‘वि आर गोर्खा’ भनेपछि जब उद्धारमा आएका हङकङ प्रहरीको अनुहार उज्यालियो

‘वि आर गोर्खा’ भनेपछि जब उद्धारमा आएका हङकङ प्रहरीको अनुहार उज्यालियो

लेखक कमल पौड्यालसँग ईश्वर विक्रम शाह र प्रविन ब्लोन


कमल पौड्याल
भदौ १३ , हङकङ

जीवनयापनको लागि संसारकै महङ्गा सहरमध्ये एक मानिने हङकङमा सानाठूला गरि २५० समुद्री टापुहरु र १३० वटा पर्वतीय श्रृङ्खला छन्। यिनै पहाडी चुचुराहरुमध्ये ६५ औँ अग्लो सार्प पिक जाने सोचमा थियौँ हामी त्यो दिन। काउलुन प्रायद्वीपको पूर्वीे साइकुङ राष्ट्रिय निकुञ्जमा पर्ने ४६८ मिटरको चुचुरोलाई स्थानीय भाषामा ‘नाम सि चिम’ भनिन्छ। 

मजस्तै हङकङलाई कर्मथलो बनाएका ईश्वरविक्रम शाह मेरा सहयात्री मात्र नभई मेरो पदयात्राका मनचिन्ते झोली पनि हुन्। अर्थात् मैले नक्सामा वा औँलाले जुन भूगोल देखाउँछु, उनी त्यहाँ जाने बाटो पत्ता लगाइ हाल्छन् र लैजान्छन्।

हामीलाई कोभिड महामारीले निकै फुर्सदिलो सहयात्री बनाएको छ, करिब तीन वर्षदेखि। मेरो अन्य उमेरसमूहका अरु धेरै प्रकृतिप्रेमी पदयात्री साथीहरू पनि छन्। उनीहरूसँगको संस्मरण क्रमशः लेख्नेछु। 

साइकुङको निलो समुद्रमा छचल्किएको अनगिन्ती ज्वारभाटामा एकैपटक दर्जनौँ सूर्यको छायाँ हेर्दाको बयान लेखेर साध्य छैन। त्यही दृश्यमा रेडियो नेपालको बिहान ६ बजे सुरु हुँदाको पुरानो शंङ्खधुनसँगै यौटा फेसबुक लाइभ गरेर ट्याक्सी बिसौनी तिर लाग्यौँ। 

हरियो ट्याक्सीको अगाडिको ढोका खोलेर स्मार्टफोनमा टुटेफुटेको स्थानीय भाषामा ईश्वर भाइले जाने ठेगाना देखाउँदै गर्दा चालकले भने, ‘ओ पाक ताम आउ, नो वरी आइ नो दिस प्लेस।’

हामी ट्याक्सी चढ्यौँ। 

‘ग्रेट, यु स्पिक गुड इङ्लिस्,’ मैले भनेँ।

‘जस्ट लिटिल बिट आइ क्यान म्यानेज,’ उनले सोधे, ‘उनले सोधे आर यु गोर्खा?’

‘नट एक्ज्याक्टली, बट वि आर इन हङकङ बिकज अफ देम। अल्सो फ्रम नेपाल एज वेल।’

उनले थपे, ‘गोर्खाज आर नट वन्ली सोल्जर, दे आर गुड ह्युमन टु।’

मैले उनलाई धन्यवाद दिएँ। अनि मनमनै सोचेँ, हाम्रो यो पुस्ता अझै गोर्खाली सेनाको सुकर्मको ब्याज खाँदैरहेछौँ हङकङमा। खोइ, अहिलेको पुस्ताले केही सुकर्म छोड्न सक्ला त आउने पुस्तालाई?

टाठो बोली, पातलो फूर्तिलो शरीर नाकको डाँडीमा पावरवाला चस्मा ट्याक्सी चालकलाई सिटबाटै तलदेखि माथिसम्म हेरेँ र भनेँ, ‘तपाईं कति वर्षको हुनुभयो?’

‘७६ वर्ष,’ उनले फुर्तीसाथ जवाफ दिए। 

अगाडिको दुई वटा सिटको बीचमा बाक्लो कागजको खुल्ला बक्सामा पाकेको केराको ठूलै काँइयो देखेपछि ईश्वर भाइले सोधे, ‘बेच्न हो?’

‘होइन,’ उनले भने, ‘आफैँ खान हो। तपाईंहरु खाने भए खाँदा हुन्छ।’

‘धन्यवाद, पर्दैन। धेरै देखेर सोधेको मात्रै हामीसँग पनि छ,’ ईश्वरले भने। 

‘म दिनमा एक दर्जन केरा मात्र खान्छु।’

‘अनि अरु खाना?’ मैले सोधेँ। 

‘बेलुका उमालेको सागपात अनि अरु थोरै फलफूल मात्र।’

‘हुङचाउ, पिचाउ (बियर वाइन)?’ मैले सोधेँ। 

‘चिया, कफी वा कुनै मादक पदार्थ मुखमा नहालेको जुगौँ भयो, ’ उनले भने, ‘बिहान ६ बजेदेखि राति एघार बजेसम्म ट्याक्सी चलाउँछु। हप्ताको एक दिन भने समुद्रमा अघाउँजी पौडी खेल्छु।’

श्रीमती र छोराछोरीबारे चाहिँ उनी खासै खुलेनन्। कसैप्रति गुनासो पनि रहेनछ। बाँचुन्जेल हाँसीखुसी आफैँ मेहनत गरेर जीवन जिउन पाउनेमा आशावादी छन् उनी। यसरी यी बोलक्कड बाबाका निजी जीवनका कुरा सुन्दै करिब ४५ मिनेटमा पाक ताम आउ आइपुगिएछ। 

अब हामी दायाँतिर हङकङको चर्चित सय किलोमिटर लामो पदमार्ग म्याक्लेहोस ट्रेलको दोस्रो खण्ड हुँदै पैदल अगाडि बढ्यौँ। 

हामीसँगै त्यो दिनका अर्का सहयात्री प्रवीन ब्लोन भाइलाई म्याकलेहोस ट्रेल हङकङको ठाउँठाउँमा धेरै सुनिने–देखिने भए पनि खास नामकरणबारे थाहा रहेनछ।

मैले उनलाई म्याकलेहोसको कथा सुनाएँ।

हङकङको ब्रिटिस शासनकालका पच्चीसौँ गभर्नर मुरी म्याक्लेहोस बारनले सबैभन्दा लामो समय (१९७१–१९८२) सम्म शासन गरे। आधुनिक हङकङका आधारभूत संरचनाको योजनाकार मानिने यिनी वातावरणविद् र प्रकृतिप्रेमी थिए। अहिले हामीले देख्ने गरेको हङकङका राष्ट्रिय निकुञ्जहरूका पैदल मार्गहरूको रेखांकन, विश्रामस्थल, वनभोजको लागि बनाइएको मासु पोल्ने चुल्हो, बेन्च, टेबुल र फोहोर जम्मा गर्ने टोकरीको व्यवस्थित सुरूवात यिनैले गरेका थिए। अझ त्यो समयमा पदयात्री लुटपाटका घटना धेरै घटेपछि ठाउँठाउँमा भौगोलिक नक्सासहित सूचना टाँस्ने र प्रहरी सहयोग लाइनका श्रीगणेश गर्ने यी गभर्नरलाई साइकुङको सेरोफेरो असाध्यै मन पथ्र्यो अरे। 

भनिन्छ, उनी समय मिल्यो कि सेन्ट्रलबाट सुरक्षाकर्मी सहित हेलिकप्टर चढेर साइकुङका समुद्री तटमा पौडी खेलेर दुरबिन झुण्ड्याएर डाँडाकाँडा चहार्थे रे। 

यिनैको नाममा नामकरण गरिएको हङकङको सबैभन्दा लामो पदयात्रा मार्ग (साइकुङदेखि चुनमुनसम्म १०० किमी) लाई म्याक्लेहोस ट्रेल भनिन्छ। अक्सफाम भन्ने निक्कै ठूलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले हरेक वर्ष दौड आयोजना गथ्र्यो यो बाटोमा। पहिला ब्रिटिस गोर्खा र पछि जीफोरयस भन्ने सुरक्षा कम्पनीको तर्फबाट भाग लिने नेपालीहरुको समूहले धेरै पटक पदक जितेका छन्। कोभिडको कारणले यो दौड चाहिँ करिब ३ वर्षदेखि भएको छैन्। 

बेलायतबाट चीनमा सम्प्रभुता फर्केको पच्चीस वर्ष पुरा भयो। उपनिवेशकालीन अनगिन्ती पदमार्ग, बाटाघाटा, रेल स्टेसन, अस्पताल, समुद्री खाडी र पहाडी श्रृङ्खलाका बेलायती रानी, राजकुमार र अन्य शासकीय नाम यथावत छन्। नामभन्दा कामसँग चासो राख्छन् हङकङेहरु। हामी गणतन्त्रको दुई दशक पुग्न लाग्दा पनि मेचीदेखि महाकालीसम्म नामकै पछि लडिरहेका छौँ अझै। यिनै गन्थन गर्दै करिब डेढ घण्टामा सार्प पिकतिर उक्लिने चौबाटो आइपुगिएछ। 

यहाँ थकाइ मार्दै गरेका अरु पदयात्रीहरुको पनि बाक्लै भिड छ। हामी एकएक वटा झप्री केरा खाएर हाम तिन तटतिर पुगिने म्याक्लेहोस ट्रेलको बाँकी दोस्रो खण्ड छोडेर देब्रेतिर उकालो चढ्यौँ। चर्को घाममा करिब एक घण्टाको ठाडो उकालोपछि तेर्पायाँतेर्पायाँ बाटो आइपुग्यो। मुख्य अप्ठ्यारो जोखिमयुक्त लामो उकालो अझै बाँकी थियो।

हङकङका अर्का प्रकृतिप्रेमी मित्र दीनानाथ बगालेसँग जम्काभेट भयो। हामीजस्तै हङकङलाई कर्मथलो बनाएका उनी विगतमा फ्रान्स, स्विट्जरल्यान्ड, इटालीदेखि जापानको माउन्ट फुजी र मूलभूमी चीनका धेरै पर्वतीय श्रृङ्खलाहरुमा नेपालको झण्डा बोकेर हिँडिसकेका छन्। हङकङमा म्याक्लेहोस वा अरु कुनै पनि ट्रेल दौड छुटाउँदैनन् सकभर। उनका हङकङे सहयात्री भिक सोसँग उनी त्यो दिन सार्प पिक सहित अरु सेरोफेरोका पाँचवटा पहाडी थुम्काहरु उक्लिने योजनामा रहेछन्। उनीहरूसँग हिँड्नु हाम्रो वशमा थिएन। संयोगले जुराएको भेटको तस्बिर खिचेर आआफ्ना बाटो लाग्यौँ। 

हिँडेको र हिँड्नु पर्ने भूगोल हेर्दा त डाइनोसरको जिउपछि अब हामी गर्धन हुँदै टाउकोतिर उक्लिरहेका थियौँ। फोस्को ढुङ्गाको गेगरको ठाडो उकालो कतै चार हातखुट्टै टेक्दै कतै खुट्टै मात्रले हिँड्दा गाह्रो भए पनि वरिपरिको प्राकृतिक दृश्यले सबै थकाइ बिर्साइदिन्थ्यो। पहाडी ढुङ्गे गोरेटोमा कोही सिकारु, कोही पेसेवर पदयात्री पातलो कमिलाका ताँतीझैँ देखिन्छन् डाँडाभरि। करिब सवा घण्टाको उकालोपछि पहिलो पटक सार्प पिकमा टेक्दा तेन्जिङ र हिलारीकै कल्पनामा हराएँ। निकै कडा हावा चलेको छ। रमाउँदै फोटो, सेल्फी र भिडिओ खिच्नेहरुको राम्रै भिड छ। 

पश्चिमपट्टि माअन सान, ताइमोसन, बफेलो हिलदेखि हाइ जङ्क पिक र मुख्य हङकङ द्वीपको भिक्टोरिया पिकसम्मका चुचुराहरु सजिलै चिनिन्छ, मौसम सफा भएकोले। 

दक्षिण चीन सागरको ताइ लोङ वान खाडस्को किनारमा रहेका तुङ वान, हामतिन र साइ वान तटीय क्षेत्रपछाडिको गाढा हरियो साइ वान पहाडको दृश्य सबै एकैपटक क्यामरामा अटाउन मन लाग्छ। 

मूलभूमि चीनको दया बे, गङ वान बे र साइ कुङ कन्ट्री पार्कको सुदूरपूर्वी छेउको चुङ सुइ चाउको बिच समुद्रमा विशाल मालबाहक पानीजहाज धुवाँको मुस्लो छाड्दै कछुवा गतिमा ओहोरदोहोर गर्दैछन्। 

पश्चिमपट्टि प्राकृतिक, जैविक र वनस्पतिको विविधताले भरिपूर्ण सुन्दरता बोकेको साइकुङको तरेली परेको पहाडी श्रृङ्खला लमतन्न छ। म त चारैतिर हेरेको हेर्यै भएछु। यत्तिकैमा ईश्वर भाइले पछाडि कोट्याउँदै भने, ‘दाइ भएन अझै? अब फर्किने बाटो लामो छ।’

सामूहिक एकल र प्राकृतिक तस्बिरको सम्झना बोकेर अब हामी ओर्लन थाल्यौँ। बेलाबेलामा दुर्घटनाका समाचार सुनिने यो पदमार्गमा उक्लनभन्दा ओर्लन निक्कै सतर्कता अपनाउनु पर्ने हुन्छ। 

यद्यपि, आपतकालीन उद्धारको लागि हङकङ संसारमै अब्बल मानिन्छ। करिब पौने घण्टामै हामी तलको भञ्ज्याङसम्म ओर्लियौँ। बिहानै फर्कंदा फरक बाटो जाने इच्छा जाहेर गरेको थिएँ ईश्वर भाइलाई। उनले गुगल पण्डितसँग सल्लाह गर्दै दाहिने गोरेटोपट्टि आफ्नो आईफोन सुँघाए। अनि भने, ‘लौ दाइ बाटो रहेछ। यो बाटो नहिँडे पनि मलाई आइडिया छ।’ प्रविन र म पछिपछि लाग्यौँ। 

ससाना हरिया बुट्यान र कम्मरसम्म सप्रेको बन्सो घाँसबीचको गोरेटो हिँड्दै गर्दा हामी सबैले बाल्यकालका गाईवस्तु चरेका स्वदेशकै गाउँपाखा सम्झिएछौँ। ओरालो अनि तेर्सो यो बाटोको दायाँ उही सार्प पिक र बायाँ जङ्गली पहाड छ। हामी अब ससाना दुई खोलाको दोभानमा आइपुग्यौँ। खाजा खाने विचार आयो। अघिल्लो पटक पदयात्रामा जोहो गरिएको कोइरालाको अचार, हरियो कटहरको तरकारी र आलुको परौठा भोकाएको बेला जङ्गलको बीच खोलाको आवाज सुन्दै खाँदा बाल्यकालमा रहरले घट्ट जाँदा गुन्द्रुकभटमास र ढिँडो खाएको याद आयो।

केहीबेरको विश्रामपछि ईश्वर भाइले घडी देखाइहाले। कतै हरियो पाखो कतै खोलाको तिर हुँदै करिब दुई घण्टामा सार्प पिकको पश्चिमट्टि कुर्कुचोमा रहेको समुद्री तटमा आइपुगियो। नाम भने थाहा भएन। 

निकै ठूलो समुद्री किनारमा छालले पाखा लगाएका प्लास्टिकजन्य फोहोर, मरेका समुद्री जीवका खबटा, पदयात्री वा क्याम्पिङ गर्नेहरुले छाडेका फोहोरले यति सुन्दर प्रकृतिलाई कुरुप बनाउँदै छ बिस्तारै। 

चारैतिर हेर्दा बाटोको निकास भने देखिएन। ईश्वर भाइको गुगल पण्डित पनि निदाएछ। फोनमा सिग्नल आएन। ‘सायद पारिबाट हुनसक्ला,’ मैले लख काटेँ। जुत्तामोजा फुकालेर सुरुवाल घुँडा माथिसम्म सार्दै समुद्रमा मिसिन लागेको खोला तरेर पारिपट्टिको किनारामा पुग्यौँ। सबैले चारतिर गोरेटो खोज्यौँ। कतै छैन। अब फेरि आएकै बाटो फर्किनु पर्ने हो त फेरि? त्यो निकै पट्यारलाग्दो हुनसक्थ्यो। 

त्यत्तिकैमा ईश्वर भाइले ठूलो स्वरले बोलाए, ‘दाइ आउनु आउनु, बाटो पत्ता लाग्यो।’ नभन्दै केहीबेर निकै अप्ठ्यारो उकालोपछि खाने पानीको पाइप पछ्याउँदै तेर्सो बाटो आइपुग्यो। सन्तोषको सास फेर्यौं सबैले। ईश्वर भाइलाई तत्कालै मैले हङकङको ‘म्यानुअल गुगल पण्डित’को पगरी लगाइदिएँ। 

समुद्रमाथि पहाडको कम्मरकम्मर हुँदै हिँडेको करिब एक घण्टामा एउटा सानो गाउँको दोबाटो आइपुगियो।​

​दायाँतिर तान का वान समुद्री तटको गाउँ र बायाँ गएमा बिहानै उक्लिएको चौबाटो पुगिने गुगलको सूचना देखाउँदै बायाँ जान सुझाए ईश्वर भाइले। सबै त्यतै लाग्यौँ। हिँडदा हिँडदा बाटो साघुरिँदै गएपछि मलाई अलि शंका लाग्यो। तर पनि पदयात्रीहरुले रुखमा ससाना रिबनका फुर्का बाँधेको बाटो पछ्याउँदै गयौँ। झमक्कै साँझ पर्न थाल्यो तैपनि निकास भेटिन्न। एउटा डाँडो उक्लियो, फेरि अर्को उक्लियो, फेरि अर्को। फोनमा सिग्नल हरायो फेरि। झण्डै हाम्रै उचाइको उनिउँ घारीमा ईश्वर बाटो बनाउँथे, म बीचमा, प्रविन पछाडि। यो त सगरमाथा चढ्नुभन्दा पनि गाह्रो पो भयो त। हिँड्दै गर्दा मेरो चस्मा कता खसेछ थाहै भएन। खोज्न सम्भव थिएन। मैले भनेँ, ‘अब अगाडि नबढौँ बरु फर्किऔँ तान का वान गाउँतिरै। हामी उही रिबन बाँधेको चिह्न हेर्दै मोबाइल फोनको बत्ती बाल्दै उही बाटो फर्किन थाल्यौँ। हामीसँग पिउने पानी करिबकरिब सकियो। एक प्याकेट चकलेट चाहिँ बाँकी रहेछ प्रविनसँग। बाघभालु नहुने साइकुङको यो जङ्गलमा अजिङ्गर र विभिन्न प्रजातिका सर्पदेखि जङ्गली बँदेलको भने डर हुन्छ। निकै वर फर्किएपछि दोबाटोको मुनि बत्ती बलेको देखियो आशा जाग्यो। त्यही बाटो सोझ्याउँदै ओर्लियौं। 

एउटा युगल जोडी सबै बन्दोबस्तसहित क्याम्पिङ गर्न आएको रहेछ।

‘हाइ! हामीले तपाईंहरुलाई डिस्टर्ब गरेकोमा क्षमाप्रार्थी छौँ। हाम्रो गुगलले काम गरेन, बाटो भुल्यौँ। अब साइकुङ हुँदै घर फर्किन चाहन्छौँ,’ मैले एकैसासमा भनेँ। 

उनीहरुले भने, ‘तान का वानबाट साइकुङ जाने नियमित पानीजहाज अब बिहान ६ बजे मात्र पाइन्छ। तपाईंहरु फेला पारेमा सशुल्क स्थानीय माझीको स्पिड बोट वा आपतकालीन नम्बरमा फोन गरेर प्रहरीको मद्दत लिन सक्नुहुन्छ।’ अनि त्यहाँदेखि गन्तव्यसम्मको स्थानीय गुगल नक्सा डाउनलोड गरिदिए ईश्वर भाइको फोनमा। 

तान का वान पुग्न अब डेढदेखि दुई घण्टा लाग्ने देखियो।

‘यु गाइज ह्याभ इनफ वाटर? निड सम चकलेट?’

‘चकलेट वि ह्याभ बट वाटर एबाउट टु फिनिस।’

‘ओके यु क्यान बरो सम’ भन्दै उनीहरूको तुमलेटबाट पानी दिए हामीलाई। मेरो तीन दशक लामो हङकङको पदयात्रा अनुभवमा सहरियाभन्दा प्रकृतिप्रेमीहरु फरासिला, सहयोगी मनका र आत्मीय हुन्छन्। उनीहरूलाई धेरै धन्यवाद र नमस्कार भन्दै फोनमा बत्ती बालेर तान का वान माझी गाउँतिर झर्न थाल्यौँ रातको साढे नौ बजे। 

रातिको समयमा बाटो अलि अप्ठ्यारो भए पनि ओरालो भएकोले गाह्रो भएन। 

उहिल्यै सानैमा बासँग काठमाडौँबाट घर फर्किंदा धार्केमै रात परेपछि चिनेजानेका बराबोटे बिँडारीले मेवाको डाँठमा मट्टीतेल भरेर र झुम्रो हालेर दिएको बत्ती बाल्दै दुईतीन घण्टा हिँडेको र अरु कथा सुनाउँदै हिँड्दा झण्डै सवा घण्टामा तान का वान गाउँ आइपुगिएछ। 

गाउँ त आइपुगियो तर सुनसान छ। मान्छे कोही देखिन्नन्। नेपालमा जस्तो घरमा को हुनुहुन्छ हँ? भन्दै ढोका टकटक गर्न पनि पाइन्न। 

धन्न नजिकैको सार्वजनिक शौचालयभित्र मान्छे बोलेको आवाज आयो। बाहिर कुर्यौँ। 

बाहिर निस्केपछि ईश्वर भाइले स्थानीय भाषामा उही कहानी बताउँदा उही जवाफ आयो। भोलि बिहान मात्रै तर अलि पर पानीजहाज बिसौनी गए उपाय लाग्छ कि भन्ने झिनो आशा देखाए। करिब आधा घण्टा तेर्सो बाटोपछि मुख्य तान का वान गाउँ आइपुगियो। एकजना बालक र दुईजना अधवैँशे युवा मात्र सुतेका रहेनछन् त्यो गाउँमा। 

हाइ भन्दै उही कहानी सुनायौँ। एक जनाले अंग्रेजी बुझ्दा रहेछन्। 

उही प्रश्न, ‘आर यु गोर्खा?’

‘एस, वि आर। हाउ डु यु नो?’

‘वि हर्ड योर ल्याङ्ग्वेज। मेनी यङ गोर्खाज कम टु क्याम्पिङ एन्ड हाइकिङ दिस एरिया। भेरी नाइस पिपुल।’ 

‘थ्यांक यु,’ मैले भनेँ।

उनीहरुले भने– पहिलो कुरा हाम्रो स्पिड बोटमा प्रतिव्यक्ति ५०० डलर लाग्छ किनकि एक पटकमा चालक र दुई जना मात्र बस्न मिल्ने भएकोले दुई खेप गर्नुपर्ने हुन्छ। दोस्रो, हामीले केही मादक पदार्थ पनि पिइसकेका छौँ। अक्सर राति प्रहरी जाँच हुने गर्छ, कथंकदाचित दुर्घटना भएमा ठूलो समस्या हुनक्छ। 

उनीहरूले आपतकालीन नम्बरमै फोन गर्न सुझाए। 

९९९ डायल गरेँ। उताबाट स्थानीय भाषामा जवाफ आयो। 

मैले भनेँ, ‘हाइ क्यान यु स्पिक इङ्लिस?’

उताबाट जवाफ आयो, ‘एस, आइ क्यान। प्लिज टेल मि ह्वाट इज योर प्रोब्लम?’

हामी सार्प पिकको पदयात्रापछि फर्कने क्रममा बाटो बिराएर तान का वान गाउँ आइपुगेका छौँ। वि रन आउट अफ फुड एन्ड वाटर, भेरी भेरी हंग्री एन्ड टायर्ड, नाउ वान्ट टु गो ब्याक होम।’ 

त्यतिकैमा उतापट्टिको लाइनमा प्रहरीसँगै आपतकालीन अग्नि नियन्त्रक र स्वास्थ्य विभाग पनि जोडिइसकेको थियो। 

‘ओके, नो वरी। तपाईंहरु कतिजना हुनुहुन्छ?’

‘तीन जना।’

‘उमेर?’

‘पचास हाराहारी।’

‘उच्च रक्तचाप, मुटु रोग, मधुमेह वा अरु कुनै दीर्घरोग?’

‘छैन।’

‘कसैलाई टाउको दुख्ने वा रिंगटा लागेको छ?’

‘छैन्।’ 

‘त्यहाँ नजिकै कोही स्थानीय छन्?’

‘छन्।’

‘पानी मागेर पिउँदै गर्नुस्।’

‘तपाईंहरुको लोकेसन ताइपो वा साइकुङको बीचमा पर्छ। जताबाट चाँडो हुन्छ उतैबाट छिट्टै आउने प्रयास गर्ने छौँ। करिब चालीस मिनेट लाग्छ प्रहरी पानीजहाज त्यहाँ आइपुग्न। नआत्तिकन बस्नुहोला। फोन सम्पर्कमै रहनुस्। योबाहेक अर्को नम्बर?’

ईश्वर भाइको पनि नम्बर दिएँ र भनेँ, ‘थ्याङ्क् यु सो मच फर योर कन्सर्न एन्ड अन्डरस्ट्यान्डिङ।’

‘नो प्रोब्लम दिस इज आवर ड्युटी सर’ भन्दै उताबाट फोन राखियो। 

हामी सँगै बसेर हाम्रो कुरा सुनिरहेको सानो बाबुले भित्रबाट अङ्गालोभरि थरीथरीका प्याकेट पाउरोटी ल्याएर टेक इट टेक इट भन्न थाल्यो। हामीले थ्याङ्क्यु भन्दै एक एक वटा लियौँ। उसले अझ लिन भन्यो। हामीले पर्दैन भन्यौँ। अनि उसलाई २० डलर दिनलाग्दा नो निड भन्दै फर्कायो। पचास लिऊ भन्दा झन् पर्दैन भन्दै पर सर्यो। मैले सोधेँ, ‘किन केक दिएको त? तिम्रो बाबाले भनेर?’

‘हैन,’ उसले भन्यो, ‘आइ हर्ड यु आर भेरी हङ्ग्री एन्ड नो फुड ह्वाइल यु टकिङ टु पुलिस।’ 

एउटा गाउँले बच्चामा कस्तो मानवता। 

‘हाउ ओल्ड आर यु?’

‘नाइन।’

मैले उसको कपाल सुमसुम्याएर गाला मुसारेँ। ऊ झन् मनजिकै टाँसियो। हामी सबै भावुक भयौँ। 

‘ह्वेर इज योर मम?’

‘सेन्जान। सी विल कम ब्याक ह्वेन कोभिड रुल्स विल इन्ड इन हङकङ।’

‘यु मिस हर?’

‘एस अ लट। आइ टक टु हर एभ्री डे।’

हत्त न पत्त आफ्नो फोनमा आमाको तस्बिर देखायो र सोध्यो, ‘हाउ अबाउट योर मम? सि इज वेटिङ फर यु एट होम?’

‘नट एनी मोर, सी पास्ड आवे लङ टाइम अगो।’ 

‘योर फादर?’ 

‘सेम’ मैले भनेँ।

‘सो स्याड’ भन्दै उसले मेरो आँखामा हेर्यो निकैबेर। मलाई सान्त्वना दिन केही सोच्दै थियोे सायद। 

मैले भनेँ, ‘आइ ह्याभ माइ डटर लाइक यु एज माइ सन इज २४ एन्ड माइ वाइफ।’ 

फोनमा पारिवारिक फोटो देखाइदिएँ। 

‘वाउ हौ लेङ्ग (आहा कति सुन्दर),’ उसले भन्यो।

छोराले हामीसँग अंग्रेजीमा वार्तालाप गरेको सुनेर उसको बाबु खुसी देखिन्थ्यो।

उसको बाबुले एकएक वटा पानीको बोतल र चिन्ताउ बियरको चिसो क्यान दिए। 

‘हाउ मच वि विल पे फर दिस?’ मैले सोधेँ।

‘नो निड।’

‘एटलिस्ट योर कस्ट’ भन्दै पचास डलर दिएँ। 

त्यत्तिकैमा पुलिसको फोन आयो। 

‘क्यान यु प्लिज गिभ फोन टु लोकल पिपुल?’

‘एस्, स्योर प्लिज होल्ड अन।’ 

उनीहरूले ठ्याक्कै ठाउँ पत्ता लगाउन खोजिरहेका रहेछन्। वि विल बी देअर एबाउट टेन मिनेट्स।’ 

हामी सबै जहाज रोक्ने स्थानतिर लाग्यौँ।

सानो केटो पनि उसको बाउसँगै मेरो हात समातेर हाम्रोपछि लाग्यो। 

मिलिकमिलिक रातो बत्ती बाल्दै जहाज आइपुग्यो। सधैँ समुद्रमा देखिने प्रहरीको जहाज आज पहिलोपटक चढिने भयो भन्ठानेँ।

हामी नजिकै जानलाग्दा एकछिन पर्खने इसारा गरेर बाहिर उत्रिए उनीहरू।

‘यु अल आर ओके?’ 

‘यस वि आर, थ्याङ्क् यु,’ मैले भनेँ। 

‘वि निड योर आईडी कार्ड।’

हामीले दियौँ।

घरको ठेगाना?

मैले र प्रविनले मुखैले भन्यौँ। ईश्वर भाइले पर्समा रहेको एउटा ट्याक्सको कागजको माथिको ठेगाना देखाइदिए। 

उनीहरुले सबै हेर्दै भने, ‘ओ यु पे दिस मच ट्याक्स टु हङकङ गभर्मेन्ट?’

‘गुड सिटीजन।’

‘यु डिजर्भ टु कल पोलिस’ भन्दै हाँसो गरे। 

कहिलेकाहीँ केही पदयात्रीले नियतबस ढिलो गरि पैसा जोगाउन प्रहरी सहयोग माग्छन भन्ने पछि बुझाउँदै उनीहरुले हामीसँग अलिबेर सोधपुछ गर्नुको कारण बताए। 

मैले बिहानको सार्प पिकदेखि बेलुका बाटो भुलेकोसम्म सर्सती घटना सुनाउँदै भनेँ, ‘चौबीसै घण्टा जनताको जिउधनको सुरक्षामा खटिने हङकङ प्रहरीको महत्त्वपूर्ण समय हामी बिथोल्न चाहन्नथ्यौँ। यो हाम्रो अन्तिम उपाय अनि बाध्यता हो।’

‘अन्डरस्टुड। बाइ द वे ह्वेर यु गाइज फ्रम?’

‘नेपाल, बट वि लिभ इन हङकङ सिन्स लङ टाइम।’ 

प्रहरी जवानसँग हाम्रो वार्तालाप सुनिरहेकी महिला अफिसरले भनिन्, ‘ओ नेपाल द्याट मिन्स यु गाइज आर गोर्खा?’

‘एस वि आर,’ मैले भनेँ।

उनीहरु सबैको अनुहार उज्यालो देखियो। 

‘ओ ग्रेट’ भन्दै हामी सबैसँग कुहिनोकुहिनो छुवाउँदै भनिन्, ‘प्लिज केयरफुल्ली प्रोसिड टु द बोट।’

हामीलाई बिदा गर्न आएको सानो बाबुलाई अर्कोपटक चकलेट र खेलौना लिएर भेट्न आउने बाचा गर्दै उनका बाबाहरुलाई मुरीमुरी धन्यवाद भन्दै जहाज चढ्यौँ।

तीन जनाको उद्धारको लागि आठ जना प्रहरी। हामी थाकेको होला भनेर हामीलाई बस्न दिँदै उनीहरु उभिए।

बाटोमा हाम्रो हङकङ बसाइ, काम, व्यवसाय, हङकङप्रतिको दृष्टिकोण आदानप्रदान भयो। करिब आधा घण्टामा पाक ताम आउ नजिकै जहाज रोकियो। हामीसँगै केही अफिसर ओर्लिए।

‘तपाईंहरुसँग बस वा ट्याक्सीमा जाने खर्च त छ नि?’ एक जनाले सोधे। 

‘एस एस वि ह्याभ। थ्याङ्स अ लट फर योर हेल्प’ भन्दै नमस्ते गर्दै बिदा भयौँ। 

जे होस् हङकङमा यस्ता सहयोग उद्धार त सरकारले सबै जनतालाई बराबर गर्छ तर गोर्खा भन्ने बित्तिकैको व्यवहार भने नेपालीले मात्रै अनुभव गर्न सक्छन् भन्ने अनुभव भयो त्यो दिन हामी सबैलाई। बिहानको ट्याक्सी चालकदेखि रातिका प्रहरीसम्मको व्यवहारले। 

उनै गोर्खाली सेनाको हिङ बाँधेको टालो बोकेर हङकङमा ब्याज खाइरहेको अहिलेको पुस्ताले नयाँ पुस्तालाई ब्याज स्याज छोड्लान् वा खातै बन्द गर्लान्, त्यो भविष्यवाणीको जिम्मा पाठकहरुलाइ यसपालि। 

रातको बाह्र बजे ट्याक्सीमा घर फर्किंदा आँखा र मनभरि केक बोकेर उभिएको प्रसन्न अनुहारको, प्यारो सानो केटो अनि कानभरि ‘आइ हर्ड यु आर भेरी हंग्री एन्ड नो फुड ह्वाइल यु टकिङ टु पुलिस’ गुन्जिरह्यो। त्यसैले त भनिन्छ, बच्चा भनेका भगवानका रुप हुन्। 

भदौ ११, २०७९, शनिबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .