नारायणहिटी दरबारमा महारानी एलिजाबेथलाई राजा वीरेन्द्रले दिएको त्यो भोज

नारायणहिटी दरबारमा महारानी एलिजाबेथलाई राजा वीरेन्द्रले दिएको त्यो भोज

लन्डनको बकिङ्गम प्यालेस अगाडि लेखक कमल पौड्याल


कमल पौड्याल
भदौ ३० , हङकङ

सेप्टेम्बर ८ को बेलुकी हङकङको समुद्र किनारको निवासमा चिसो बियरसँग नुनखुर्सानीमा चोपेर काँक्रो टोक्दै म एउटा लेख पुरा गर्ने मुडमा थिएँ। पुरोधिका बेञ्जु गौतमले कम्प्युटर कोट्याउँदै भनिन्, ‘ब्रेकिङ न्युज पो आयो त लौ, बुढी आमै निकै बिरामी भइन् कि के हो?’

मैले सोधेँ, ‘को बुढी आमै?’

उनले भनिन्, ‘क्विन एलिजाबेथ।’

‘९६ लागिसकिन् क्यारे। चाल्र्स नै ७२ काटिसके, निकै बुढो देखिन्छन्। कतिले त यी राजा नै हुन नपाउने हुन् कि भन्न समेत थालिसके अब। तर एउटा अचम्मको संयोग बेलायतमा राजतन्त्र आवश्यक छैन, खारेजी गर्नुपर्छ भन्दै राजनीति प्रवेश गरेकी लिज ट्रस भर्खरै प्रधानमन्त्री बनेलगत्तै क्विन एलिजाबेथ बिरामी परिन्। यद्यपि, ट्रसले त्यो माग निकै पहिले फेरिसकिन्। कसैको ग्रहले कसैलाई थिच्छ, फाप्दैन भन्ने अन्धविश्वास मान्थे बुढापाकाहरु, त्यै पो हुने हो कि?’ मैले भनेँ।

बेन्जुले भनिन्, ‘हुन पनि सक्छ। अब त रानीको बुढो शरीर दुईतीन चोटि त कोभिडले खङ्गारी सक्यो। आयु त पाएकै हुन् रानीले।’

मैले भनेँ, ‘चौबीसै घण्टा डाक्टर, नर्स, डाइटिसियन, फिजियोथेरापिस्टको निगरानी, संसारकै महङ्गो र गुणस्तरीय बिफ, मटन, नर्वे–स्विडेनका अर्गानिक समुद्री परिकार, प्राङ्गारिक मल र विशेष वातावरणमा उब्जाइएका तरकारी। रानी लामो बाँचेकी मात्र हैनन्, बचाइएको पनि हो भन्छु म त।’

अझ सुनिन्छ, बकिङ्गम दरबारका लागि नै भनेर जापानबाट बियर र ब्रान्डीले मसाज गरेर पालिएका विशेष जातका गाईगोरुको विशेष भागका गुणस्तरीय मासु निर्यात गरिन्छ। भर्खरै द रोयल सेफ अफ मोनार्की भन्ने डकुमेन्ट्री हेर्दा अचम्मित भएथेँ म।

मैले थपेँ, ‘साधारण दालभात, ढिँडो, तरकारी, चटनी, दूधदही, घिउमोही खाएका हाम्रा बा पनि ८६ वर्षसम्म बाँचेकै थिए। मासु खान त दसैँ आउनुपथ्र्यो अरे। ज्वरो आयो भने टाउकोमा मजेत्रो कसेर तातोपानी मात्रै खाएर छाक छोडे आफैँ ठिक हुन्छ भन्ने हाम्री मावली हजुरआमा १०३ वर्षमा बित्नुभयो। धादिङ जिल्लाभरि बिजुली पण्डित भनेर चिनिने शुद्ध शाकाहारी तिम्रै मावलाका हजुरबा सय छुन लागिसक्नुभो। कहिल्यै होलबडी चेकअपको कुरै छाडौँ, थला पर्नेगरि बिरामी नभई डाक्टरलाई देखाउने होइन। जिन्दगी यस्तै हो जसरी पनि चल्ने रहेछ।’

‘अझ अर्को कुरा, मान्छे खास कुलमा जन्मँदैमा राजा, रानी, युवराज, युवराज्ञी भनिने, बनाइने वा देवत्वकरण गर्ने अनि सबैले मान्नैपर्ने भन्ने कुरा नयाँ पुस्ताले मान्दैनन् अब। बुद्धि, विवेक, शैक्षिक योग्यता र खुबीको आधारमा हुनुपर्छ। बेलायतमा पनि काम छैन अब यो। उनकै छोरा नाति शाही अनुशासनमा बस्न छाडिसके। मलाई पनि यस्ता व्यक्तिको देवत्वकरण गर्ने कुरा मन पर्दैन।’

बेन्जुले भनिन्, ‘तपाईंलाइै मन परेर वा नपरेर के फरक पर्छ र, बेलायतीहरुले मनपराएकै छन् अझै। रानीको एक झल्को हेर्न क्यामरा लिएर घण्टौँ कुर्छन् उनीहरु सडक छेउमा। भनिन्छ रानीको नातिपनाति जन्मँदा पनि बेलायतमा पर्यटक बढ्छन्। राज परिवार भित्रको खैलाबैला संसारकै सञ्चारमाध्यमको मुख्य मसला बन्छ। बुढी तलमाथि हुन् त, फूलको पर्खाल लाग्छ दरबारको ढोकाबाहिर। विश्वबाटै लगभग बिउ मासिएको राजतन्त्रलाई बचाएर त्यसै राखेका छैनन् बेलायतीहरुले।’

रानीको स्वास्थ्यको समाचारबाट सुरु भएर हामी दुवै धेरैतिर बहकिएछौँ। मेरो लेख पनि पुरा भएन त्यो दिन।

यस्तै बेलायती राजतन्त्र र राजनीतिमा रानीको भूमिका, राजकुमारी डायना, प्रिन्स चाल्र्स, पामेला, दोदी अलफायददेखि प्रिन्स ह्यारी, मेगन मार्कलद्वारा शाही पदवी र दरबार त्यागका विषयमा सञ्चारजगत र सामाजिक सञ्जालमा सुनिएका अनगिन्ती पँधेरे गन्थन गर्दै सुतियो।

भोलिपल्ट बिहानै बुढापाकाले भनेको जस्तै साँच्चिकै ग्रहले पो थिचेको हो कि क्या हो भन्दै बेन्जुले समाचार देखाइन्।

संसारभरकै मिडियाका हेडलाइनमा क्विन एलिजाबेथ द्वितीय छाइसकिछन्।

नेपाल–बेलायत ऐतिहासिक सम्बन्ध, खासगरी ब्रिटिस गोर्खा, बेलायत र हङकङमा जन्मेका तिनका परिवार र हङकङ बेलायतको पूर्व औपनिवेशिक टापु भएकोले पनि सामाजिक सञ्जालमा जोडिएका धेरैले तस्बिरसहित श्रद्धाञ्जली दिइसकेका थिए।

नेपालमा राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्रपछि कोमामै बितेको भनिएका दीपेन्द्र र शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रसम्म देखेकी र भेटेकी यी बेलायती महारानी पहिलो पटक १९६१ मा नेपाल आउँदा म जन्मेकै रहेनछु। त्यो बेलाको काठमाडौँ र पोखराको शाही भ्रमण र चितवनमा सिकार खेलेको भिडिओ भने हेर्न पाइन्छ। धेरैले चाखलाग्दा लेख पनि लेखेका छन यो भ्रमण बारेमा।

सन् १९८६ को फेब्रुअरीमा यी रानी नेपाल आउँदाको सम्झना भने ताजै छ अझै।

प्रदर्शनी मार्गको आरआर क्याम्पसमा कक्षा सकेर रत्नपार्कको रिमझिम भोजनालयमा खाना खान जाँदै गर्दा वरिपरिका सडक खाली गरिसकिएको थियो। रानी आएको हेर्नु पर्यो भनेर दरबार हाइस्कुल, रानी पोखरी, विश्वज्योति सिनेमा हल हुँदै दरबार मार्ग चोक पुग्दा सडक पेटी खचाखच भइसकेको रहेछ। त्रिभुवन विमानस्थलदेखि नारायणहिटी दक्षिण ढोकासम्म सफा गरिएको सुनसान सडकका ठाउँठाउँमा स्वागतद्वारका दायाँबायाँ तामाका भरी ग्राग्री र फूलहरुले सजाइएको थियोे।

साइरन बजाउँदै सेतो मोटरसाइकल पछिपछि मिलिकमिलिक रातापहेँला बत्ती बाल्दै सेना र प्रहरीका सुरक्षावाहन, घोडा सवार दर्जनौं शाही रिसल्ला अघिपछि लाएर बग्गीमा राजा वीरेन्द्र र रानी एलिजाबेथ, अनि रानी ऐश्वर्य र राजकुमार फिलीप हात हल्लाउँदै आँखाअगाडि नारायणहिटी प्रवेश गरेको हेरेको ३८ वर्ष बितिसकेछ।

त्यतिबेला म अहिलेको द सोल्टी काठमान्डु भनिने र उतिबेला ओबराय होटलको व्यवस्थापनको सोल्टी ओबरायमा काम गर्थें। भोलिपल्ट नारायणहिटी दरबारमा यिनै रानी र राजकुमारको सम्मानमा हाम्रा राजारानीले दिने रात्रीभोजमा सोल्टी होटलबाटै क्याटरिङको व्यवस्था थियो, जसमा म पनि सामेल थिएँ।

भोलिपल्टको क्याटरिङको लागि खानाको परिकार तथा विभिन्न पेय पदार्थको सर्भिस अन्य तौरतरिकाबारे ब्रिफिङसहित रिहर्सल भएकाले होटलतिर लागेँ। सोल्टीको बलरुममा त्यतिबेलाका होटलका एक्जुकेटिभ सेफ इन्द्र धवन र सुसेफ भानु मूर्तिले हामी सबैलाई शाही भोजनको खानाको मेनुबारे बताए।

अहिले यकिन अलि भएन, तर फ्रेन्च गुज लिभर पाते वा स्मोक नर्वेजियन साल्मन विथ अनियन रिङ्स एन्ड केपर्स एपिटाइजर थियो। अनि चिकन क्लियर वा फ्रेन्च ओनियन सुपपछि मुख सफा गर्न सोर्बेपछि दुवै राष्ट्र प्रमुखले स्याम्पेन टोस्ट र स्पिच सकिएलगत्तै मेन कोर्स सर्भ गर्ने तालिका रहेछ। मेन कोर्समा गार्लिक बटर ब्राउन ससमा टोस्ट गरिएको न्युजिल्यान्ड ल्याम्ब चप, सेफ्रोन राइस, फ्रेन्च बिन्स क्यारोट र ग्रिल होल टोम्याटो र डिजर्टमा चकलेट भेनेला मुस र चियाकफीसँगै प्रलिन भएको बताए उनीहरूले। स्टार्टर सुप सोर्बे र डिजर्ट प्रि प्लेटेड भए पनि मेनकोर्स भने एक जनाले छ जनालाई प्लाटर सर्भिस गर्न निकै गाह्रो हुन्थ्यो।

करिब पाँच थरी फरक आकार र प्रयोजनका कृस्टल ग्लासमा मिनरल वा स्पार्कलिङ वाटर, स्याम्पेन, ह्वाइट वाइन, रेड वाइन र सेरीसम्म गल्ती नगरी सर्भ गर्नुपथ्र्यो। हाल ‘लर्डस् इको इन’ का नेपाल टेरिटरी एड्भाइजर प्रह्लाद कुँवर उतिबेला सोल्टी ओबरायका फुड एन्ड बेभरेज म्यानेजर थिए। कुँवरकै नेतृत्वमा अन्य असिस्टेन्ट म्यानेजर ईश्वरी केसी, रमेश खत्रीलगायत अरु राष्ट्राध्यक्षहरु आउँदा पनि पटकपटक यस्ता क्याटरिङमा आवद्ध भएका करिब १५/१६ जना सिनियरहरु थियौँ हामी शाही सेवाका लागि त्यो दिन। हाल नाथम काठमाडौंका फुड एन्ड बेभरेज फ्याकल्टी प्रमुख मनराजा खत्री पनि मेरा सहकर्मी हुन्थे अक्सर यस्ता शाही समारोहहरुमा।

त्यो पालि शाही पाहुना बेलायतकी महारानी र राजकुमार भएकाले महाराजधिराज र बडामहारानीले समेतले निजी सचिव र प्रभाकर शमशेर मार्फत मिनु र अन्य तयारीबारे चासो राखे। विशेष पाहुनाको विशेष ख्याल गर्न होटलका जनरल म्यानेजर सञ्जीव तुलीले निर्देशन दिए।

राजाको शासन, राजाकै भाइको होटल (अझै पनि) मा यस्ता समारोहमा काम गर्दा थोरै गल्ती वा तलमाथि भए जागिर जानसक्थ्यो। अहिले जस्तो मजदुर युनियन वा अधिकार थिएन त्यो बेला।

भोलिपल्ट दिउँसो १२ बजे हामी १० जना जति टेबल सेट अप गर्न सोल्टी होटलबाट राजदरबारतिर लाग्यौँ। राजदरबारले नै जारी गरेको फोटो र नाम सहितको विशेष कामदार लेखिएको अस्थायी पास देखाएर भित्र छिरियो। नारायणहिटीको दक्षिण ढोकाभित्रको नजिकै यो ठूलो ब्याङ्क्वेट हलमा दरबारकै हाउसकिपिङका कर्मचारीहरुले सबै आवश्यक समान सफा गरी तयार गरिदिएका रहेछन्। उतिबेला नेपालको सिनेमा हलमा राष्ट्रिय गानमा देखाइने मुक्तिनाथ मन्दिरको पृष्ठभूमिमा श्रीपेच र राजदण्डसहितका राजा वीरेन्द्र र रानी ऐश्वर्यको तस्बिर यही हलको भित्ताको रहेछ भन्ने देखेपछि थाहा भयो।

पाँच कोर्स डिनरअनुसारको पेय पदार्थका लागि शाही चिन्ह अंकित हिज मेजेस्टीज् गभर्मेन्ट अफ नेपाल मोनोग्राम भएका क्रिस्टल ग्लास, कटलरी, क्रकरी, रुमाल  कुर्सी, मेनु, सजाउन करीब तीनचार घण्टा लाग्यो हामीलाई। टेबलको बीचमा नेपाल र बेलायतको झण्डाको साङ्केतिक रङ्गको रिबनबीचमा दरबारका बगैँचेहरुले ठुल्ठूला चाँदीका फूलदानी सजाए। एउटा समूह महङ्गा र कलात्मक देखिने झुमरहरु टल्काउन व्यस्त थियो।

त्यतिबेलै दरबारका समारोह प्रबन्धक हस्याङफस्याङ गर्दै आएर सरकार सवारी हुँदैछ भनेपछि हामी सबै अदबसाथ उभियौँ।

सानो मोती कुकुर डोर्याउँदै आएकी रानी ऐश्वर्यले हामीले झुकेर गरेको नमस्कार फर्काइनन्। सबै टेबुलमा सर्सर्ती आखाँ घुमाउँदै सबै ठीक छ नि हैन भनेर उनै प्रबन्धकलाई सोधिन्।

उनले ‘सरकार सब तयार छ जो हुकुम’ भन्दै धनुषटङ्कार नमस्कार गरेपछि सिटिङ प्लानको नक्सा हेरेर रानी फर्किइन्।

तहाचल क्याम्पस पढदादेखि आरआर क्याम्पससम्म नै अनेरास्ववियु भन्ने रोग लागेको म यी दरबारिया सान, ढोङ, संस्कार, चालढाल, चलन, वातावरण निकै गहिरिएर हेर्थें र मनन गर्थें।

४ बजेदेखि एक्जुकेटिभ सेफ इन्द्र धवनसहितको किचन टोली समारोह हलको भित्रपट्टिको पेन्ट्रीमा खाद्य परिकार तयार गर्दै थियो।

बेलुकी लाउने हाम्रो पोसाक पनि लिएर बाँकी साथीहरु सबै आइपुगे।

पित्तलको टाँक टलक्क टल्किएको घाँटीसम्मको सेतो कोट, कालो प्यान्ट, कालै भादगाउँले टोपी र सेतो पञ्जा र रुमालमा हामी सबै तयार भएपछि पुनः रिहर्सल गरियो। नेपाल र बेलायती दरबारका फोटोग्राफरहरुबाहेक अरु कसैको प्रवेश थिएन त्यो बेला। अरु त अरु मर्सिडिज बेन्जमा रात्रीभोजको अनुगमन गर्न सुट टाइमा दरबार पुगेका सोल्टी होटलका भारतीय मूलका जनरल म्यानेजरलाई टोपी नलगाएको भनेर गेट बाटै फर्काइएको पछि थाहा भयो। आजकल सर्टप्यान्ट र चप्पल लगाएका कनिष्ट विदेशी कूटनीतिज्ञ पनि राष्ट्रिय पोसाक लगाएका हाम्रा राजनेताका बैठक र अफिस कोठामा उपरखुट्टी लाएर बसेको तस्बिर देख्दा अचम्म लाग्छ। भर्खरै खुलेको नेपाल टेलिभिजन प्राविधिक टोली प्रस्तोतासहित तयार थियो।

हामी आ–आफ्नो भागमा परेका पाहुनाहरु बस्ने कुर्सीपछाडि उभियौँ। हाम्रा राजारानी नजिकका शाही परिवार र आमन्त्रित मुख्य पाहुनाहरुलाई भने राजदरबारकै बटलरहरुले सर्भ गर्ने रहेछन् सधैँ। त्यसपछि मर्यादाक्रमअनुसार प्रधानमन्त्री, राजसभा स्थायी समितिका सभापति, राष्ट्रिय पञ्चायतका अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, विदेशी राजदूतहरु, सेना–प्रहरी प्रमुख र अन्यलाई भने हामीले सर्भ गर्नुपथ्र्यो। त्यो दिन मेरो भागमा तत्कालीन अधिराजकुमारी प्रेक्षा शाह पछिका ६ जना भीभीआईपीहरु थिए। ठीक समयमै राजारानी सहित महारानी एलिजाबेथ र राजकुमार फिलीपपछि मर्यादाक्रम अनुसार सबै हलमा प्रवेश गरेर बसे। यो समारोहमा महारानी एलिजाबेथ सायद बहुमूल्य हिरा, रत्नहरुले होला सबैभन्दा बढी टल्किएकी थिइन्। त्यसपछि हाम्री रानी। सिधै हेर्न भने हुँदैनथ्यो शाही परिवार र पाहुनारुलाई त्यो बेला। हामीले चाँदीको कभर बिस्तारै निकालेपछि टेबुलमा तयार राखिएको स्टार्टर खान सुरु भयो। अनि सुप र सोर्बेपछि स्याम्पेन सर्भ गरेर हामी मेनकोर्स तयारीको लागि बाहिर निस्कियौँ। बीचमा दुवै राष्ट्राध्यक्षको स्याम्पेन टोस्ट र स्पिच दरबारको पेन्ट्रीमा यौटा २२ इन्च जतिको टेलिभिजनमा आइरहेको हेर्दा अचम्म लाग्यो। सायद त्यो टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियोे।

त्यसपछि मेन कोर्ससँगै रेड वाइन र पछि तयारी प्लेटको डिजर्ट सर्भ गर्यौँ।

चिया कफी र प्रलिनको तयारी गरिरहँदा सबै प्रमुख पाहुना उठेर त्यही हलको मुख्य लबीतिर लागेपछि बाँकी उठेर पछि लागे। यसरी बेलायती महारानी सहभागी समारोहमा काम गर्नु मेरो करिअरको एउटा विशिष्ट अनुभव थियो। हाम्रा टिम इन्चार्ज प्रह्लाद कुँवरले हामी सबैलाई धन्यवाद र बधाई भन्दै मलाई कानमा ‘यु आर द क्रिम अफ फुड एन्ड बेभरेज डिपार्टमेन्ट’ भन्दा म निकै फुर्किएको थिएँ त्यो दिन।

यसरी क्विन एलिजाबेथलाई नजिकैबाट देखेको करिब चार वर्षपछि सन् १९९० मा मैले सोल्टी ओबरायबाट कर्मको डोरी समाउँदै हङकङमा पाइला टेकेँ।

त्यो भन्दाअगाडि नै महारानी एलिजाबेथ आफ्नो शासनकालमा मे १९७५ र अक्टोबर १९८६ गरी दुईपटक हङकङ आएकी रहिछन्।

३३ वर्षअगाडि मैले यहाँ पाइला टेक्दा पनि हङकङ रानीमय थियो। नोट, सिक्का, हुलाक अफिसको चिह्न, टिकट, अध्यागमन, प्रहरी प्रशासन सबैतिर रानीको टाउको वा बेलायती शाही चिन्ह अङ्कित देखिन्थ्यो। अहिलेको हङकङ हस्तान्तरण वार्षिकी वा चीनको राष्ट्रिय दिवसजस्तै रानीको जन्मोत्सव विशेष रुपमा मनाइन्थ्यो त्यो बेला।

सन् १९९७ मा हङकङको सार्वभौम साँचो चीनलाई हस्तान्तरण गर्न उनी नै आउँछिन भन्ने हल्ला थियो। तर, उनी आइनन्। तत्कालीन युवराज चाल्र्स, प्रधानमन्त्री टोनी ब्लेयर र विदेशमन्त्री रविन कुक पठाएकी थिइन्।

संसारकै सम्राट हौँ हामी भन्ने धङधङी अझै बाँकी रहेको बेलायतले आफ्नो औपनिवेशिक भूभाग रानी स्वयं गएर फिर्ता गर्दा साख झर्ने भएर प्रतिनिधि पठाएकी हुन् भन्थे कूटनीतिक विश्लेषकहरु त्यो बेला।

अहिलेको विश्व राजनीति र कूटनीतिमा सदाबहार अमेरिकाको पछि लाग्ने बेलायतको चीनसँग खासै सुमधुर सम्बन्ध रहेन। तैपनि उपनिवेशकालीन हङकङको पुरानो क्विन एलिजाबेथ नाम जोडिएका अस्पताल, रङ्गशाला, स्कुल, कलेज, घोडा दौडको ट्रफी इत्यादि २५ वर्षपछि पनि चीन वा हङकङले फेरेका छैनन्।

हङकङमा बेलायती शासनको अन्त्य भएको करिब ७ वर्षपछि सन् २००४ मा पहिलो पटक बेलायती माटोमा पाइला टेकेँ मैले।

बेलायत घुमेपछि त यस्तो लाग्यो, बेलायतीहरुले हङकङ बनाइदिएको होइन, भत्काइदिएको पो रहेछन्। लन्डनदेखि स्कटल्यान्डसम्म ऐतिहासिक चर्च, शाही दरबार, पुराना शासकहरुका सालिक, इतिहास, संस्कृति, संरचना हेरचाह गरेर जस्ताको तस्तै सुरक्षित राखेका। हङकङमा पनि त्यसै किन नगरिएको?

आफूलाई नेपाली भन्ने, सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली बज्दा उठेर छातीमा हात राख्ने, अनि पृथ्वीनारायण शाहलाई सत्तोसराप गर्नेहरुले घुम्नै पर्ने एउटा महाविद्यालय हो बेलायत भन्ने लाग्यो मलाई। अझ स्कटल्यान्डको एडिनबरामा नजिकैका केएफसी, म्याकडोनाल्ड र आधुनिक ब्रान्डेड पसल छोपिदिने हो भने सत्रौँ, अठारौं शताब्दीमा पो छु कि भन्ने अनुभुति हुन्छ। पर्यावरणीय सोचमा बेलायतीहरु धेरै अग्रगामी पाएँ। जतिसुकै मानव अधिकारको डंका पिटे पनि उपनिवेशकालीन धङधङीको अवशेष गैरगोराहरुप्रति मौनविभेद भने निमिट्यान्न भएको रहेनछ बेलायतमा।

एकदिन लन्डन आइ, पार्लियामेन्ट हाउस, लन्डन ब्रिजपछि बकिङ्गम प्यालेस घुम्न गइयो। मेरो सालोभाइ पुरु गौतम बेलायत यात्राभरि मेरा सहयात्री थिए त्यो बेला।

दरबारबाहिर घुमिरहँदा ‘क्विन’ ‘क्विन’ भन्दै चिच्याए पर्यटकहरु। हेरेको त क्विन एलिजाबेथ बाहिरबाट बग्गीमा हात हल्लाउँदै दरबारभित्र जाँदै थिइन्। त्यो बेलामा अहिलेजस्तो क्यामरा भएको मोबाइल थिएन। हाम्रो क्यामराको रिल सकिएको थियोे।

‘ओ माइ गड! कान्ट बिलिभ वि स द क्विन’ भन्दै एकआपसमा हात पड्काउँदै अंगालो मारेका बेलायती देख्दा अचम्मित भएँ म।

यसरी अझै पनि बेलायती र कमनवेल्थका जनताको मन मस्तिष्कमा बसेकी यी रानीलाई मैले पनि जीवनमा ३ पटक नजिकैबाट हेरेँ।

९६ वर्षे मानव चोला, ७० वर्ष ७ महिना राष्ट्र प्रमुखको हैसियतमा संवैधानिक शासन, १५ जना बेलायती प्रधानमन्त्री, १३ जना अमेरिकी राष्ट्रपति र चीनका माओ चेतुङदेखि सी चिनफिङसम्म, रुसका जोसेफ स्टालिनदेखि भ्लादिमिर पुटिनसम्म देखिन्, भोगिन् यिनले। सयौँ सरकारी र गैरसरकारी संस्थाको उपल्लो तहमा आबद्ध र पटकपटक विश्वका ११७ देशको राजकीय भ्रमण गरेकी यी रानी एक्काइसौँ शताब्दीकै एक विशेष ऐतिहासिक महिला थिइन्।

जे भए पनि अन्ततोगत्वा संसारकै सबैभन्दा मूल्यवान हिरा र अन्य अमूल्य जवाहरात जडित श्रीपेच, अमूल्य बस्त्रहरु, दरबारहरु, वाहनहरु र ५०० मिलियन डलर बराबरको चलअचल सम्पत्ति छाडेर खाली हात भौतिक देह त्याग गरिन् आम मानिसले झैँ।

त्यसैले त होला हाम्रा कविशिरोमणिले उहिल्यै लेखेका थिए :

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो
इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो!
लाखौँ औषधि अस्त्र–शस्त्र महिमा देखेर डर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो!!

हाम्रो जमानाकी अन्तिम महारानीलाई हार्दिक श्रद्धाञ्जली!
 

भदौ ३०, २०७९, बिहीबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .