर कुकुर उनीहरूको कम्पाउन्डमा छिर्‍यो भने उनीहरू कामै छाडेर कुकुर काटेर खान बस्थे अरे।

दक्षिण एसियाली खासगरी हिन्दूहरूले बाँदरले जति बदमासी गरे पनि कुटपिट गर्दैनन्, बरू जय वजरंगबली वा हनुमान भन्छन्, ढोग्छन्। गल्तीले सिकार गर्दा बाँदर मारिएपछि उखानै छ– ‘नखाऊँ भने दिनभरिको शिकार, खाँऊ भने कान्छा बाउको अनुहार!’

तर चीनमा जिउँदै बाँदरलाई खाना खाने विशेष टेबलमुनि बाँध्छन् र टाउकाको भाग मात्र माथि निकालेर ताछ्छन् अनि चम्चाले गिदी निकाल्दै खाँदै गर्छन्। जुन गिदी त्यहाँ निकै स्वास्थ्यवर्धक मानिन्छ र एकदमै महँगो पनि छ भनिन्छ। अहिलेचाहिँ पशुअधिकारवादीहरूको चर्को विरोधपछि यसरी बाँदरको गिदी खुलमखुला खान तथा बिक्री गर्न नपाइने भएको छ, तर लुकिछिपी मोलतोल मिलाएर खाइन्छ रे।

पहिलो र दोस्रो विश्व युद्धमा तथा त्यसभन्दा अघि अनिकालमा जापानीहरूले काँचो माछा समुद्रमा पाइने लेउसँग चोपेर खान सुरु गरे। अहिले काँचो सुसी, सासुमी, सी विड्समा बेरेर हाम्रो रायोको, सर्सौंको दाना पिँध्दा बास्ना आउनेजस्तो वासापीमा चोपेर खाने हजारौं परिकार छन्। वैज्ञानिकहरू जापानीहरूको औसत आयु धेरै हुनुमा उनीहरूको खानपान शैलीले गर्दा भन्छन्।

सन् ८० को दशकमा उतिबेलाका ओबराय स्कुल अफ होटेल मेनेजमेन्टका प्राध्यापक श्रीधरशमशेर राणा (हाल बुद्धिस्ट रिम्पोचे) ले फ्रेन्च खानाको यौटा परिकार ‘स्टेक फ्लाम्बे’ बारे पढाएको चाखलाग्दो तथ्य सुनाएका थिए।

फ्रान्समा अठारौं शताब्दीमा एकजना वेटरले रुम सर्भिसमा खाना लाँदै गर्दा गल्तीले ब्रान्डीको ग्लास ग्रिल स्टेकमा (गोरु वा गाईको मासुको युरोपियन परिकार) पोखिएपछि आगो लागेर ग्राहकसँग माफी माग्दा ग्राहकले भैगो फिर्ता गर्नु पर्दैन, म खान्छु भनेर खाए र मन पराए। जसका कारण यो परिकार ‘स्टेक फ्लाम्बे’ नामले संसारभर चर्चित छ, फ्रेन्च खानाका पारखीहरूका लागि।

फिलिपिन्सको केही प्रान्तमा पनि कुकुरको मासु खाइन्छ। यस्तै त्यहाँ चल्ला बनिसकेको कुखुराको अन्डा (बेलुट) स्वास्थ्यवर्धक भनेर खाने चलन छ।

यौटा उखान छ– ‘अमेरिकन लाइफ, जापानिज वाइफ र चाइनिज फुड।’

हङकङ र ग्वाण्डोङको क्यान्टोनिज खाना संसारभर चाइनिज खानाका नाममा प्रसिद्ध भए पनि चीनका विभिन्न ठाउँमा आआफ्नै किसिमका खाना पनि छन्। सिचुवानको खाना निकै पिरो, तेल र मसलायुक्त हुन्छ। सिचुवान हटपट (टेबुलको बीचमा ठूलो भाँडोमा सुप उमालेर विभिन्न प्रकारका सामुद्रिक जीव, मासु, सब्जी पकाएर खाइने) मा अत्यधिक टिमुर, लसुनको पोटी र सुकेका खुर्सानी प्रयोग गरिन्छ। हाम्रो मःमःजस्ता सयौं प्रकारका त डम्पिल्ङ मात्रै क्यान्टोनिज खानामा पाइन्छ। कोरियामा जस्तै केही प्रान्तमा कुकुर, बिरालो तथा मलसाप्रोको मासु खानु सामान्य हो। कतिपय ठाउँमा साङ्ला र स्कार्पियन (बिच्छी) फ्राइड राइस, अझ चल्दै गरेका ससाना बिच्छी आइसक्रिममा हालेर खाइएको यहाँको पर्ल टीभीमा हेरिएको थियो, पटकपटक। त्यसभन्दा रोचक कुरा दुईवटा कप्टेराले खान सक्नु उनीहरूको विशेषता हो।

veg2

परापूर्वकालमा चीनमा ठूलो अनिकाल परेको थियो रे। सानो बलमा भएको भात वा अन्य खाना एकै गाँसमा पनि खान सकिन्छ। तर यी थोरै कप्टेराले खाँदा समय लाग्ने र खाएजस्तो लाग्ने भएर उनीहरूले चपस्टिकको चलन ल्याएको भन्ने कहावत छ। अहिले माथिल्लो वर्गका चिनियाँ नागरिक खाना खाँदा टेबलमा प्रशस्तै खाना छाड्ने गर्छन्। त्यसो गरेमा खान नपाएर मरेका आफ्ना पुर्खाहरूको आत्माले त्यो बचेको खाना खान पाउँछन् भन्ने विश्वास गर्छन्, उनीहरू।

खानाका विषयमा विभिन्न धार्मिक अन्धविश्वासपछाडि वैज्ञानिक कारण पनि पाइन्छ। कतिपय रेस्टुरेन्टमा आउने इस्लाम धर्म मान्नेहरू ढोकामा हलाल चिह्न नभए खाना खाँदैनन्, खाए बरू शाकाहार खान्छन्। यसको वैज्ञानिक कारणचाहिँ मानिस जनावर र हरेक जीवात्माको शरीरमा असल र खराब रक्तकोष हुन्छ। हलाल मासुमा जनावर अर्धजीवित हुँदै सबै रगत बाहिर जान्छ भने एक झड्कामै काटिने जनावरको रगत केही बाहिर आए पनि प्रशस्तै बाँकी रहने भएकाले त्यो मासु खाँदा हामी रोग पनि खाइरहेका हुन्छौं। अर्थात् हलाल मासु बढी स्वस्थकर हुन्छ।

कट्टर धार्मिक तागाधारी हिन्दू आर्यन र इस्लाम धर्मावलम्बीहरूले सुँगुरलाई छुँदा पनि अशुद्ध हुने मान्यता राख्छन्। तर युरोपिनहरू यसको मासुको किसिम–किसमका परिकार बनाएर खान्छन्। चिनियाँ समाजमा हरेक शुभकार्यदेखि पितृ पूजासम्म यसको मासु नभई हुँदैन। अझ ठूलठूला व्यापार वा परियोजनाको शिलान्यास वा उद्घाटन गर्दा प्रमुख अतिथिले रोस्ट गरिएको बडेमानको सिंगै सुँगुर काटेर गरिन्छ। परापूर्वकालमा पृथ्वीको कुनै भूगोलमा अहिलेजस्तै सुँगुको मासु खाँदा हुने रोग ‘स्वाइन फ्लु’ लागेर त्यतिबेला त्यो भेगका मानिसले छोयो भने पनि पाप लाग्छ भनेका हुन् सक्छन्।

भनिन्छ, हिमालय पर्वतदेखि केरलासम्म मानिस जंगली युगबाट कृषि युगमा प्रवेश हुँदै गर्दा गाईको गोबरको मल आवश्यक पर्ने भएकाले पछि गाई मारेर मासु खान बर्जित गरियो।

उतिबेला हुने अत्यधिक मातृ मृत्यूदरका कारण शिशु बचाउन अन्य जनावरको भन्दा गाईको दूध पौष्टिक हुने भएकाले धार्मिक कारण देखाएर मार्न निषेध गरिएको हुन सक्छ। यद्यपि भैंसी र बाख्राको दूध र मासु दुवै खाइन्छ।

अर्को उपवासको चलन संस्कृति पनि छ, मानव समुदायमा। इस्लाम धर्मावलम्बीले वर्षमा एकपटक पूरै महिना रोजा अर्थात् व्रत बस्छन्। जसमा सूर्य नअस्ताएसम्म पानी पनि पिइन्न। हिन्दू धर्मका विभिन्न हाँगाबिगा मान्ने समुदायमा निश्चित तिथि, बार, दिन वा महिनामा उपवास बस्ने चलन छ। शुद्ध शाकाहार मात्र लिनेदेखि अदुवा लसुन वा नुन र अन्नसम्म नखाई फलाहार मात्र लिने पनि गरिन्छ। जसको वैज्ञानिक कारणचाहिँ कमसेकम विभिन्न बहानामा वर्ष, महिना वा हप्तामा गरिने उपवासले शरीरका भित्री अंगलाई आराम मिल्छ, हाम्रो पाचन क्रियाका अंगप्रत्यङ्गले केही समय भए पनि विश्राम गर्छन् भन्ने हुन सक्छ।

तर ओशोले भने उपवासबारे यौटा प्रवचनमा यसो भनेका छन्, ‘तुम जब भगवानके नामपे उपवास रख्ते हो और तुमने भुख लग्ने लग्ता है या भोजन कि याद आता है, तुम समझने लग्ते हो मै कितना पापी हुँ, मनै तो भगवानको समझकर उपवास रख्खा और मुझे भुख लगरही है। देखो भुख लग्ना मानव शरीरका प्राकृतिक गुण धर्म है। यिसिलिए भोजन पाप और उपवाससे कोही पुण्य नहीं है।’

भनिन्छ, हाम्रो दाँतदेखि भोजन नली र पाचन प्रणालीसम्मको बनावट हेर्दा प्राकृतिक हिसाबले मानव शाकाहारी प्राणी हो। मानव सभ्यताको विकासका विभिन्न कालखण्डमा बाध्यता, रहर, अन्धविश्वास, अनुसन्धान अथवा विविध कारणले मानिस मांसाहारी भएको हो। कुनै जनावर खाँदा, छुँदा पाप लाग्ने वा कुनैको खाँदा नलाग्ने पक्कै हैन। हिंसा हिंसा नै हो। कुनै पनि पशुपन्छीको मासु खाँदै गर्दा हामीले उनीहरूको रोग, चिडचिडाहट सबै सेवन गरिरहेका हुन्छौं। सकिन्छ भने स्वास्थ्यका लागि मात्रै भए पनि सकभर शाकाहारी बन्दा राम्रो हुनेरहेछ भन्ने लाग्न थालेको छ, अचेल। कुनै जीव जनावरको हिंसा नगरी वा उनीहरूलाई दुःख नदिई जीवन जिउन सम्भव भए त्यसबारे सोच्ने पो हो कि?

(अर्को अंकमा पढ्नुहोस्, नेपाली खानामा पनि छिमेकी मुलुकको प्रभाव त छैन?)

कात्तिक २६, २०७६, साेमबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .